‘समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन’ भन्ने उक्ति अब रुपेरी पर्दामा जीवन पाउने तयारीमा छ।
लामो समयदेखि मनभित्र साँचेर राखिएको सिनेमा निर्माणको सपना अन्ततः यथार्थमा परिणत हुँदैछ। रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक संसार बोकेका नेपाली चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक रूपमा सार्वजनिक भएका छन्।
लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको सशक्त टिमअपबाट निर्माण हुन लागेका यी चलचित्रले नेपाली सिनेमामा नयाँ ऊर्जा, नयाँ सोच र फरक प्रस्तुति ल्याउने अपेक्षा छ। दुवै चलचित्र आउँदाे २०८३ मा दर्शकमाझ ल्याउने तयारीमा निर्माण पक्ष जुटेको छ।
माघ १ गते टिजर सार्वजनिक गर्दै औपचारिक रूपमा चलचित्रको सुरुवात गर्ने तयारी भए पनि केही अपरिहार्य कारणवश टिजर रिलिज हुन सकेन तर रघुजी फिल्म्सले टिजरको प्रतीक्षामा रहेका दर्शकहरूलाई पोस्टर मार्फत पहिलो झलक दिँदै चलचित्रको आधिकारिक घोषणा गरेको छ, जसले फिल्मप्रेमीहरूबीच उत्सुकता झनै बढाएको छ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेका दुई चलचित्रमध्ये ‘कालकट्टी’ छायांकनतर्फ अघि बढ्ने तयारीमा छ। चलचित्रको छायांकन माघको अन्त्यतिर सुरु हुने बताइएको छ। कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया हाल तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ।
चलचित्र ‘कालकट्टी’ का निर्माता रघुनाथ सापकोटा हुन्। अमरदीप सापकोटाले कथा, पटकथा, संवाद तथा निर्देशनको सम्पूर्ण जिम्मेवारी सम्हालेका छन्। छायांकनको जिम्मा निसाल पौडेलको काँधमा रहनेछ भने संगीतकार भीम विष्टले चलचित्रका भावना संगीतमा उतार्नेछन्।
आरआर फिल्म्सले नेपालभर चलचित्र वितरण गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको छ, जसले चलचित्रको बजार विस्तार र पहुँच थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रेमीहरूबीच ‘कालकट्टी’ ले कस्तो कथा, कस्तो द्वन्द्व र कस्तो सिनेम्याटिक अनुभव लिएर आउने हो भन्ने चासो बढ्दै गएको छ। निर्माण टिमले छिट्टै टिजर तथा थप विवरण सार्वजनिक गर्ने बताएको छ। ‘कालकट्टी’ को छायांकन सकेर रिलिजको तयारी संगै ‘काकाको बिहे’ को छायांकन सुरु हुनेछ।
प्रकाशित: २ माघ २०८२ १२:१८ शुक्रबार





