यस पटकको निर्वाचनमा कलाकारहरूको लोभलाग्दो उपस्थिति रह्यो।
सुशासन तथा देश निर्माणको नारा लगाउँदै कलाकारहरू प्रत्यक्ष तथा समानुपातिकबाट चुनावी मैदानमा उत्रिएका थिए। चुनावमा होमिएका पाँच कलाकारले सफलता हासिल गरेका छन् भने बाँकी आफ्नो पुरानै कर्मथलोमा फर्किएका छन्।
र्यापर तथा काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह र अभिनेत्री आशिका तामाङले प्रत्यक्ष तर्फबाट चुनाव लडेर सफलता प्राप्त गरेका छन्। यस्तै, समानुपातिक सूचीबाट अभिनेत्री रिमा विश्वकर्मा, मिस नेपाल अनुष्का श्रेष्ठ र रमेश प्रसाईँ सिफारिस भएका छन्।
फागुन २१ मा झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष तर्फबाट उठेका र्यापर शाह भारी मतले निर्वाचित भए। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछि पार्दै भारी मतसहित विजयी भएका थिए। उनी अब प्रधानमन्त्री समेत बन्दैछन्।
यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए। उनको यो उपलब्धिले कलाकार तथा युवामा प्रेरणा साबित भएका छन्।
यस्तै, ३७ वर्षीया कलाकार आशिका तामाङ धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित भइन्। रास्वपाबाट सांसद बनेकी तामाङले एमालेका भूमि त्रिपाठी र नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डेलाई भारी मतले पराजित गर्दै जित निकालेकी हुन्।
पछिल्लो समयमा उनी विशेष गरी सामाजिक अभियान्ताको रूपमा परिचित छिन्। उनी सन् २०१५ मा प्रदर्शनमा आएको नेपाली चलचित्र 'सुश्री' मा आर्यन सिग्देलसँग मुख्य भूमिका निभाएकी थिइन्। उक्त फिल्मको निर्माता पनि आफैँ हुन्।
यस्तै, अभिनेत्री रिमा विश्वकर्मा समानुपातिकबाट सांसद बनेकी छिन्। टेलिभिजन पत्रकारिताबाट नेपाली टेलिश्रृंखला ‘जाँदाजाँदै’ सञ्चालन गरेकी उनी अभिनेत्री, मोडल र टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका गायक प्रकाश सपुतले भने सांसदको स्वाद चाख्न पाएनन्। उनी समानुपातिकमा नअटाएपछि आफ्नो पुरानै काममा फर्केका छन्।
अभिनेता तथा मोडेल रूपक घिमिरेले पनि रास्वपाको सांसद सूचीमा अटाउन सकेनन्। उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘ठीकै छ यार, व्यक्तिभन्दा माथि पार्टी, पार्टीभन्दा माथि देशले जित्नुपर्छ। पार्टीले त जित्यो, अब देशले जित्ने पालो हामी सबैले गर्नुपर्छ हातेमालो।’
त्यसैगरी, काठमाडौं क्षेत्र नम्बर ५ बाट गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएकी अभिनेत्री निशा अधिकारी पराजित भइन्। उनले जम्मा ९१ मत प्राप्त गरिन्। अहिले उनी आफ्नो दैनिकीमा फर्केकी छिन्। उनी अहिले चलचित्र ‘कस्तुरी’को छायांकनमा व्यस्त छिन्।
प्रकाशित: ३ चैत्र २०८२ १३:०४ मंगलबार





-600x400.jpg)