हामी बाउछाेरा मतदान केन्द्रतिर डुल्न निस्क्यौं। भाेट दिन लाइन बसेका मान्छेहरू देखेर छाेराले साेध्याे, ‘बाबा, बाबा! मान्छे किन डाेरीकाे घेराभित्र उभिएका?’
छाेराकाे जिज्ञासा मेटाउन मैले -मान्छे लाइनमा सिधासिधा बसून् यताउता नगरून् भनेर डाेरीले मिलाएकाे नि भनेँ।
मैले १२ बर्से छाेरालाई सजिलो उत्तर दिएँ तर छाेरा यतिमै चुप लागेन।
उसले भन्याे, ‘बाबा,यति ठुला मान्छेहरूलाई डाेरी बाँधेर लाइन मिलाउनुपर्ने? हामी त स्कुलमा आफैँ मिलाउँछौं। कसैले यताउता गर्दैनौं। यहाँ भने बाबाआमा, दाइदिदी र गुरुहरू पनि डाेरी बाँधेर लाइन बस्ने! कस्तो अचम्म! आफैँ अनुशासनमा बस्न सकिँदैन र बाबा?’
मलाई मुस्किल पर्याे उसकाे अनुहार हेर्न। मैले मान्छे धेरै छन् नि त्यै भएर भन्दै चित्त बुझाउन खाेजेँ तर छाेराकाे जिज्ञासा झन् बढ्यो।
उसले भन्याे, ‘जति धेरै भए पनि हामीलाई अनुशासन सिकाउने ठुला मान्छेहरू आफैँ डाेरीले दायाँबायाँ छेकिएर लाइन बस्नुपर्ने? याे त अरूलाई चाेर्न हुन्न भनेर अर्ती दिने आफू स्वयं चाेर्दै हिँडेझैँ भएन र बाबा!’
हैन हाे, अचेलका केटाकेटी कति बाेल्न जानेका! उस्तै तार्किक कुरा गर्ने के! मान्छेले पालाे मिच्ने र सानाेतिनाे कुरामा निहुँ खाेजेर झगडा गर्ने माैका नपाऊन् भनेर यसाे गरेको भनुँ कि नभनुँ? भनुँ भने अरूलाई झगडा नगर भनेर सम्झाउने ठुला मान्छे आफैँ झगडा गर्नुहुन्छ त? अर्को प्रश्न गरिहाल्छ, उफ् कस्तो फसाद!
मन मनै कुरा खेलाएकाे थाहा पाएर हाे कि कुन्नि! ध्यान तान्न खाेजेझैं गरी भन्याे, ‘अँ, साँच्चै बाबा! एउटा कुरा सम्झेँ। अस्ति दादाले भैरव अर्यालको मपाईं निबन्ध पढ्दै गर्दा जाे अगुवा उहीँ बाटाे हगुवा भन्ने वाक्यांश सुनाउनुभा थियाे। त्याे भनेको यस्तै बाेली र व्यवहार नमिलेको नेता भन्ने अर्थ हाे कि बाबा?’
उसकाे कुराले मलाई हैरान बनायाे के गरूँ कसाे गरूँ भाे! मन नलागीनलागी हाे, ठ्याक्कै त्यै हाे, तिमीले सही तुलना गर्याै भन्दै एकाेहाेराे त्यै कुरा के गर्नु! बरु भन न तिम्रो स्कुलमा गीत गाउन र नाच्न सिकाउने सरमिसकाे नाम के हाे? तिमीलाई कुन गीत गाउन आउँछ? कुराकाे डाेरै बटारिदिएँ। धन्न उसले सरमिसकाे नाम र गीत सम्झन थाल्याे। मैले लामाे सास तान्न पाएँ।
प्रकाशित: १५ चैत्र २०८२ १०:२६ आइतबार





