नीता ढुंगाना निर्देशित तथा अभिनित चलचित्र ‘पार्वती’ को टिजर स्थगित भएको छ।
मंगलबार टिजर सार्वजनिक गर्ने योजना रहेता पनि चलचित्रका बाल कलाकार सम्बन्धित उत्पन्न केही विवादमा कारण टिजर स्थगित गरिएको हो। नीता फिल्मस् प्रोडक्सन प्रा.लि.ले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।
सूचनामा भनिएको छ, 'हाल हाम्रो चलचित्रका बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित केही व्यक्तिगत कारणवश उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यस संवेदनशील समयमा चलचित्रको प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री सार्वजनिक नगर्ने निर्णय गर्न हामी बाध्य भएका छौं।'
टिजर भने छिट्टै सार्वजनिक गर्ने विज्ञप्तिमा जनाइएको छ। टिजर स्थगितबारे अशोक दर्जीले पनि सोमबार साँझ बताएका थिए।
दुई युवाले अशोकलाई चोरको आरोप लगाएपछि उक्त विवाद उत्पन्न भएको हो। चलचित्र भने भदौ १२ गतेदेखि प्रदर्शनको तयारीमा छ।
प्रकाशित: १२ श्रावण २०८३ १३:०८ मंगलबार





