नेपाल स्रष्टा समाजले कथाकार लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ लोकार्पण गरेको छ।
नेपाल स्रष्टा समाजकाे अध्यक्ष श्रीओम श्रेष्ठ राेदनकाे अध्यक्षता तथा अग्रज साहित्यकार भागीरथी श्रेष्ठकाे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण भएकाे हाे।
कार्यक्रमका सभाध्यक्ष श्रीओम श्रेष्ठ राेदन, प्रमुख अतिथि अग्रज साहित्यकार भागीरथी श्रेष्ठ, कथाकार लक्ष्मी शर्मा, कथाकार शर्माका जीवनसँगी डा. दीनबन्धु शर्मा, शेषनाथ पौडेल र चुडामणि पौडेलले कृतिकाे सामुहिक रूपमा लाेकार्पण गरेका हुन्।
प्रमुख अतिथि श्रेष्ठले ‘हजुरआमा’ का कथाहरूले आफूलाई आकर्षित गरेको बताइन्। कथा पढ्दा आफ्नी हजुरआमा सम्झेर भावविह्वल हुँदै राेएकाे उनले बताइन्।
लाेकार्पित कृतिमाथि शेषनाथ पौडेल र चुडामणि पौडेलले समीक्षात्मक टिप्पणी गरेका थिए।
त्यस्तै समीक्षक शेषनाथ पौडेलले शर्माका कथामा नारी पात्रकाे बाहुल्य, कथा र शीर्षक स्वाभाविक, सामाजिक र आर्थिक विषयवस्तु, प्रकृतिसितकाे सामीप्य, छाेटाेमा धेरै भन्न सक्नु जस्ता शर्माकाे कथागत वैशिष्टय रहेकाे बताए।
कार्यक्रममा चुडामणि पौडेलले उनकाे कथामा पाठकलाई प्रत्यक्ष प्रभाव पार्ने छाेटाेमिठाे प्रस्तुति भएकाे, महिलाकाे संवेदनशील मन उनकाे कथागत विशेषता रहेकाे बताए।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कथाकार शर्माको एउटा अर्को सन्तानको जन्म भएको उल्लेख गर्दै उनका कथा शालीन र सरल भएको बताए।
कार्यक्रममा पुस्तकका प्रकाशक भुँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुलीले कथा शर्माले विषयवस्तुकाे जमिनैसम्म पुगेर लेखेकाे बताए। उनले नेपाल स्रष्टा समाजका अध्यक्ष तथा कथाकारकाे जीवनसँगी डा. दीनबन्धु शर्माकाे शुभेच्छाले कथाकार र प्रकाशककाे चिनजानबिनै पुस्तक बजार आएकाे बताए।
कार्यक्रममा कथाकार शर्माले आफ्नो लेखनयात्राबारे प्रस्टयाउँदै लेखन यात्रामा साथसहयाेग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेकी थिइन्।
कार्यक्रममा डा. दीनबन्धु शर्मा, केशव पराजुली, तारा सुवेदी लगायतले बोलेका थिए ।
प्रकाशित: ३० चैत्र २०८२ ०७:४९ सोमबार





