कथाकार केदार सङ्केतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण भएको छ।
महाकाव्यकार खेमनाथ दाहालकाे अध्यक्षता र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ काे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण भएकाे हाे।
अनेसास दर्पणको संयोजन र मिलाप पब्लिकेशनले आयोजना गरेकाे कार्यक्रममा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले शब्द मार्फत अतिथिहरूलाई स्वागत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले हल्लाखल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारको अस्तित्व दीर्घकालीन नहुने उल्लेख गर्दै काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा निरन्तर लागिरहने स्रष्टाहरूको सुदूर गन्तव्य सुनिश्चित हुने बताए।
पुरस्कार, प्रतियोगिता र प्रचारका भरमा स्थापित हुन चाहने सर्जकहरूको भीडमा केदार सङ्केत फरक देखिएको पनि उनले बताए।
प्रयोगवादी शैली, विषयवस्तुको विविधता र कथानकको गम्भीरताले राम्रो कृतिले समयसँगै आफैं मूल्याङ्कन पाउँदै चर्चा प्राप्त गर्ने उनले बताए।
साहित्यकार प्रगति राईले केदार सङ्केतका कथाहरू फरक धारमा आएको उल्लेख गर्दै यथार्थवाद र प्रयोगवादलाई प्रश्रय दिएको बताइन्।
उनले कृतिका रूपमा आइपुग्दा कथाहरू यथेष्ट परिमार्जित र परिष्कृत बनेको उल्लेख गर्दै आगामी लेखनकर्म अझ सशक्त रूपमा अघि बढून् भनी शुभकामना व्यक्त गरेकी थिइन्।
.jpg)
कीर्तिमानी सङ्गीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठले सन्तान जन्मिनु र कृति जन्मिनु उस्तै भएको बताउँदै आकर्षक कलेवर र साजसज्जामा आएको पुस्तकमा मूर्धन्य साहित्यकारहरूको भूमिका रहनुले कृतिको स्तरीयता पुष्टि हुने बताए।
उनले केदार सङ्केतका कलात्मक प्रस्तुति र कथाहरू नेपाली साहित्यको समृद्धिमा महत्त्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमका सभाध्यक्ष खेमनाथ दाहालले प्रस्तुत कथाहरू नयाँ शैलीमा लेखिएको र आफू ती कथाबाट अत्यन्त प्रभावित भएको उल्लेख गर्दै गहन समीक्षात्मक मन्तव्य राखेका थिए।
युद्ध साहित्यबाट आफ्नो पहिचान बनाएका कथाकार केदार सङ्केतले बेलायतबाट भिडियो कलमा लेखकीय मन्तव्य व्यक्त गरेका थिए। लेखकले सिर्जनाका माध्यमबाट आफ्ना कुरा अभिव्यक्त गर्ने भएकाले धेरै बोलिरहनु नपर्ने उनको भनाइ थियो।
पाठकको प्रतिक्रिया नै लेखकका लागि ठूलो पुरस्कार भएको उल्लेख गर्दै प्राप्त प्रतिक्रियाका आधारमा आगामी लेखनकर्म परिमार्जन गर्दै अघि बढ्ने उनले बताए।
उक्त अवसरमा रचना साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक प्रतीक घिमिरे, साहित्यकार तथा सुनुवार सेवा समाजका उत्तम कातिज लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
मिलाप मासिक कार्यकारी सम्पादक गीता अधिकारीले सहजीकरण गरेकाे कार्यक्रममा गणेश थापा, विष्णुबहादुर बस्नेत, उमेश शर्मा, उत्तमकुमार सुनुवार, सानु श्रेष्ठ, सोजुहाङ किराँत, गंगाप्रसाद भेटवाल, जयराम बिडारी, अक्कल कुवँर लगायतको उपस्थिति रहेकाे थियो।
ललितपुरको कुमारीपाटीस्थित ऐला लाउन्जमा भएकाे कार्यक्रममा मिलाप मासिकका सम्पादक कृष्ण भुसालको मन्तव्यसहित कार्यक्रमकाे समापन गरेका थिए।
प्रकाशित: १४ पुस २०८२ १३:२० सोमबार





