‘कथायात्रा समूह’ आख्यान मञ्जिरा कार्यक्रम लिएर चितवन यात्रा गरेकाे छ। नेपाली आख्यान साहित्यका विविध पक्षबारे पाठक, लेखक र पुस्तक व्यवसायीहरूसँग छलफल गर्न आख्यान मञ्जिरा कार्यक्रम लिएर कथायात्रा समूह चितवन पुगेकाे हाे।
उक्त यात्राको क्रममा चितवनस्थित सम्पूर्ण पुस्तक पसलमा समालोचक रमेश प्रभात, पुस्तक व्यवसायी लेखराम सापकोटा लगायतको समूहसँग चितवन जिल्लामा आख्यान लेखन सम्बन्धी आकर्षण, लेखन विषयवस्तु, समग्र नेपाली साहित्यमा चितवनको योगदान र चितवनको साहित्यिक बजार विषयमा अन्तर्क्रिया भएको छ।
कथायात्रा समूहले चितवनमा बसेर आख्यानमा सबैभन्दा ठूलो राशि भएको पुरस्कारको संस्थापक व्यक्तित्व, लेखक एवं कविडाँडा साहित्य प्रतिष्ठानका अध्यक्ष एलबी क्षेत्रीसँग पनि भेट गरेको छ।
वरिष्ठ साहित्यकार क्षेत्रीले नेपाली साहित्यमा लेखन प्रवृत्ति, पुरस्कारको सकारात्मक र नकारात्मक पक्षबारे चर्चा गर्दै आफ्ना उत्कृष्ट रचनाका अंशहरू वाचन समेत गरेका थिए। कथायात्रा समूहले गर्दै आएको पाण्डुलिपि बहस, कथाकारको कथनी र आख्यान मञ्जिरा लगायतको क्रियाकलापमा समेत सो समयमा छलफल भएको थियो।
उक्त कथायात्रा समूहमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुइकेल, हरिश कल्पित र पवित्रा अधिकारी छन्।
प्रकाशित: १६ कार्तिक २०८२ ११:२२ आइतबार





