२९ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

दक्षिण कोरियाका ‘राष्ट्रिय अभिनेता’ आनको निधन

दक्षिण कोरियाली सिनेमाका सबैभन्दा ठुला स्टार आन सुङ-कीको सोमबार निधन भएको छ। उनी ७४ वर्षका थिए। वर्षौंदेखि रक्त क्यान्सरबाट पीडित उनको मृत्युको घोषणा उनकी एजेन्सी आर्टिस्ट कम्पनी र सियोलको सुनचुनह्याङ विश्वविद्यालय अस्पतालले गरेको हो।

‘हामी अचानक आएको दुखद खबरमा गहिरो दुःख व्यक्त गर्दछौँ, मृतकको चिर शान्तिको कामना गर्दछौँ र उनीका शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ,’ एजेन्सीले विज्ञप्तिमा भनेको छ।

सन् १९५२ मा डेगुमा जन्मेका आनले सन् १९५७ मा नै बाल कलाकारको रूपमा फिल्म यात्रा सुरु गरेका थिए। केही दशक फिल्मबाट टाढा रहेपछि सन् १९७७ मा फर्किएर सन् १९८० को फिल्म ‘गुड, विन्डी डेज’ बाट ठुलो सफलता पाएका थिए। त्यसपछि दर्जनौँ हिट र पुरस्कृत फिल्ममा अभिनय गरेका थिए। 

उनका यादगार भूमिकामा ‘मन्दरा’को बौद्ध भिक्षु, ‘ह्वाइट ब्याज’को भियतनाम युद्ध अनुभवी, ‘टू कोप्स’को भ्रष्ट प्रहरी, ‘सिल्मिडो’को विशेष बल प्रशिक्षक र ‘रेडियो स्टार’को सेलिब्रेटी प्रबन्धक आदि छन्।

आनले पाँच पटक उत्कृष्ट अभिनेताको ग्रान्ड बेल पुरस्कार जितेका थिए, जुन कीर्तिमान अझै कायम छ। शान्त, विनम्र र परिवारप्रेमी छविका कारण उनलाई ‘राष्ट्रिय अभिनेता’ उपनाम दिइएको थियो।

‘मलाई लाग्यो कि मैले त्यो उपाधिसँग मेल खाने केही गर्नुपर्छ। तर मलाई लाग्छ कि यसले अन्ततः मलाई राम्रो दिशामा डोऱ्याएको छ,’ उनले सन् २०२३ मा एक अन्तर्वार्तामा भनेका थिए।

प्रेमिल दृश्यमा लजालु हुने आनले भनेका थिए, ‘मलाई माया नगर्ने व्यक्तिलाई मायालु आँखाले हेर्ने र साँच्चै रोमान्टिक रूपमा चुम्बन गर्ने जस्तो अभिनय गर्ने बानी राम्रो छैन। मलाई लाज लाग्छ र यस्ता भावनाहरू राम्रोसँग व्यक्त गर्न सक्दिन।’

उनका श्रीमती र दुई छोरा छन्। सियोलको अस्पतालमा शुक्रबारसम्म शोकसभा चल्ने छ। एपी

प्रकाशित: २१ पुस २०८२ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App