कलंकीको कोलाहल छिचोल्दै जब हामी उत्तर–पश्चिमको डाँडा चढ्यौं, सहरको धुलो–धुवा र भिड एकाएक ओझेलमा पर्यो। अगाडि हरियाली बाक्लिँदै थियो। सहरनजिकै लुकेको एउटा स्वर्गीय स्थलतर्फ हामी पुग्दै थियौं। बिहानी सूर्यको उज्यालो, मन्द ताप र हावामा हल्का चिसोले यात्रा सुरु भएको क्षणलाई अझ सुखद् बनाइरहेको थियो। कंक्रिटको जंगलबिचबाट हरियो डाँडो झल्किँदा आँखाले शीतलताको अनुभूति गर्यो, मनले सास फेर्यो। हामी वनक्षेत्र चिर्दै हिँडेको सडकमा अघि बढिरह्यौं। गाडीले गीत बजाउँदै थियो, हामी लय भर्दै थियौं। जुन दैनिक जीवनका चिन्ता भुलाउन पर्याप्त बनिरहेका थियो।
जतिजति पहाड उक्लिँदै थियो, सडक साँघुरो हुँदै गयो, तर वरिपरिको वन–वनस्पति र चराको चिरबिरले यात्रालाई जीवन्त बनाइरहेको थियो। गाडीको झ्यालबाट देखिने हरियालीले मनमा शान्ति ल्याउँदै थियो। सहरभित्रै यस्तो शान्त कुना अझै बाँकी रहेछ भन्ने महसुस गराइरहेको थियो।
प्रवेश क्षेत्रनजिक पुग्दा हावा नै फरक महसुस भयो - स्वच्छ, सुगन्धित र हरियालीले भरिएको। धेरै टाढा छैन, कलंकीबाट करिब सात किलोमिटर मात्रको दुरी। त्यो छोटो यात्रा आफैंमा एउटा सुन्दर आरोह–अवरोह थियो। घुम्तीघुम्ती सडकबाट कहिले काठमाडौं उपत्यकाको दृश्य टल्किन्थ्यो, कहिले घाम र छायाको खेल।
नेपाल रिपब्लिक मिडिया लिमिटेडको वार्षिक पिकनिकको दिन थियो। बिहानैदेखि सबैको अनुहारमा उत्साह झल्किएको थियो। काम होइन, बिदाको दिन, कार्यालयको औपचारिकता होइन, आत्मीयताले जोडिएको समय थियो त्यो। थप केही मोड पार गरेपछि हामीलाई स्वागत गर्यो–स्विट्जरल्यान्ड पार्कले। नाम सुन्दा नै सुन्दर लाग्थ्यो, तर त्यहाँको सुन्दरता आँखा मात्र होइन, मनले पनि अनुभव गर्यो।
पार्कको मूल गेटबाट भित्र पस्नासाथ नामले दिएको वाचा पूरा भएको अनुभूति भयो– ठ्याक्कै सानो स्विट्जरल्यान्डकै झल्को। पहाडको काखमा बसेको पार्क, हरियो घाँसे मैदान, वरिपरि चिरपरिचित पहाडी जंगल र टाढा क्षितिजमा सेता हिमशृंखला। बिहानको हावा शीतल, घाम न्यानो र साथीहरूको हाँसो गुन्जायमान थियो। त्यो निर्बन्ध हाँसोले ताजगी झन् सजीव बनाएको थियो। त्यहाँ हामीले सहरका चिन्ता भुल्यौं।
खाना पाक्दै थियो। कोही चुल्हो वरिपरि व्यस्त थिए त कोही चौरको घाममा गफिँदै थिए। हावामा धूप र खाना पाक्ने गन्ध मिसिएको थियो। त्रिपाल पनि थियो तर खुला घाँसमा फैलिएका टेबलमा बसेर खाना खायौं, खेल खेल्यौं। साथीहरूको हाँसो, डान्स र अन्ताक्षरीले वातावरणलाई अझ ऊर्जामय बनाएको थियो। केवल मनोरञ्जनका लागि होइन, यो अनुभवले हामीलाई कामको दबाब र तनावबाट मुक्त गर्यो। कोही नाच्दै, कोही अन्ताक्षरीमा रमाउँदै, कोही तासमा भाग्य परीक्षण गरिरहेका थियौं। हरेकका अनुहारमा बालपनको झल्को देखिन्थ्यो। सहरको तनाव र औपचारिकता हराएर हामी सबै प्रकृतिसँग मिसिएका थियौं।
कालु पाँडेको समाधिस्थलः वीरताको स्मृति
पिकनिकको बिचमा हामीमध्ये केही जनाले कालु पाँडेको समाधिस्थल जाने निर्णय गर्यौं। पिकनिक स्पटबाट करिब दुई किलोमिटरको उकालोपछि कालु पाँडेका सन्ततिले बनाएको मनकामना मन्दिर आउँछ। त्यसपछिको त्यो ठाउँमा पुग्दा मन एक्कासी गम्भीर बन्यो। त्यो ठाउँ पुग्दा इतिहास नै जीवित भएर बोल्छ। हावासँग मिलेर गुन्जिने आवाज मानौं पुरानो युद्धको प्रतिध्वनि हो।
शिलाले बनेको शान्त स्मारकअगाडि उभिँदा मनमा गहिरो भावनाको लहर चल्यो। त्यो केवल ढुंगाको मूर्ति थिएन, नेपाल एकीकरणको इतिहास बोल्ने प्रतिमूर्ति थियो। कीर्तिपुरको लडाइँ, वीरताको कथा र देश एकीकरणको सपना। त्यहाँबाट देखिने हिमालहरूको हरेक दृश्यले मनमा देशप्रेमको भाव भरिदिन्छ।
वास्तवमै यो समाधिस्थल केवल ढुंगाको स्मारक होइन, यो हाम्रो अस्तित्वको गाथा हो। यहीं वीर कालु पाँडे, पृथ्वीनारायण शाहका दाहिने हात, देश एकीकरणका अग्रदूत, कीर्तिपुर युद्धमा वीरगति प्राप्त भएका थिए। कालु पाँडेको सम्झनामा बनेको यो समाधिस्थल अहिले सुन्दर बगैंचा, सालिक र भ्यु–टावरसहित ऐतिहासिक स्थल बनेको छ। हिमालको पृष्ठभूमि, हरियाली जंगल र सालिकले यो स्थललाई इतिहास र प्रकृतिको अनुपम संगम बनाएको छ। इतिहासको धुलोले ढाकिएको कथा यहाँ अझै बाँचिरहेको छ।
काजी कालु पाँडेले आफ्नो मृत्युपछि ‘गोरखा र मनकामनाको दर्शन हुने सक्ने गरी मेरो शरीर समाधिस्थ गर्नू’ भन्ने इच्छा व्यक्त गरेको हुँदा तत्कालीन गोरखाका राजा पृथ्वीनाराण शाहको निर्देशनमा दहचोकको डाँडामा उनको समाधिस्थ गरिएको इतिहास छ। १८१४ सालमा कीर्तिपुरको डाँडोमा जब उनी घाइते भएर ढले, त्यो केवल एउटा सेनापतिको मृत्यु थिएन। त्यो एउटा युगको बलिदान थियो।
कालु पाँडेको समाधिस्थल नजिकै अहिले सुन्दर पार्क र सालिक बनेका छन्। त्यहाँबाट देखिने दृश्य मनमोहक छ। तल व्यस्त राजधानी सहर, माथि सेतो हिमाल टल्किरहेको अनि बिचमा कालु पाँडेको सालिक स्थिर। त्यो स्थिरता केवल मूर्तिको होइन, राष्ट्र निर्माणको प्रतीक हो।
दिउँसोको खाना खान पिकनिक स्थलमा फर्कियौं। त्यहाँबाट टाढा देखिने धौलागिरि, गणेश, लाङटाङ हिमालका शृङ्खला जतातिर हेरे पनि देशको गौरव झल्किन्थ्यो। पिकनिकको हाँसो र वीरताको गाथा एउटै हावामा मिसिँदा मनमा एक विचित्रको आनन्द उत्पन्न भयो। रमाइलो र गौरव एउटै श्वासमा सास फेर्दै थियौं।
विन्ध्यवासिनी मन्दिरः श्रद्धा र ध्यानको शिखर
यात्रा यहीं रोकिएन। दिउँसोको खानापछि माथि रहेको विन्ध्यवासिनी मन्दिर हेर्न जाने केही साथी माझ सल्लाह गरियो। त्यहाँ पृथ्वीनारायण शाहले मनकामना मन्दिर र अर्को किल्लामा विन्ध्यवासिनी देवीको स्थापना गरेर आराधना गरेको आमधारणा छ। सयौं ढल्किएका भर्याङ चढ्दै गर्दा श्वास फुल्थ्यो तर त्यही श्वासमा श्रद्धा मिसिएको थियो। साथमा थियो विश्वास र उत्सुकता। माथि पुग्दा निलो आकाश मन्दिरको धवल छानामाथि झुन्डिएझैं देखिन्थ्यो। षट्कोण आकारको विन्ध्यवासिनी मन्दिर सुनौलो उज्यालोमा नुहाइरहेको थियो। हावाले नजिकैको रुख हल्लाउँथ्यो र घन्टीको धुन फैलिन्थ्यो। त्यस ध्वनिले मनभित्रको शान्त ठाउँलाई छोयो।
त्यो मन्दिरको कथा सुन्दा झनै रोचक लाग्यो। मन्दिरको इतिहासले मन गहिरियो। तान्त्रिक गुरु ज्योतिष डा. कुमार अधिकारीले कुनै बिहान कलंकीबाट पश्चिमतिर देवीको झल्को देखेछन्। अनि त्यही ठाउँमा मन्दिर बनाउने संकल्प गरेका रहेछन्। स्थानीय र सरकारको सहकार्यमा बनेको यो मन्दिर केवल इँटाको संरचना होइन, श्रद्धा र परिश्रमको प्रतीक हो।
२०७२ सालको भूकम्पमा ढलेको मूर्तिलाई त्यही वर्ष वैशाख २९ मा पुनःस्थापना गरिएको तथ्यले यसको आध्यात्मिक महत्त्व अझ प्रगाढ बनाउँछ। मन्दिरमुनि एउटा सानो तर व्यवस्थित प्रहरी चौकी पनि छ। उनीहरू मन्दिरपरिसरको सुरक्षामा खटिएका छन्।
पिकनिकको महत्त्व
पिकनिक केवल रमाइलो होइन, त्यो हामी सबैबिचको सम्बन्ध पुनः ताजा पार्ने अवसर रहेछ। पिकनिक प्रकृति, इतिहास र आफैंसँग पुनः भेट्ने यात्रा पनि रहेछ। कर्मचारीलाई पिकनिकमा लैजानु कुनै विलासिता होइन। न त समय र पैसाको खर्च नै हो। त्यो त एउटा लगानी हो– लगानी जुन मन, ऊर्जा र सम्बन्धमा फिर्ता फर्कन्छ। मानव - स्रोतमा गरिएको सशक्त लगानी। पिकनिक भनेको कार्यालयको चार पर्खालभित्र सीमित दायित्व र अनुशासनबाट केही समयका लागि मुक्त हुने अवसर पनि हो। जसले कार्यस्थलमा नयाँ ऊर्जा र सकारात्मकता भर्छ। त्यहाँको हाँसो, खेल र सामूहिक अनुभवले केवल मनलाई मात्र होइन, संस्थाको सम्बन्ध–संस्कृतिलाई पनि पुनर्जीवित गर्छ।
जब सहकर्मीहरू एउटै हरियाली मैदानमा बस्छन्, एउटै थालमा खाना बाँड्छन्, एकअर्कासँग हाँस्छन्, खेल्छन्, गीतमा रमाउँदा सम्बन्धहरू गाढा हुन्छन्। त्यो क्षणमा पद, जिम्मेवारी वा विभागको सीमारेखा मेटिन्छ। कर्मीबिचको दुरी मेटिन्छ, प्रतिदिनको तनाव हराउँछ र सहकर्मीबिचको सामूहिक ऊर्जा फेरि जागृत हुन्छ। यही ऊर्जा कार्यालयमा फर्किंदा उत्पादनशीलता, निष्ठा र सकारात्मक मनोबलका रूपमा देखिन्छ।
दैनिक कामको चापले थाकेका कर्मचारीले पिकनिकमा पुग्दा आफ्नो मनलाई फेरि फुर्तिलो पाउँछन्। प्रकृतिको काखमा बिताएको केही घण्टाले शरीरलाई मात्रै होइन, मानसिक स्वास्थ्यलाई पनि पुनर्जीवित गर्छ। यसरी जब कर्मचारी खुसी र सन्तुलित हुन्छन्, उनीहरूको उत्पादनशीलता स्वाभाविक रूपमा बढ्छ। त्यो संस्थाका लागि आर्थिक रूपमा पनि फाइदाजनक हुन्छ।
पिकनिक संस्थाको आन्तरिक संवादको माध्यम हो। त्यहाँ औपचारिकताभन्दा बढी खुलापन हुन्छ। संस्थाको नाम मात्रको ‘टिमवर्क’ले त्यो दिन वास्तवमै मूर्त रूप लिन्छ। यस्तो परिवेशले सहकर्मीबिचको विश्वास बलियो बनाउँछ, जुन कुनै बैठक वा प्रशिक्षणले पनि दिन सक्दैन।
त्यसैले कर्मचारीलाई पिकनिकमा लैजानु समय र पैसाको बर्बादी होइन। उनीहरूको उत्साह, निष्ठा र सम्बन्धमा गरिएको लगानी हो। यस्तो लगानीले प्रतिफल आर्थिक रूपमा मात्र होइन, मानवीय र सांस्कृतिक रूपमा पनि फिर्ता ल्याउँछ। पिकनिकले संस्थामा हाँसो भित्र्याउँछ, हाँसोले सम्बन्ध सुदृढ बनाउँछ र सुदृढ सम्बन्धले काममा निष्ठा र उत्कृष्टता ल्याउँछ। यही हो, पिकनिकको वास्तविक मूल्य।
यो यात्रा केवल रमाइलो र खेलकुदका लागि थिएन। यसबिच बिताएको समयले हामीलाई आन्तरिक पर्यटनको महत्त्व पनि महसुस गरायो। स्विट्जरल्यान्ड पार्क, मन्दिर र समाधिस्थल भ्रमण गर्दा हामीले स्थानीय व्यवसाय, गाइड र पर्यटन स्थलमा सानै भए पनि योगदान गर्यौं। पिकनिक केवल मनोरञ्जन मात्र होइन, यो आन्तरिक पर्यटन प्रवर्धनको शक्तिशाली माध्यम पनि हो। जब कर्मचारी, विद्यार्थी वा कुनै समूह आफ्नो जिल्लाभित्र वा देशभित्रका रमणीय स्थलमा यात्रा गर्छन्, उनीहरू केवल विश्राम गर्दैनन्– त्यो ठाउँको प्राकृतिक सौन्दर्य, ऐतिहासिक धरोहर र सांस्कृतिक सम्पदासँग प्रत्यक्ष अनुभव प्राप्त गर्छन्।
श्रद्धा, शौर्य र सौन्दर्यको संगम
फर्कंदा हाम्रा अनुहारमा थकाइ नभई शान्त मुस्कान थियो । हाम्रो उत्साह घटेको थिएन। यात्रा अझै रमाइलो हुनेवाला थियो। गाडीभित्र ‘दोहोरी ब्याटल’को घमासान युद्ध भयो। हासो, ताली र एकआपसमा झन् नजिकिँदै गएका अनुहारहरू। गीतसँगै हामीको आवाज, हाँसो र ताल सहरतिर फर्किंदै थियो। बाटो उकालोबाट ओरालो भयो, तर मन अझै पनि ती डाँडामै अडिएको थियो। हरियाली, मन्दिर र कालु पाँडेको वीरतालाई सम्झँदै। हावामा हाँसो मिसियो र मनमा एउटा सन्तुलन बस्यो - श्रद्धा र रमाइलोपनको बिचमा रहेको सानो जीवनको सौन्दर्य। त्यो दिन, त्यो यात्रा केवल पिकनिक थिएन। त्यो इतिहासको पाना छुनु थियो, श्रद्धाको आभा महसुस गर्नु थियो र सहकर्मीहरूको आत्मीयता भोग्नु थियो।
त्यस दिन हामीले रमाइलो मात्रै गर्यौं भन्ने होइन, हामीले देश, इतिहास र संस्कृतिसँग आफ्नो आत्मीयता नजिकबाट अनुभव गर्यौं। स्विटजरल्यान्ड पार्कको हरियाली, विन्ध्यवासिनीको शान्ति र कालु पाँडेको वीरता, ती सबै अनुभवले हाम्रो यात्रा स्मरणीय बनायो। हाँसो र श्रद्धाको संगममा बिताएको त्यो दिन, केवल क्षणभरको रमाइलो होइन, भविष्य र सधैंका लागि सम्झनामा बस्ने अनुभूति थियो।
स्विट्जरल्यान्ड पार्क, विन्ध्यवासिनी मन्दिर र कालु पाँडेको समाधिस्थल– यी तीनवटा नाम मात्र होइनन्। यी नेपाली आत्मा, श्रद्धा र वीरताको त्रिवेणी हुन्। तीनवटा स्थलले एकै ठाउँमा प्रकृति, श्रद्धा र इतिहासको संगम प्रस्तुत गर्छन्। त्यो दिन हामी केवल पिकनिक गर्न गएका थिएनौं, हामीले नेपालको आत्मासँग साक्षात्कार गरेका थियौं। स्विट्जरल्यान्ड पार्कको मुस्कान, विन्ध्यवासिनीको आशीर्वाद र कालु पाँडेको शौर्य - ती सबै आज पनि मनमा गुन्जिरहेका छन्। फर्किंदा लाग्यो - पिकनिकको रमाइलो त एकदिनको हो तर त्यो हरियाली, ती घन्टीका धुन र ती वीरताको कथा - सधैंका लागि मनमा रहिरहने स्मृति हुन्।
प्रकाशित: २९ कार्तिक २०८२ ०९:४४ शनिबार





