२८ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

समाजको सोच

लघुकथा

अपरिचित एक अनुहार गाउँमा छिर्‍याे। गाउँवासी सशङ्कित भयो। अपरिचितले प्रश्न तेर्स्यायो, "सुवासको घर कुन हो?"

गाउँवासीले जिज्ञासा राखे, "को सुवास भन्नुभयो कुन्नि? हामी पनि यो गाउँमा धेरै पुराना होइनौँ! दुईचार वर्ष मात्र भयो बसाइँ सरेर आएका!"

अपरिचितले उनको कौतुहल मेटाउन खोजे, "खै को भन्नु तपाईलाई, सुवास र हामी विदेशमा सँगै बस्छौँ।"

गाउँवासीले फुर्ति लगाए, "त्यस्ता विदेश बस्ने त कत्ति छन् कति? घरैपिच्छे विदेशमा छन् यो गाउँमा! कसरी चिन्नु? उनको बाउआमाको नाम तपाईलाई थाहा छैन?"

अपरिचितले सम्झाए, " सुवासले मेरो नाम लिनु सबैले चिन्छन् भन्थ्यो, अहिले उसको बुबा धेरै विरामी हुनुहुन्छ रे! उसले उपचारको लागि अलिकति पैसा पठाएको थियो!

गाउँवासीले अड्कल काटे, "ए! त्यही अमेरिकामा ट्वाइलेट पुछ्ने सुवासेको घर पो सोध्नुभएको रहेछ! ऊ sss त्यही हो उसको घर!" उनले औंल्याए।

अपरिचितले खिन्न हुँदै जवाफ फर्काए, "तपाईलाई धन्यवाद, तपाईले मेरो आँखा खोलिदिनुभयो। मलाई मेरो पहिचान पनि थाह भयो अनि समाजको सोच पनि!"

प्रकाशित: २८ भाद्र २०८३ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App