विगत तीन दशकभन्दा बढीदेखि सांगितिक क्षेत्रमा सक्रिय रहेका गायक यम बरालले राज्यप्रति चित्त दुखाएका छन्।
राष्ट्रिय गान ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ मा स्वर दिएका उनले आफ्नो योगदानको मुल्य नभएको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमा राज्यमाथि प्रश्न गर्दै उनले भनेका छन्,‘कलाकारले उपचारका लागि घर खेत बेच्न पर्ने अवस्था त आउने होइन? सायद त्यो अवस्था मेरो जीवनमा पनि आउन सक्छ। त्यसैले मैले समयमै स्वास्थ्य बिमा गरौँ, आफ्नो भविष्यका लागि आफैँले सोचौँ भनेर आग्रह गरिरहेको छु।’
नेपालमा कलाकारहरुको लागि संरक्षण तथा सुरक्षाको अवस्था देख्दा आफूलाई दुःख लाग्ने बताउँदै उनले भाषण र व्यवहारमा राज्यको दोहोरो व्यवहार देखिएको बताए।
उनले भने, ‘राज्यले कलाकारलाई राष्ट्रिय सम्पदाका रूपमा भाषणमा सम्मान गर्छ, तर व्यवहारमा कलाकारको स्वास्थ्य, उपचार र सुरक्षाका विषयमा आवश्यक सहयोग र सहुलियत अझै पर्याप्त देखिँदैन।’
उपचारको क्रममा राज्यको तर्फबाट आफूले कुनै पनि सेवा सुविधा नपाएको उल्लेख गर्दै उनले दर्शक श्रोताको मायाले आफूलाई यहाँ सम्म पुर्याएको बताए।
उनले भने,‘राज्यबाट पाउनुपर्ने सम्मान र सुरक्षा राज्यकै दायित्व हो। तर जब राज्य मौन हुन्छ, दर्शकको माया नै कलाकारको सबैभन्दा ठूलो शक्ति बन्दोरहेछ। मानव शरीरमा के थाहा भोलि कसलाई के आपत आउने हो।’
उनले थपे, ‘यो मेरो गुनासो मात्र होइन—आउँदा पुस्ताका कलाकारका लागि एउटा चिन्ता र समयमै सोच्नुपर्ने आग्रह पनि हो। समयमैं सचेत रहनु होला।’
प्रकाशित: ७ भाद्र २०८३ १३:०४ आइतबार





