बलिउड प्रसिद्ध पार्श्वगायिका सुमन कल्याणपुरको निधन भएको छ। आइतबार साँझ मुम्बईमा ८९ वर्षको उमेरमा उनको निधन भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको निधन उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण भएको बताइएको छ। उक्त घटनाले बलिउडलाई स्तब्ध बनाएको छ।
उनकी नजिककी साथी मंगला खाडिलकरका अनुसार सुमनले आइतबार राति करिब ८ बजे अन्तिम श्वास लिएकी थिइन्। पछिल्ला केही दिनदेखि उनी आफ्नै गाएका गीतहरू सुन्दै आएकी थिइन् र अत्यन्त शान्तिपूर्वक संसारबाट बिदा भएकी हुन्।
उनको अन्त्येष्टि सोमबार पवनहंस श्मशान घाटमा गरिने बताइएको छ। उनको परिवारमा छोरी चारु रहेकी छन्। सुमन कल्याणपुरलाई सन् २०२३ मा पद्मभूषण सम्मान समेत प्रदान गरिएको थियो।
सुमनको स्वरको तुलना प्रायः लता मंगेशकर को स्वरसँग गरिन्थ्यो। फिल्मफेयरको एक रिपोर्टअनुसार उनले ११ भाषामा ३,००० भन्दा बढी फिल्मी तथा गैर–फिल्मी गीतहरू गाएकी थिइन्। यी दुई गायिकाको स्वरमा श्रोता प्रायः झुकिन्थे।
सुमनले १९६० र १९७० को दशकमा आफ्नो मधुर स्वरका कारण भारतीय संगीत क्षेत्रमा विशेष पहिचान बनाएकी थिइन्। त्यस समय लता मंगेशकर जस्ती महान गायिकाको प्रभाव हुँदाहुँदै पनि उनले आफ्नै अलग स्थान बनाउन सफल भइन्।
‘आजकल तेरे मेरे प्यार के चर्चे’, ‘ना ना करते प्यार तुम्हीं से’ र ‘तुमने पुकारा और हम चले आए’ उनका अत्यन्त लोकप्रिय गीतहरूमध्ये पर्छन्। उनले हिन्दीका साथै मराठी, असमिया, कन्नड, बंगाली, ओडिया लगायत विभिन्न भाषाहरूमा हजारौँ गीत गाएकि छिन्।
उनको मधुर स्वर र बहुमुखी गायन शैलीका कारण उनका गीतहरू आज पनि निकै लोकप्रिय छन्।
प्रकाशित: १८ जेष्ठ २०८३ १२:४४ सोमबार





