आजको यस लेखमा म नेपाली लघुकथाको इतिहास, अवधारणा, वर्तमान सैद्धान्तिक मान्यता, नेपाली लघुकथाका समस्या, चुनौती र समाधानतिर लाग्दिनँ बरू म र लघुकथा पाठशाला बीचमा रहेको सम्बन्धबारे थोर बहुत सन्दर्भ कोट्याउँछु।
‘कहिले लाग्छ, समय कत्ति ढिलो हिँडेको अनि फेरि कहिले लाग्छ, समय कत्ति छिटो बितेको?’ मानसिक द्वन्द्वको यो भुँवरीमा जीवनको ६५ औँ वसन्तमा हिँडिरहँदा लघुकथालेखन र संस्था व्यवस्थापनको मोहमा म क्रमश: जीवनको यात्रामा अविरल बगिरहेछु।
भोजपुरको दावामा जन्म लिएर मोरङको विराटनगरलाई शिक्षादीक्षाको क्षेत्र मान्दै मैले काठमाडाैंलाई कर्मभूमि बनाएकी छु।
बाल्यकालमा साहित्यिक वातावरणभन्दा पनि कम्युनिष्ट राजनीतिक संस्कारमा हुर्किएकी म अनि मेरो विद्यार्थी जीवन साहित्यमाभन्दा अखिल नेपाल विद्यार्थी संगठन, पाँचौँको झण्डा बोक्दै बितेको थियो तापनि साहित्यमोह भने सुषुप्त अवस्थामा थियो। त्यसैले अवसर पाउँदा कथा र कविता कोरेर साहित्यिक कार्यक्रममा सहभागी हुन्थें। २२ वर्षको शिक्षण पेशामा आबद्ध भइरहँदा शिक्षण संस्थाका साहित्यिक क्यालेण्डर र भित्तेपत्रिकामा अग्रजहरूको सहयोगी हात बन्थेँ।
२०७३ सालमा सेवाबाट अवकाश पाएपछि सामाजिक सञ्जालको साहित्यिक चौतारीहरूमा विचरण गरिँरहदा लघुकथाप्रति मेरो ध्यान तानियो। कसैले लघुकथालाई हेपिएको विधा भनेको सुन्दा नरमाइलाे लाग्न थाल्याे। फलस्वरूप यसको उन्नयनमा लागिपर्ने अठोट बोकेर २०७६ साल चैत्र ३ गते सिकौँ र सिकाऔँ भन्ने उद्देश्य बोकेको लघुकथा पाठशाला फेसबुक पेज खोलेँ। मेरो यो कदमले स्थापित अग्रज पेजहरूका सञ्चालकहरूका नजरमा म आँखाको कसिङ्गर जस्तै पनि भएँ।
पेज त खोलेँ तर हुर्काउन एक्लैले सकिँदैन भन्ने तुरुन्तै महसुस भयो। लघुकथा प्रतिष्ठान, पोखराका कल्याण पन्त र श्रीराम राईलाई पेजको व्यवस्थापक बन्न अनुरोध गरेँ। उहाँहरूले समयको अभावले भियाउनुभएन।
राजु क्षेत्री अपुरोको सञ्चालनमा रहेको महिला म्यासेन्जर समूह ‘स्रष्टाको बगैँचा’ मा झण्डै १०० महिला स्रष्टा आबद्ध थियौँ। त्यसमध्ये अति निकट रहेकी दुर्गा वनबासीसँग कुरा गरेँ। दिदीबहिनी भएर पेज हाँक्ने निर्णय गर्याैं। उहाँको साथले आँट बढ्यो। पेज खुलेको १० दिन मात्र बितेको थियो। उहाँले फेसबुक प्रत्यक्ष प्रसारणमा लघुकथा वाचन गर्न तत्परता देखाउनुभयो। कार्यक्रमको नाम प्रवाह भनेर उहाँले न्वारान गर्नुभयो। यसै बीचमा बगैँचाकी महिला स्रष्टा शुभ शर्मा र दुई दिन पछाडि राजु क्षेत्री अपुरोलाई पाठशालाको व्यवस्थापक बनाएँ।
चैत्र १५ र २५ गते प्रवाहको दुई शृङ्खला चलाएपछि वनबासीले काठमाडौँ छाड्नुपर्ने अवस्था आयो। त्यसपछि उहाँको व्यस्तताले लाइभ चलाउन नसक्ने हुनुभयो। यो जिम्मेवारी सष्टा शुभ शर्मा (जो उज्यालो नेपालमा फेसबुक पेजको लाइभमा सक्रिय हुनुहुन्थ्यो) ले लिने कुरा मिल्यो।
शर्माले सञ्चालन गरेपछि प्रवाह कार्यक्रममा मातृभाषाका लघुकथा वाचन र अन्य विविध कार्यक्रम थपिदै गयो। त्यसैले यो कार्यक्रमको नाम `प्रवाह विविध’
भनेर पुन: न्वारान गरियो। आजको अवस्थामा कार्यक्रम प्रवाह भनेर महिनाको अन्तिम सोमवार लघुकथासम्बन्धी समाचार प्रसारण गरिएको छ।
पेजको स्थापना भएकै दिनदेखि जोडिएका शेखरकुमार श्रेष्ठले पेजमा पोष्ट भएका लघुकथाहरूको समीक्षा गरेर पोष्ट गर्ने कार्यमा लगन देखाउनुभयो। उहाँको स्तुत्य कर्म र क्षमतालाई मापन गरेर व्यवस्थापक बनाइयो। उहाँले ‘२४ घण्टामा समीक्षा’ भन्ने कार्यक्रम ( २४ घण्टाभित्र पोष्ट भएका सबै लघुकथामा पाठकीय प्रतिक्रिया लेखेर पोष्ट गर्ने।) केही महिना चलाउनुभयो।
पेजको स्थापना कोरोना कालमा भएकाले कार्यक्रम भर्चुयल गर्नुपर्ने बाध्यता थियो। जुमको आइडिया हामी ५ एडमिन कसैसँग थिएन।संयोग भनौँ, उज्यालो नेपाल फेसबुक पेजले जुमबाट लघुकथावाचन गर्ने कार्यक्रम राखेको थियो त्यसमा दुई प्रतिनिधि पाठशालाबाट पठाउनू भन्ने अनुरोध आयो। त्यसमा हामीले छलफल गर्याैं।
सदस्य हेमलता उप्रेती र एडमिन शेखरकुमारलाई सहभागी हुने अवसर मिल्यो। कार्यक्रम पौडेल विमुन्सले सञ्चालन गर्नुभएको थियो। उहाँको बोल्ने कलाबाट म साह्रै प्रभावित भएँ। उहाँसँग सम्पर्क गरेर पाठशालामा जुम कार्यक्रम गरिदिन अनुरोध गरेँ। उहाँले ‘कार्यक्रम गर्ने एकदिन एड्मिन बनाउनू , बाँकी प्रक्रिया म मिलाउनेछु भन्नुभयो।’ मैले विचार गरेँ, ‘कार्यक्रम अरू पनि धेरै गर्नुपर्ने हुन्छ।’
त्यसैले पौडेललाई प्राविधिक पक्षको जिम्मेवारी दिएर सधैंका लागि एडमिन बनायौँ। उहाँले जुम र स्ट्रीम यार्डबाट आजको दिनसम्म पनि धेरै कार्यक्रम सञ्चालन गरेर पेजलाई योगदान पुर्याइरहनुभएको छ।
पेजको १०० दिन पुग्दा रेडियोकर्मी डिलाराम आचार्यले जागरण एफएमबाट लाइभ प्रसारण गरेर पेजका सदस्यहरूबाट प्राप्त प्रतिक्रिया जनमानससमक्ष पुर्याउन होस् वा रेडियोको शनिवारे कार्यक्रममा पाठशालाका लघुकथा वाचन गरेर होस् वा लघुकथा गानको भिडियो निर्माण गरेर होस्! अतुलनीय योगदान नकार्न सकिँदैन।
यसै दौरानमा करूणा ढकालले पेजको पहिलो वार्षिकोत्सवमा लघुकथाका ह्याट्रिकरहरूको लघुकथा वाचन गरेर, पटकपटक प्रत्यक्ष प्रसारणमार्फत समाचार प्रसारण र लघुकथा वाचन गरेर यस पेजको इतिहासमा नमेटिने नाम लेखाउनुभएको छ।
अन्य समूहले गराएको लघुकथा प्रतियोगितामार्फत सम्पर्कमा आएका छविलाल खड्काको लघुकथा लेखनको क्षमता आङ्कलन गरेपछि पश्चिमको क्षेत्रलाई प्रतिनिधित्व गर्ने मनशायले पाठशालाको व्यवस्थापक बनाइएको थियो। ‘कार्यक्रम २४ घण्टामा लघुकथा´ का सञ्चालक एडमिन छविलाल खड्काले २४ घण्टाभित्र पेजमा पोष्ट भएका लघुकथाहरूको सूची बनाएर प्रेषित गर्नुहुन्थ्यो। केही वर्ष गरेपछि समयको अभावले यो कार्यक्रम पनि स्थगित भयो। उहाँको यो अद्वितीय योगदानलाई कहिले बिर्सिन सकिँदैन।
यसरी क्रमिक रूपमा पेजमा जोडिएका सदस्यहरूको साथसमर्थन पाउँदै जाँदा हामी सबैको साझा पृष्ठ भन्ने भावनाले २०७७ साल साउन १३ गते लघुकथा पाठशालालाई ‘हाम्रो लघुकथा पाठशाला´ नामाकरण गरियो।
२०८० साल बैशाख १३ गते जिल्ला प्रशाशन कार्यालय, बबरमहल, काठमाडौंबाट पेजलाई दर्ता गरायौँ। अब यसको नाम हाम्रो लघुकथा केन्द्र, नेपाल भयो। फेजबुक पेज अब संस्थाको एउटा कार्यक्रमको रूपमा सञ्चालित छ।
२०७६ सालमा एक्लो प्रयासले रोपेको बिरुवालाई मलजल गरेर हुर्काउने, बढाउने कार्यमा हालसम्म आइपुग्दा कार्यक्रम प्रस्तोता १४, १५ समीक्षक, १०८ आजीवन सदस्य, ११ हजार प्लस सदस्यहरू, १६ व्यवस्थापक, ११ सदस्यीय दोस्रो कार्यसमिति, १ संरक्षक र ३ सल्लाहकारको परिवार बनेको छ, यो संस्था। कहिले ताली र कहिले गाली खाँदै लघुकथाकोबिस्तारमा यो संस्था दृढ रूपमा लागिरहेको छ।
लघुकथा विधाको उन्नयनका लागि लघुकथा प्रेषित गरेर पढने, प्रतिक्रिया लेख्ने , दैनिक रूपमा प्रत्यक्ष प्रसारणमार्फत लघुकथा वाचन र समीक्षा गर्ने, युट्युव र भिडियोमा लघुकथा वाचन गर्ने, पत्रपत्रिकाहरूमा लघुकथा प्रकाशन गर्ने, अध्ययन र अनुसन्धानका लागि एउटा दस्तावेज बनोस् भन्ने हेतुले लघुकथाकृति सर्जक, कृतिको आवरण प्रकाशन वर्ष र प्रकाशकको नाम समेतको तथ्याङ्क संकलन, लघुकथा गानको निर्माण र प्रचारप्रसार, एकल लघुकथासङ्ग्रह, संयुक्त लघुकथासङ्ग्रह र स्मारिका प्रकाशन र विमोचन गर्ने, विद्यालयस्तरीय लघुकथा प्रतियोगिता सञ्चालन , अन्तरसंस्था बिच सहकार्य, लघुकथा गोष्ठी र कृति परिचर्चा, स्रष्टा परिचय र स्रष्टा संवाद, अक्षय कोष निर्माण गरेर स्रष्टा सम्मान, लघुकथा सम्बन्धी मासिक समाचार प्रसारण र प्रकाशन आदि विविध क्रियाकलापबाट लघुकथाको विकासमा यस पेजले उल्लेखनीय योगदान दिँदै आएको छ।
शब्द र परिभाषामा जसले जसरी व्याख्या गरे पनि लघुकथा, आख्यानको कान्छो विधा भएकाले आख्यान तत्त्व मिसाएर, लघुकथाका नवीतम मान्यताहरूको घुलनमिश्रित छोटो रचना नै लघुकथा हो भन्ने मैले बुझेकी छु। यही बुझाइमा ४ लघुकथासङ्ग्रह : चोटदेखि मृत्युसम्म, दृश्य, सफलता र पाहुर प्रकाशन गरेकी छु।
मेरो जीवनको बाँकी समय लघुकथाको विकासका लागि नै खर्चिने सोच बनाएर उभिएकी छु। अहिले मेराे सबैभन्दा बढी समय लघुकथाकै पेरिफेरिमा व्यतित भैराखेको छ।
समयको बहाबमा ६ वर्ष बितेको पत्तै भएनछ। गत चैत्र ३ गते साँझ व्यवस्थापक शुभ शर्माले प्रत्यक्ष प्रसारणमार्फत लघुकथाको वाचन, शुभकामना आदानप्रदान, लघुकथासम्बन्धी केही जानकारी र लघुकथाविदहरूको सारगर्भित विचार प्रवाह गरेर छैटौँ वार्षिक दिनलाई उत्सवमय बनाउनुभयो।
चैत्र ४ बुधवार काठमाडौं, तीनकुनेस्थित हेभेन टिम्मुर थकालीमा चियावार्तामा लघुकथा कार्यक्रम आयोजना गरेर उल्लास थप्ने काम गरियो। यसरी पेजको छैटौँ वार्षिकोत्सव मनाइरहँदा लघुकथाको नशामा चुर्लुम्मै डुबेकी रहेछु भन्ने मलाई हर्षबोध भएको छ।
प्रकाशित: ७ चैत्र २०८२ १४:५७ शनिबार





