२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

हुम्लामा रावणको ताण्डव, ‘जय जय शंकर’ सार्वजनिक

गगन थापाले भने: कर्णालीसँग कठिनाइ मात्र छैन, सुन्दरता पनि छ

नेपालको धार्मिक तथा सांगीतिक क्षेत्रमा नयाँपन ल्याउने उद्देश्यले कर्णालीको हुम्लामा छायांकन गरिएको धार्मिक–सांगीतिक भजन ‘जय जय शंकर’ काठमाडौंमा सार्वजनिक गरिएको छ।  हरितालिका तीजको अघिल्लो दिन सोमबार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रमुख आतिथ्यमा सार्वजनिक यो गीत मुलुकको धार्मिक पर्यटनका निम्ति सहयोगी सिद्ध हुने अपेक्षा गरिएको छ ।  

महामन्त्री थापाले उक्त अवसरमा कर्णालीलाई केवल कठिनाइ र दुःखका दृष्टिले मात्र नभई अवसर र सम्भावनाका रूपमा पनि हेर्न आवश्यक भएको बताए। उनले धार्मिक पर्यटन कर्णालीमा भित्र्याउने महत्वपूर्ण माध्यम बन्न सक्ने र यस किसिमका सांगीतिक प्रस्तुतीले भारतीय धार्मिक पर्यटकलाई समेत आकर्षित गर्न सक्ने विश्वास व्यक्त गरे।

‘कर्णालीसँग कठिनाइ मात्र छैन, यससँग सुन्दरता, आस्था र सांस्कृतिक गहिराइ पनि छ,’ उनले भने, ‘यहाँ रहेका सम्भावनालाई राज्यले सहयोग पुराउन सके सुखको ढोका खुल्ने छ।’

त्यस्तै कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि कर्णालीलाई धार्मिक तथा प्राकृतिक सम्पदाको दृष्टिले अद्वितीय क्षेत्र भएको बताउँदै पर्यटक भित्राउने कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनका अनुसार यस किसिमका गीत–संगीत र दृश्यले कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पु¥याउनेछन्।

भजनमा रावणको भूमिका निर्वाह गरेका बद्रीप्रसाद तिवारीको एकल अभिनयलाई दर्शकले प्रशंसा गरेका छन्। लोकप्रिय गायक सुगम पोखरेलको सशक्त आवाज र ५ हजार १ सय मिटर उचाइमा गरिएको अभिनय हेर्न लायक छ । प्रस्तुत भजनले श्रोता–दर्शकलाई पुरानो समयको नातीकाजीको प्रिय शिव भजनको सम्झना गराएको छ । उनैले यसलाई संगीतवद्ध गरेका थिए र रेडियो नेपालबाट प्रसारण हुँदै आएको छ । यसलाई दृश्यमा अनुदित गर्ने र शिवका सबैभन्दा सशक्त भक्त रावणलाई यसमा चित्रण गर्नुबाट पनि पौराणिक मिथलाई समेत जीवन्त बनाउने काम भएको छ ।

‘जय जय शंकर’ को भिडियो कन्सेप्ट विजय अधिकारीको रहेको छ भने छायांकन कर्णालीको कठिन भौगोलिक पृष्ठभूमिमा गरिएको हो। प्राकृतिक दृश्य, धार्मिक भाव र कलात्मक प्रस्तुतीले भरिपूर्ण यस भिडियोले धेरैको मन छोएको  छ ।

नेपालको धार्मिक सांगीतिक परम्परालाई भारतसम्म पुर्‍याउने सम्भावना रहेको छ ।  नेपाली र हिन्दी भाषाभन्दा पनि संस्कृतिका मौलिक श्लोकलाई गायन, छायाँकन र अभिनयमार्फत् जीवन्त तुल्याउन खोजिएको छ । धार्मिक भावनासँगै पर्यटन प्रवद्र्धनलाई समेत जोडिएको यो प्रस्तुतीले आगामी दिनमा कर्णालीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पु¥याउने आयोजकले अपेक्षा  गरेको छ ।

हुम्लाको  कठिन भूगोलमा  कर्णालीको सौन्दर्य, धार्मिक भाव र सांगीतिक प्रस्तुतिको संगम बनेको ‘जय जय शंकर’ हरितालिका तीजकै अवसरमा नेपाली दर्शक–श्रोतालाई उपहार स्वरूप सार्वजनिक गरिएको परिकल्पना कारण विजय अधिकारीले बताए ।

सुगम पोखरेलको स्वरमा स्व. नातिकाजीको सङ्गीत रहेको पुरानो नेपाली भजन पुनर्संयोजन गरी थप शब्दहरू गीतकार तथा निर्देशक विजय अधिकारीको तथा नयाँ संयोजन सङ्गीतकार मोहित मुनालको रहेको छ ।  

हुम्लाको विकट स्थानमा म्युजिक भिडियो छाँयाकन गरिएको सम्भवतः यो पहिलो पटक हो । नेपालबाट पनि कैलाश पर्वत र मानसरोवर तालको परिदृश्य देखिन्छ भन्ने सन्देश संसारभरि व्यापक गरी नेपालको पर्यटन क्षेत्रमा पनि टेवा पु¥याउने प्रयास निर्माता डिजिसेन्स नेपालले राखेको छ ।

प्रकाशित: ९ भाद्र २०८२ १९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App