सुन्तला र खैरो रङको पोसाकमा सजिएका आठ कलाकार। टाउकोमा क्याप। हातमा बाजा। संगीतको तालसँगै गीत, नृत्य र अभिनय। सडकछेउको गाउँले परिवेश। अगाडि उभिएर, बसेर र वरिपरिबाट हेरिरहेका दर्शक।
केहीबेरका लागि जुम्लाको कृष्ण मन्दिरअगाडिको सडक रंगमञ्चमा बदलियो। त्यो कुनै सांस्कृतिक कार्यक्रम थिएन। महिलालाई घरको चौघेराभित्र मात्र सीमित राख्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै सडकमा मञ्चन गरिएको ‘बाटैबाटो’ नाटक थियो। ‘कथा घेरा’को घुम्ती नाटक लिएर थिएटर टोली अहिले कर्णाली यात्रामा छ।
दोस्रो संस्करणअन्तर्गत शनिबार जुम्लामा मञ्चन गरिएको नाटक आइतबार दैलेख पुग्दैछ। त्यसपछि कर्णालीका विभिन्न जिल्लामा यही कथा सडकमा सुनाइनेछ। साँझ साढे ३ देखि ५ बजेसम्म मञ्चन भएको नाटकको कथा महिलाको सीप, श्रम, आर्थिक स्वायत्तता र समान अवसरसँग जोडिएको छ।
घरभित्र महिलाले गर्ने कामको मूल्य नदेखिने तर घरबाहिर आम्दानीका लागि निस्कँदा अनेक सामाजिक प्रश्न उठ्ने अवस्थालाई नाटकले कथाको केन्द्रमा राखेको छ।कथा घेरा थिएटरकी निर्देशक आकांक्षा कार्कीका अनुसार महिलालाई अवसर नदिइनु नै उनीहरूको सम्भावना रोक्ने प्रमुख कारण हो।
‘महिलाको हातमा सीप बसाइयो भने त्यसको लाभ परिवार हुँदै समाजसम्म पुग्छ,’ उनले भनिन्, ‘महिलाले गर्न नसक्ने केही छैन। समान अवसर नपाएका कारण मात्र धेरै महिला पछाडि परेका हुन्।’ नाटकमा घर र बाहिर दुवै ठाउँमा काम गरिरहेका, केही गरौँ भन्ने चाहना बोकेका तर परिवार र समाजको साथ नपाएका महिलाका कथा समेटिएका छन्। उनीहरूका संघर्ष, आकांक्षा र अवसरको खोजीलाई अभिनय, गीत र संगीतमार्फत प्रस्तुत गरिएको छ।
‘हाम्रो समाजमा लामो समयदेखि महिलाहरूले घरायसी तथा अवैतनिक श्रममा ठूलो योगदान पुर्याउँदै आएका छन्। तर त्यसको उचित मूल्यांकन हुन सकेको छैन,’ कार्कीले भनिन्, ‘महिलालाई घरभित्रै सीमित राख्ने परम्परागत सोच अझै बाँकी छ।’यही सोचलाई चुनौती दिन ‘बाटैबाटो’ सडकमा आएको हो।
नाटकले महिलाले घरको जिम्मेवारीसँगै आफ्नो पेसा, उद्यम र आर्थिक गतिविधिलाई पनि अघि बढाउन सक्ने सन्देश दिन्छ। त्यसका लागि परिवारको साथ, समुदायको स्वीकार्यता र समान अवसर आवश्यक रहेको नाटकले देखाउँछ।मञ्चमा कलाकारको अभिनयसँगै बाजा र गीत मिसिन्छ।
दर्शकको भीड थपिँदै जान्छ। सडकमा प्रस्तुत गरिएको नाटकको दृश्य सामाजिक सञ्जालसम्म पुग्छ। नाटकका क्लिपहरू शेयर भइरहेका छन् भने प्रस्तुतिको सामाजिक सन्देशको प्रशंसा पनि भइरहेको कथा घेराले जनाएको छ।
‘कथा घेराकै प्रस्तुतिमा हामीले सशक्त सामाजिक सन्देश बोकेको घुम्ती सडक नाटक तयार गरेका हौँ,’ कार्कीले भनिन्, ‘दोस्रो संस्करणमार्फत जुम्लालगायत कर्णालीका विभिन्न जिल्लामा पुगेर महिलाको आर्थिक स्वायत्तता, उद्यमशीलता, श्रममा सहभागिता र लैङ्गिक समानताको विषयमा संवाद गर्न खोजेका छौँ।’नाटकमा वेनिशा आचार्य, नेबिका सिलधर, सेविता अधिकारी, सुस्मिता कुँवर, जीवन ढकाल, विजय नेपाल, प्रसुनकुमार खत्री र रोबित मुनि तुलाधर सहभागी छन्।
भ्रमण टोलीमा निर्देशक सुदाम छात्कुली, लुनिभा तुलाधर र परियोजना प्रमुख आकांक्षा कार्की छन्।बाटैबाटो’को यात्रा एउटा जिल्लाबाट अर्को जिल्लामा नाटक पुर्याउने यात्रामात्र होइन। महिलाले घरमा गरेको श्रमको मूल्यदेखि उनीहरूले खोजिरहेको अवसरसम्मको प्रश्न सडकमा पुर्याउने अभियान पनि हो। रंगमञ्चबाट बाहिर निस्किएको यो कथा अहिले कर्णालीका सडक, बजार र बस्ती हुँदै महिलाको समान अवसरको बहससँग जोडिँदैछ।
प्रकाशित: १८ आश्विन २०८३ ०९:४५ आइतबार


-600x400.jpg)


