तिहारमा दिदीबहिनीले दाजुभाइका गलामा सयपत्री र मखमली फूलका माला पहिर्याएर दीर्घायु, सुख र समृद्धिको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीप्रतिको माया, सम्मान र आत्मीयता साट्दै भाइटीका मनाउँछन्।
दाजुभाइ र दिदीबहिनीबिचको यही प्रेम र सम्बन्धलाई अझ प्रगाढ बनाउने तिहार नजिकिँदै गर्दा बाँकेको कोहलपुरस्थित सुन्दरबस्तीका खेतमा सयपत्री फूल ढकमक्क फुलेका छन्। तिहारका लागि तयार भएका यी फूल बजारसम्म पुर्याउने तयारीमा जुटेका स्थानीय युवा भने फूल खेतीमार्फत आफ्नै गाउँठाउँमा रोजगारी र आम्दानीको सम्भावना खोजिरहेका छन्।
कोहलपुर नगरपालिका– १२ सुन्दरबस्तीका युवाहरूले पछिल्लो समय व्यावसायिक फूल खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउँदै लगेका छन्। परम्परागत खेतीभन्दा फरक व्यवसायका रूपमा फूल खेती सुरु गरेका उनीहरूले सात वर्षदेखि निरन्तर यसलाई व्यावसायिक रूपमा अघि बढाइरहेका छन्। अन्य बालीको तुलनामा फूल खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन्।
थापा कृषि तथा नर्सरी फर्ममार्फत व्यावसायिक फूल खेती गर्दै आएका युवाहरूले यस वर्ष पनि तिहारलाई लक्षित गरी सयपत्री उत्पादन गरेका छन्। खेतमा फुलेका पहेंला र सुन्तला रङका सयपत्री फूलले अहिले सुन्दरबस्तीको खेतीयोग्य जमिनलाई आकर्षक बनाएका छन्। फूल फुल्ने समय र तिहारको बजार मागलाई ध्यानमा राखेर खेती गरिएको उनीहरूले बताएका छन्।
पुष्प उद्यमी कर्णबहादुर थापाका अनुसार फूल खेतीबाट अन्य परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने भएकाले यसलाई निरन्तरता दिइएको हो। सुरुमा नयाँ व्यवसायका रूपमा थालेको फूल खेती अनुभव बढ्दै जाँदा सम्भावनायुक्त उद्यमका रूपमा विकास हुँदै गएको उनको भनाइ छ। ‘अन्य बालीको तुलनामा फूल खेतीबाट राम्रो आम्दानी हुने देखिएपछि व्यावसायिक रूपमा निरन्तरता दिएका हौं’, उनले भने।
यस वर्ष फर्मले उच्च गुणस्तरको कर्मा ५५५ जातको सयपत्री लगाएको छ। १४ कठ्ठा क्षेत्रफलमा गरिएको खेतीबाट करिब ६ क्विन्टल फूल उत्पादन हुने अपेक्षा गरिएको छ। उत्पादन भएका फूल बिक्रीका लागि बजारसमेत व्यवस्थापन गरिएको छ। कोहलपुर, नेपालगन्ज र बर्दियाको बाँसगढीमा स्टल राखेर सयपत्री बिक्री गर्ने तयारी गरिएको छ।
तिहारमा सयपत्री फूलको माग विशेष हुने भएकाले उत्पादनलाई बजारसम्म पुर्याउन फर्मले तयारी थालेको हो। घर, मठमन्दिर, कार्यालय तथा पसल सजाउन र दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला बनाउन सयपत्रीको प्रयोग गरिन्छ। भाइटीकामा फूलमालाको विशेष महत्व रहने भएकाले यस समयमा यसको खपत पनि बढ्ने गर्छ। यही मागलाई लक्षित गरेर स्थानीय स्तरमा उत्पादन गरिएको फूल बजारमा पुर्याउन सके किसानले उचित मूल्य पाउने अपेक्षा गरिएको छ।
थापा कृषि तथा नर्सरी फर्मका सञ्चालक जयबहादुर बस्नेत स्थानीय स्तरमै फूल उत्पादन बढाउन सके बाहिरी जिल्लाबाट आयात हुने फूलमाथिको निर्भरता घटाउन सकिने बताउँछन्। उनका अनुसार तिहारलगायत चाडपर्वमा फूलको माग बढ्ने भए पनि स्थानीय उत्पादन पर्याप्त नहुँदा बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था छ। स्थानीय युवाले व्यावसायिक रूपमा फूल खेती गर्न थालेपछि त्यसलाई घटाउन सहयोग पुग्ने उनको विश्वास छ।
‘आफ्नै ठाउँमा फूल उत्पादन गर्न सके स्थानीय बजारको माग पूरा गर्न सकिन्छ। यसले बाहिरबाट आउने फूलको निर्भरता घटाउनुका साथै युवालाई गाउँमै रोजगारी गर्ने अवसर पनि दिन्छ’, बस्नेतले भने।
फूल खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न उत्पादन मात्रै नभई प्राविधिक ज्ञान र बजार व्यवस्थापन पनि महत्वपूर्ण मानिन्छ। यही आवश्यकतालाई ध्यानमा राखेर सम्बन्धन परियोजनाबाट फूल खेतीमा संलग्न युवाहरूलाई प्राविधिक सहयोग उपलब्ध गराइएको छ। परियोजनाबाट प्राप्त सहयोगले खेतीको व्यवस्थापन र उत्पादन प्रक्रियामा सहजता भएको सम्बन्धनका पैरवी अधिकृत जयन जोशीले बताए।
उनका अनुसार फूल खेतीलाई दिगो व्यवसाय बनाउन किसानलाई गुणस्तरीय बिउबिजनको छनोट, खेती प्रविधि, उत्पादन व्यवस्थापन र बजारसँग जोड्ने विषयमा आवश्यक ज्ञान दिनुपर्छ। प्राविधिक सहयोगले युवाहरूलाई व्यावसायिक फूल खेतीमा थप प्रोत्साहन मिलेको उनको भनाइ छ। ‘फूल खेतीमा राम्रो सम्भावना छ, तर त्यसलाई व्यावसायिक रूपमा विस्तार गर्न प्राविधिक ज्ञान, उत्पादन प्रविधि र बजार व्यवस्थापन आवश्यक हुन्छ। परियोजनाबाट उपलब्ध सहयोगले युवाहरूलाई यस क्षेत्रमा अघि बढ्न सहज भएको छ’, उनले बताए।
नेपालमा तिहार फूलको व्यापारका दृष्टिले पनि महत्वपूर्ण चाड हो। सयपत्री र मखमली फूलको माला भाइटीकाको अभिन्न हिस्सा मानिन्छ। दिदीबहिनीले दाजुभाइका गलामा माला पहिर्याउँदा फूलले चाडपर्वको शोभा बढाउँदैन, पारिवारिक सम्बन्ध र आत्मीयताको प्रतीकका रूपमा पनि स्थान पाउँछ। यही सांस्कृतिक महत्वका कारण तिहारमा सयपत्रीको माग अन्य समयको तुलनामा बढी हुने गर्छ, तर फूल खेतीको सम्भावना हुँदाहुँदै पनि यसको दिगो विकासका लागि गुणस्तरीय बिउबिजन, सिँचाइ, प्राविधिक ज्ञान र बजार व्यवस्थापनमा थप ध्यान दिनुपर्ने देखिन्छ।
चाडपर्वमा मात्रै निर्भर नभई वर्षभरि फूलको बजार विस्तार गर्न सके किसानले नियमित आम्दानी लिन सक्ने सम्भावना छ। स्थानीय सरकारले पनि फूल खेतीमा संलग्न किसानलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाको सुझाव छ।
त्यसैगरी प्लास्टिकका कृत्रिम फूलको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय स्तरमा उत्पादित प्राकृतिक फूलको प्रयोगलाई प्राथमिकता दिन सके स्वदेशी उत्पादन र स्थानीय कृषि उद्यम प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विदेशमा रोजगारी खोजिरहेका युवाका लागि कोहलपुरका यी युवाको प्रयास स्थानीय स्तरमै उद्यम गरेर आत्मनिर्भर बन्न सकिने उदाहरण बनेको छ। आफ्नै जमिनमा फूल उत्पादन गरी बजारसम्म पुर्याउने उनीहरूको प्रयासले कृषि क्षेत्रमा नयाँ सम्भावना देखाएको छ। तिहारमा दिदीबहिनीले दाजुभाइलाई पहिर्याउने सयपत्री माला तयार पार्न सुन्दरबस्तीका युवा अहिले फूल टिप्ने र बजार पुर्याउने तयारीमा छन्। उनीहरूका खेतमा फुलेका सयपत्रीले यस वर्ष धेरै दाजुभाइका गलामा सजिने अवसर पाउनेछन्। फूलसँगै स्थानीय युवाको मेहनत, उद्यमशीलता र आफ्नै ठाउँमा केही गर्ने चाहना पनि बजारसम्म पुग्नेछ।
प्रकाशित: २१ कार्तिक २०८३ १२:४४ शनिबार





