तिहारमा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ। तिहारका लागि सयपत्री, मखमली, गोदावरी र विभिन्न फूल मिसाएर माला बनाउन सुरु गरिएको छ।
तिहारमा ४५ लाख सयपत्री, छ लाख मखमली, २० हजार गोदावरी र ६० हजार मिक्स माला खपत हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताए। ‘करिब ४८ करोड रुपैयाँका माला कारोबार हुने अपेक्षा छ,’ श्रेष्ठले भने, ‘तिहार नेपाली पुष्प व्यवसायका लागि ठूलो बजार हो।’
फूलका मालाको अधिकांश माग स्वदेशमै उत्पादित फूलबाट पूर्ति हुने उनले बताए। गत वर्ष व्यावसायिक रूपमा उत्पादित करिब ४० लाख सयपत्री माला खपत भएको थियो। यस वर्ष उत्पादन क्षेत्र र बजार विस्तार भएकाले सयपत्री मालाको खपत ४५ लाख पुग्ने अनुमान छ।
गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले केही क्षेत्रमा सयपत्री खेतीमा क्षति पुर्याएको थियो। त्यसका बाबजुद आन्तरिक उत्पादनबाट करिब ४० लाख माला बराबरको आपूर्ति हुने एसोसिएसनको अनुमान छ। बाँकी माग स्थानीय तथा ग्रामीण क्षेत्रमा उत्पादित फूल बजारसम्म पुर्याएर र आवश्यक परे वैकल्पिक स्रोतबाट व्यवस्थापन गर्ने तयारी भइरहेको एसोसिएसनले जनाएको छ।
तिहार नजिकिएसँगै काठमाडौं उपत्यकामा फूल तथा मालाको कारोबार बढ्न थालेको छ। यस वर्ष तिहारमा प्रयोग हुने सयपत्री, मखमली, गोदावरी र मिक्स फूलका मालाको मूल्य प्रकारअनुसार फरक रहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले सार्वजनिक गरेको औसत थोक मूल्यअनुसार सयपत्रीको एउटा मालाको मूल्य ९० रुपैयाँ र मखमली मालाको ४५ रुपैयाँ रहेको छ।
त्यस्तै, गोदावरी फूलको एउटा मालाको औसत थोक मूल्य एक हजार दुई सय रुपैयाँ र विभिन्न फूल मिसाएर तयार गरिएको मिक्स मालाको मूल्य चार सय रुपैयाँ रहेको छ। यी मूल्य थोक कारोबारका औसत मूल्य हुन्। उपभोक्ताले खुद्रा बजारमा खरिद गर्दा भने पसल, स्थान र मागअनुसार मूल्य फरक पर्न सक्छ।
किसानले उत्पादन गरेको सयपत्री फूल थोक व्यापारीलाई प्रतिकिलो दुई सयदेखि तीन सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्। केही उत्पादकले प्रतिकिलो आठ सय रुपैयाँसम्ममा सयपत्री फूल बिक्री गर्ने गरेका छन्।
मखमली फूलको एउटा माला किसानले थोक व्यापारीलाई करिब २३ देखि २४ रुपैयाँमा बिक्री गर्ने गरेका छन्। किसानबाट थोक व्यापारी र खुद्रा विक्रेतासम्म पुग्दा ढुवानी, श्रम तथा अन्य खर्च जोडिने भएकाले उपभोक्ताले खरिद गर्ने मूल्य फरक पर्छ। तर, तिहारमा माग धेरै हुने भएकाले महँगो पर्छ। तिहारमा काठमाडौं महानगरपालिकाले फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्र ३३ स्थान तोकेको छ।
महानगरले नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलंकी, माछापोखरी, महाराजगन्ज, गोंगबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्युरोन लगायतका क्षेत्रमा बिक्री स्थल तोकेको छ।
त्यस्तै, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिने महानगरले जनाएको छ।
नेपालमा फूलखेतीको विस्तारसँगै पुष्प व्यवसायको आर्थिक आकार पनि बढ्दै गएको छ। एसोसिएसनको तथ्यांकअनुसार देशका सातै प्रदेशका विभिन्न जिल्लामा सयपत्रीको व्यावसायिक खेती भइरहेको छ।
प्रारम्भिक सर्वेक्षणले मात्रै २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्री खेती भइरहेको छ। काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, झापा, इलाम, मोरङ, सुनसरी, रुपन्देही, कास्की, बाँके, दाङ र कैलालीलगायत जिल्लामा फूलखेती विस्तार भएको छ।
मखमली फूल उत्पादनमा भने नेपाल आन्तरिक माग पूरा गर्न सक्षम छ। छ लाख मखमली मालामध्ये चार लाख आन्तरिक बजारमा खपत हुने र दुई लाख माला निर्यात हुने एसोसिएसनको अनुमान छ। काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुन्डु, ललितपुरको गोदावरी–बडिखेल, धादिङ, पाल्पा, कैलाली र इलाम मखमली उत्पादनका प्रमुख क्षेत्र हुन्।
तिहारमा मालाबाहेक जीवित फूलका बोट तथा गमलाको कारोबार पनि उल्लेख्य हुन्छ। यस वर्ष ३५ लाख सयपत्रीका पोली बिक्रीबाट १० करोड ५० लाख र आठ लाख गोदावरीका गमला बिक्रीबाट छ करोड रुपैयाँ कारोबार हुने अपेक्षा गरिएको छ। यसबाट मात्रै १६ करोड ५० लाख रुपैयाँको व्यापार हुने अनुमान छ।
यसरी माला र जीवित फूलका बोट तथा गमलासमेत जोड्दा तिहार लक्षित पुष्प बजारको कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने देखिन्छ। तिहारमा प्रयोग हुने सयपत्री र मखमली मालाको ठुलो हिस्सा स्वदेशी उत्पादनले धान्ने भए पनि नेपालको समग्र पुष्प व्यवसाय भने आयातबाट मुक्त हुन सकेको छैन।
केही विदेशबाट पनि आयात हुन्छ। फूलका बिउ, बिरुवा, कट फ्लावर, बल्ब तथा अन्य पुष्पजन्य सामग्री विदेशबाट आयात हुँदै आएका छन्। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २६ करोड १३ लाख ७२ हजार रुपैयाँका पुष्प तथा पुष्पजन्य सामग्री आयात भएको थियो। गत आवमा एक करोड १५ लाख ७८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।
नेपालमा भारत, नेदरल्यान्ड्स, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्डलगायत देशबाट फूल तथा पुष्पजन्य सामग्री आयात हुने गरेको छ। विशेषगरी बजारमा मागअनुसार स्वदेशी उत्पादन पर्याप्त नहुँदा र गुणस्तरीय कट फ्लावर तथा बीउबिजनको आवश्यकता पर्दा आयातमा निर्भर हुनुपर्ने अवस्था छ।
फूलको माग र बजार विस्तारको गति उत्पादन वृद्धिभन्दा बढी हुँदा आयातको दबाब बढिरहेको छ। फ्लोरिकल्चर एसोसिएसनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको पुष्प व्यवसायको वार्षिक कारोबार तीन अर्ब ९४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६ दशमलव ९१ प्रतिशतको वृद्धि हो। यस क्षेत्रमा ५० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्।
पुष्प व्यवसायको सम्भावना बढ्दै गए पनि किसानले उत्पादनदेखि बजारीकरणसम्म विभिन्न समस्या भोग्दै आएका छन्। फूल खेतीका लागि आवश्यक गुणस्तरीय बिउ तथा बिरुवा सहज रूपमा उपलब्ध नहुनु, सिँचाइको अभाव, रोग तथा किराको प्रकोप, उत्पादन लागत बढ्नु र बजारको सुनिश्चितता नहुनु प्रमुख समस्या हुन्।
फूल छिट्टै ओइलाउने र लामो समय भण्डारण गर्न नसकिने भएकाले ढुवानी तथा बजार व्यवस्थापन पनि चुनौतीपूर्ण छ। चाडपर्वलाई लक्षित गरेर खेती गर्दा प्राकृतिक विपत्तिले उत्पादन नष्ट भए किसानले ठुलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था छ।
सरकारले पुष्प व्यवसायलाई प्राथमिकतामा राखेर उत्पादनदेखि बजारीकरणसम्म सहयोग गर्नुपर्ने व्यवसायीहरूको माग छ। फूल खेतीलाई व्यावसायिक कृषि कार्यक्रमभित्र प्राथमिकताका साथ समेटेर किसानलाई सहुलियतपूर्ण कृषि ऋण, अनुदानमा बिउबिजन तथा बिरुवा, आधुनिक खेती प्रविधि र प्राविधिक तालिम उपलब्ध गराउनुपर्ने माग छ।
त्यस्तै, प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि फूल खेतीको बाली बिमा प्रभावकारी बनाउनुपर्ने देखिन्छ। उत्पादन क्षेत्रमै संकलन केन्द्र, चिस्यान केन्द्र र व्यवस्थित बजार निर्माण तथा फूल ढुवानीमा सहुलियत दिन सके किसानले उचित मूल्य पाउनेछन्।
प्रकाशित: २१ कार्तिक २०८३ १२:१२ शनिबार





