कलाकार सन्जोग कोईरालाले सोमबार नक्सालस्थित ‘ऋ क्रिएट’ आर्ट स्टोरको दोस्रो शाखाको उद्घाटन गरेका छन्। पोखरामा दुई वर्षदेखि सञ्चालनमा रहेको यस स्टोरले नेपाली मौलिक संस्कृति, देवी–देवता र परम्परागत कलालाई आधुनिक ढंगमा प्रस्तुत गर्दै आएको छ।
स्टोरमा ५९ वटा विभिन्न कलाकृतिहरू प्रदर्शित छन्, जसमा विशेष रूपमा नेपाली देवी–देवताका आकृतिहरूलाई मोर्डन आर्टको शैलीमा चित्रण गरिएको छ।
आर्टिस्ट तथा संचालक रितेश पौडेलका अनुसार ‘ऋ क्रिएट’ का कलाकृतिहरूको माग काठमाडौंसँगै अस्ट्रेलियामा पनि उल्लेखनीय रहेको छ। यही कारण स्टोरको दोस्रो शाखा राजधानीमा विस्तार गरिएको उनले बताए।
उद्घाटन समारोहमा बोल्दै कलाकार सन्जोग कोईरालाले रितेश पौडेलजस्ता युवाहरूले नेपालमै उद्यमी बनेर रोजगारी सिर्जना गरिरहेको देख्दा गर्व महसुस भएको बताए। उनले भने, ‘युवाहरूले आफ्नै देशमा सिर्जनात्मक क्षेत्रबाट रोजगारको वातावरण बनाइरहेका छन्, यस्ता प्रयासलाई सबैले प्रोत्साहन गर्नुपर्छ।’
‘ऋ क्रिएट’ स्टोरले आगामी दिनमा नेपाली परम्परा र संस्कृति झल्किने कलालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य राखेको सञ्चालक पौडेलले बताए।
प्रकाशित: १७ कार्तिक २०८२ १८:१६ सोमबार





