२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

समीर भट्ट अभिनित चलचित्र बलिदान फुलपातीदेखि प्रदर्शनमा आउँदै

पहिलो चलचित्र ‘१२ गाउँ’बाट एक्सन अभिनेताको छवि बनाएका समीर भट्ट अभिनीत चलचित्र ‘बलिदान’ सोमबार(भोलि)देखि प्रदर्शनमा आउने भएको छ। आइतबार एभरेस्ट होटेलमा पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्र टिमले ‘बलिदान’ प्रदर्शनमा आउन लागेको जनाएका छन्। पत्रकार सम्मेलनमा चलचित्रमा अभिनय रहेका लगभग सबै कलाकार, निर्माता, निर्देशकलगायतको उपस्थिति थियो। 

बहुप्रतिक्षित बलिदान बनाउन करिब तीन वर्षको लामो समय लागेको थियो। यो चलचित्रको निर्माणका लागि निर्माताले ६ करोड लागत लागेको बताइएको छ। 

समीर भट्टको चलचित्र भन्दै चर्चा कमाएको बलिदानको निर्देशन सन्तोष सेनले गरेका हुन्। यो चलचित्रको निर्माता पनि स्वयं सेन नै हुन्।

निर्देशक सेनले पत्रकार सम्मेलनमा समीरलाई ‘एक्सन किंग’को उपाधि नै दिए। सञ्चारकर्मीले समीरको अभिनयबारे प्रश्न गर्दा सेनले समीर एक्सन किंगको उपमाको हकदार रहेको दाबी गरे। 

चलचित्र छायांकनका क्रममा एक्सन सिन लिने बेला समीरको खुट्टा मर्किएको समेत निर्देशक सेनले खुलासा गरे। ‘समीरले खुट्टा मर्किदा पनि छायांकन नरोकी काम अगाडि बढाउन सघाएका थिए,’ उनले भने। 

निर्देशक सेनले चलचित्रको ५० देखि ६० प्रतिशत टिकट बिक्री भइसकेको दाबी गरे। ‘हामीलाई विश्वास छ, यो मुभीले धमाकेदार सुरुवात गर्नेछ र दर्शकले चलचित्र मन पराउनेछन्,’ उनले भने। 

शनिबार बलिदानको तेस्रो गीत ‘बांगा बांगा’ सार्वजनिक भएको थियो। जसको एक दिनमा एक लाख ६० हजारले हेरिसकेका छन्। जसले चलचित्रप्रति दर्शकको लोकप्रियताको अनुमान गर्न सकिने निर्देशक सेनले बताए। 

बलिदानमा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका अभिनय छ। 

आँसु सेनको फिल्म प्रोडक्शन प्रालिको ब्यानरमा बनेको चलचित्र देशप्रतिको माया, आमाको माया, माटोको मायाका कथावस्तुमा तयार पारिएको छ।

भोलि नै बलिदानसँगै ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ पनि प्रदर्शनमा आउन लागेका छन्। 

प्रकाशित: १२ आश्विन २०८२ १६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App