बालबालिका तथा युवाहरूको आवाजलाई बुलन्द पार्ने उद्देश्यले युनिसेफले युनिसेफ क्लाइमेट सिनेमा अभियान सम्पन्न गरेको छ। सोमबार सम्पन्न उक्त सम्मेलनले कोप ३० सम्म पुर्याउने उद्देश्यले सिनेमा अभियान सम्पन्न गरेको हो।
जलवायु समाधानको केन्द्रमा बालबालिका हुनुपर्छ भन्ने सशक्त सन्देशका साथ अभियान सम्पन्न भएको छ। गत दुई सातामा क्लाइमेट सिनेमा अभियान नेपालका विभिन्न भाग सुदूरपश्चिमको धनगढी उपमहानगरपालिका, कर्णाली प्रदेशको पञ्चपुरी नगरपालिका, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, मधेस प्रदेशको पर्सा गाउँपालिका हुँदै राजधानीमा समाप्त भएको हो।
बालबालिको साहस, सिर्जनशीलता र नेतृत्वको प्रशंसा गर्दै यो यात्रालाई उत्सवका रूपमा मनाइएको थियो। फिल्म प्रदर्शन, अन्तरक्रियात्मक छलफल र बालबालिका, अगुवाइमा स्थानीय जलवायु गतिविधि सम्पन्न गरिएको छ।
जलवायु गतिविधिमार्फत बाढी, सुक्खा, खडेरी र पहिरोको बिचमा हुर्किरहेका बालबालिकाका वास्तविक अनुभव उजागर गरेको छ। साथै समुदाय जोगाउन र परिवर्तनका लागि प्रेरित गर्न उनीहरूको दृढ संकल्पलाई पनि प्रदर्शन गरिएको छ। ‘गत वर्ष अत्यधिक वर्षाका कारण राम्रो शिक्षा प्राप्त गर्न मेरो गाउँ कालिकोट छाडेर राजधानी आएको हुँ’, जयन्ती बमले भनिन्।
उनले थप्दै भनिन, ‘जलवायु परिपर्तनले मेरो पढ्ने अधिकारलाई असर पुर्याइरहेको छ।’
जयन्ती समापन कार्यक्रम आयोजना गरिएको श्री गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको इको क्लबकी अध्यक्ष हुन्। उनले भनिन्, ‘हामी बालबालिका जलवायु परिवर्तनपीडित मात्र होइनौं, हामीसँग विचार र समाधान पनि छन्। हामी परिवर्तनको अंशियार बन्न तयार छौं।’
बमले बालबालिका आफैंले निर्णयकर्ताहरूले हाम्रा कुरा सुन्न र हाम्रो भविष्य सुरक्षित गर्न हामीसँगै मिलेर काम गर्नुपर्ने र बालबालिका जलवायु समाधानको केन्द्रमा हुनुपर्ने बताइन्।
कोप– ३० सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार समापन कार्यक्रमका प्रमुख अतिथिका रूपमा सहभागी थिए।
मन्त्री परियारले जयन्तीलगायत देशभरका बालबालिका र युवाहरूको आवाज र सिफारिसहरू समेटिएको विशेष प्रतिवेदन र प्रादेशिक र राष्ट्रियस्तरका स्थानीय युवा सम्मेलन र देशभरका पाँच सय बालबालिकाले तयार पारेका वक्तव्य एवं घोषणापत्र ग्रहण गरे।
बालबालिका तथा युवाहरूले जलवायु परिवर्तनका लागि उठाएका मागलाई सबै कार्य क्षेत्रमा समाहित गर्ने र महत्त्वपूर्ण आवाजलाई कोप ३० सम्मेलनसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे। स्थानीय युवा सम्मेलन नेपाल, पावरसिफ्ट नेपाल, नेपानिज युथ फर क्लाइमेट एक्सन तथा अन्य युवा संस्थाहरूको नेतृत्वमा युनिसेफ, युएनडिपी तथा अन्य साझेदारको सहकार्यमा आयोजना गरिएको थियो।
मन्त्री परियारले भने, ‘सरकार प्रत्येक क्षेत्रमा जलवायु कार्यलाई एकीकृत तथा मूल प्रवाहीकरण गर्न प्रतिबद्ध छ । शिक्षा र स्वास्थ्य, पानी, सरसफाइ र सामाजिक सुरक्षालाई मूल प्रवाहीकरण गर्ने छौं।’
जलवायु परिवर्तनको असर व्यवस्थापनमा युवा तथा बाबालिकालाई समावेश गर्ने कार्यक्रममध्ये एनडिसी– ३.० रहेकाले यसमा साझेदार र बालबालिका र युवाहरूलाई सक्रिय सहभागिता गराउने प्रतिबद्धता व्यक्त गरे।
सोही क्रममा मन्त्री परियारले बालिबालिका तथा युवा जलवायु अभियानकर्तालाई हरित र सम्भावनाले भरिपूर्ण भविष्य निर्माण गर्ने सच्चा नायक बनेको बताए । उनले भने, ‘सरकार सदैव तपाईंहरूका साथमा छ।’
कार्यक्रममा नेपालस्थित युनिसेफका प्रतिनिधि श्री एलिस अकुंगाले नेपालका विभिन्न प्रदेशका बालबालिकाका वास्तविक कथा र सहनशीलताका कथा जस्तै बाढीले विद्यालय बन्द भएका अवस्थादेखि पहिरोपछि परिवारद्वारा पुनर्निर्माण, क्लाइमेट सिनेमा अभियानले समेटेको प्रस्ट पारिन्।
‘जलवायु परिवर्तन केवल वातावरणीय समस्या मात्र होइन, यो बालअधिकारमाथिको संकट पनि हो। यसले बालबालिकाको बाँच्ने, बढ्ने र फस्टाउने अधिकारलाई खतरामा पुर्याउँछ’, उनले भनिन्।
जलवायु परिवर्तनबाट जसरी बालबालिका प्रभावित हुन्छन् त्यसरी नै उनीहरूमा परिवर्तन ल्याउने शक्ति पनि रहेको उनको भनाइ थियो। अकुंगाले भने, ‘युनिसेफ जलवायुसम्बन्धी शिक्षा प्रवद्र्धन गर्न र जलवायु उत्थानशील सामाजिक सेवा सुदृढ बनाउन नेपाल सरकारसँग मिलेर काम गर्न निरन्तर प्रतिबद्ध छ।’
संघीय, प्रादेशिक र स्थानीय सरकार, विद्यालय र युवा सञ्जालहरूको सहयोगमा आयोजित क्लाइमेट सिनेमा अभियानले बालबालिकाका कथा र समाधानले कक्षाकोठा र समुदायदेखि कोप ३० सम्मका राष्ट्रिय र विश्वव्यापी जलवायु नीतिहरूमा स्थान पाउनुपर्छ भन्ने पैरवी गरेको छ। विभिन्न प्रदेशका समुदायमा पुगेर यस अभियानले बालबालिकाले सामना गरेका चुनौती र अनुकूलन तथा उत्थानशीलताका लागि उनीहरूले विकास गरेका सिर्जनशील उपाय पनि उजागर गरेको छ।
प्रकाशित: २६ कार्तिक २०८२ ११:१८ बुधबार





