बलिउड अभिनेता सैफ अलि खानले जनवरी २०२५ मा आफ्नै घरमा भएको ज्यानमार्ने आक्रमणबारे पहिलो पटक विस्तृत रूपमा मोजो स्टोरीमा अन्तवार्ता दिएका छन्।
उनका अनुसार, राति एक व्यक्ति बाथरुमको झ्यालबाट घरभित्र प्रवेश गरेका थिए। कोठामा चक्कु बोकेको एक व्यक्ति रहेको र उसले पैसा मागिरहेको घरमा काम गर्ने महिला कर्मचारीले जानकारी दिएकी थिइन्।
सैफ तुरुन्तै बच्चाहरूको कोठामा पुगे। सैफले त्यतिबेलासम्म आक्रमणकारीलाई रोक्ने प्रयास गर्दा दुवैबीच झडप भयो र आक्रमणकारीले पूरै शक्तिले चक्कु प्रहार गर्यो।
सैफले भने, चक्कुको करिब ६ इन्च लामो टुक्रा उनको ढाडमा अड्किएको थियो, जुन मेरुदण्ड नजिकै पुगेको थियो। उनका अनुसार त्यसबेला एउटा खुट्टा सुन्निएको थियो र आफू पक्षाघात ९प्यारालाइसिस० हुने अवस्थाको निकै नजिक पुगेका थिए। सेतो कुर्ता रगतले पूर्ण रूपमा रातो भएको र आफू बाँच्न नसक्ने जस्तो लागेको उनले बताए।
सैफले नेपाली घरेलु सहयोगी गीताले साहस देखाउँदै आक्रमणकारीलाई जोडले धकेलेर टाढा पारेको पनि बताए। साथै, उनले अहिले आफू उक्त आक्रमणकारीलाई माफ गर्न तयार रहेको पनि उल्लेख गरे।
उक्त घटना १५ जनवरी २०२५ हो। त्यसबेला उनी गम्भीर घाइते भए पनि आफै छोरासँग अटो चढेर अस्पताल पुगे। चिकित्सकीय प्रतिवेदनअनुसार उनको ढाड, नाडी, घाँटी, काँध र कुहिनोमा चक्कुका धेरै चोट थियो।
उपचारपछि उनलाई २१ जनवरी २०२५ मा अस्पतालबाट फिर्ता पठाइयो। उक्त घटनामा बंगलादेशी नागरिक शरीफुल इस्लामलाई प्रहरीले पक्राउ गरेका थिइ, भने मुद्दाको कानुनी प्रक्रिया जारी छ।
प्रकाशित: १३ असार २०८३ १८:३४ शनिबार





