बलिउड चलचित्र निर्देशक रोहित शेट्टीलाई लरेन्स ग्याङको नाममा २० करोड भारु फिरौती माग्दै धम्की दिइएको छ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार शनिबार बिहान रोहितका स्टाफले करिब ९० सेकेन्डको अडियो क्लिप प्राप्त गरेका थिए। उक्त अडियोमा रकम नदिए यस पटक रोहित शेट्टीलाई नै निशाना बनाइने चेतावनी दिइएको बताइएको छ।
प्रहरीका अनुसार अडियोमा शुभम लोणकरको आवाज हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उनी नेता बाबा सिद्दीकी हत्या प्रकरण तथा फेब्रुअरी २०२६ मा रोहित शेट्टीको घर बाहिर भएको गोलीकाण्डका वान्टेड अभियुक्तमध्ये एक हुन्। अडियोलाई थप अनुसन्धानका लागि फरेन्सिक परीक्षणमा पठाइएको छ।
यसअघि ३१ जनवरीको राति मुम्बईको जुहूस्थित रोहित शेट्टीको घर बाहिर पाँच राउन्ड गोली चलाइएको थियो। उक्त घटनाको जिम्मेवारी पनि कथित रूपमा लरेन्स ग्याङले लिएको दाबी गरिएको थियो। घटनामा संलग्न आरोपीलाई पछि आगराबाट पक्राउ गरिएको थियो।
यस गोलीकाण्ड सम्बन्धी अनुसन्धानपछि प्रहरीले १,६२४ पृष्ठको आरोपपत्र दायर गर्दै १५ जनालाई आरोपी बनाएको छ भने केही अभियुक्त अझै फरार रहेका छन्।
हाल यस नयाँ धम्कीको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अडियोको वास्तविकता र त्यसमा रहेको आवाजको आधिकारिक पुष्टि फरेन्सिक परीक्षणपछि मात्र हुनेछ।
प्रकाशित: १४ असार २०८३ ११:२४ आइतबार





