२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

५० वर्षे व्यक्तिको असाधारण यात्राको कथा ‘रोड टु एभरेस्ट’

 ५० वर्ष नाघेका व्यक्तिको असाधारण यात्रा को कथा  ‘रोड टु एभरेस्ट’ को फस्ट लुक पोस्टर तथा अफिसियल टिजर सार्वजनिक भएको छ। यस वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्राको कथा प्रस्तुत गर्छ।  

५० वर्ष नाघेका एक व्यक्तिले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई वृत्तचित्रले संवेदनशील ढंगले प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ।

वृत्तचित्रले सगरमाथाको भव्यता मात्र होइन, आरोहणको जोखिम, शेर्पा समुदायको अथक योगदान, मानव साहस र जलवायु परिवर्तनका कारण बदलिँदै गएको हिमाली वातावरणलाई पनि गहिराइका साथ प्रस्तुत गरेको छ। यसले सगरमाथालाई केवल एउटा हिमालका रूपमा होइन साहस र अठोटको प्रतीकका रूपमा व्याख्या गर्ने प्रयास पनि गरेको छ।

निर्मल श्रेष्ठको निर्देशनमा निर्माण भएको ‘रोड टु एभरेस्ट’ मा किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा तथा निमा ग्याल्जेन शेर्पा आरोहीको रुपमा देखिनेछन्। यो यात्रामा विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ पनि वृत्तचित्रका महत्वपूर्ण पात्रका रूपमा देखिनेछन्।

निर्माण टिमका अनुसार ‘रोड टु एभरेस्ट’ को पहिलो नेपाल प्रिमियर भदौ ६ मा काठमाडौं र अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ मा हङकङबाट सुरु हुनेछ। त्यस लगत्तै वृत्तचित्रलाई नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय मञ्च तथा सिनेमा हलहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ।

यस वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन् । कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको सगरमाथासम्बन्धी यो नै पहिलो डकुमेन्ट्री भएको निर्माणपक्षको दाबी रहेको छ। वृत्तचित्रको अवधि ५० मिनेट रहेको छ।

प्रकाशित: २२ श्रावण २०८३ १४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App