साँझको धमिलो उज्यालोसँगै सगरमाथा आरोहीहरूको थामे गाउँ बिस्तारै आँखाअघि खुल्दै जान्छ। ढुंगाले घेरिएका बारीहरू, माथि पहाडको काखमा शान्त उभिएको पुरानो गुम्बा र बिजुलीको मधुरो उज्यालोले निथ्रुक्क नुहाइरहेको गाउँ– सबैले मिलेर थामेलाई स्वर्गको सानो टुक्राजस्तै देखाइरहेका छन्। कतै निलो जस्ताले छाइएका छाना छन्, कतै ढुंगाका पुराना घरहरू आफ्नै इतिहास बोकेर उभिएका छन्। हामी हिँडिरहेका मात्रै छैनौं, मानौं खुम्बुको इतिहासभित्रै बिस्तारै पौडिरहेका छौं। पाइलाहरू थाकेका छन्, सास पनि उकालोले छोट्याइदिएको छ तर मन भने यो साहसी गाउँको दर्शनले गर्वले फुलेको छ।
म विस्मित हुँदै भन्छु -‘मामा दाजु, यो त साँच्चै उपत्यकाको काखमा बसेको जीवित इतिहास पो रहेछ ! चारैतिर हिमाल, बीचमा गाउँ, माथि गुम्बा– कस्तो लोभलाग्दो !’
मामा दाजु (स्थानीयसोनाम शेर्पा) मुस्कुराउँदै माथितिर औंला ठड्याउँछन्– ‘हो भान्जा, त्यो भिरमा टाँसिएझैं देखिएको चाहिँ थामे गुम्बा हो। धेरै पुस्तादेखि यसले यो उपत्यकालाई हेरिरहेको छ। यहाँका मानिसहरू त यसलाई गाउँको रक्षककै रूपमा मान्छन्।’
गाउँभित्र नजिकिँदै जाँदा बिस्तारै बुझिन्छ - थामेगाउँ शेर्पाहरूको बासस्थान मात्र रहेनछ। यहाँका घर, होटल, ढुङ्गा, बारी, बाटा, लुङ्दर र गुम्बाले धर्मलाई मात्र होइन, जीवनलाई नै समातेका रहेछन्। हिँडिरहेका, बसिरहेका र उमेर ढल्कँदै गरेका केही शेर्पाहरूका हातमा जपमाला देखिन्छन्। उनीहरू त्यसलाई बिस्तारै घुमाउँदै, मन्त्र जप्दै आफ्नो श्रद्धालाई निरन्तरता दिइरहेका हुन्छन्।
‘पहिले हामी थामे जाँदा पर्यटकको झोला होइन, नुन र ऊनका भारी बोकेर जान्थ्यौं,’ उनी ती दिन सम्झँदै भन्छन् -‘आज बाटो फराकिलो र सजलो भएको छ साथै यात्राको कारण पनि बदलिएको छ।’
हामी गुम्बाको आँगनमा पुग्दा हावामा टाँगिएका लुङ्दरहरू फर्फराइरहेका छन्। गुम्बाको रातो रङ र सेता भित्तामा हिमालको छाया प्रतिविम्बित भएको छ। यस दृश्यमा एक प्रकारको आध्यात्मिक शान्ति मिसिएको छ, जसले मनलाई स्वतः विनम्र बनाइदिन्छ।
गुम्बाको ढोकाअघि पुगेर म सोध्छु - ‘मामा दाजु, गाउँको बीचमा गुम्बा हुनुको अर्थ के हो?’
मामा भन्छन् -‘गुम्बा पूजा गर्ने ठाउँ मात्र होइन, भान्जा। यहाँबाट पर्वको दिन तोकिन्छ, लामागुरु बोलाइन्छ, गाउँको दुःख–सुखमा प्रार्थना गरिन्छ। बच्चाले संस्कार सिक्ने र बुढाले स्मृति जोगाउने ठाउँ पनि यही हो।’
यार्बु भाइ थप्छन्– ‘त्यसैले थामेको गुम्बा गाउँको रक्षकजस्तो मानिन्छ हैन त मामा दाजु ?’
‘हो’ मामा मामा दाजु भन्छन्– ‘गुम्बा ढुङ्गाको भवन होइन, गाउँको सामूहिक मन पनि हो।’
मामा दाजु गुम्बातिर नियाल्दै पुनः भन्छन् - ‘हो भान्जा, थामे त खुम्बुको आत्मा हो। त्यहाँको पुरानो गुम्बामा जब मणि रिम्डु पर्व लाग्छ नि, पूरै उपत्यका देवताहरूको बगैँचा बनेजस्तो लाग्छ। ‘मणि रिम्डु बाहेक अरू कुन पर्व विशेष मानिन्छ ?’ म सोध्छु।
मामा दाजु तुरुन्तै भन्छन्– ‘डुम्जी। यस पर्वमा गाउँका मानिस आफ्नै घरका पाहुना हुँदैनन्, एकअर्काका आफन्त हुन्छन्। पूजा, भोज, भेटघाट र नाचगानले गाउँलाई फेरि एउटै परिवारजस्तो बनाउँछ।’
‘सबै खर्च कसले गर्छ?’
‘गाउँलेले मिलेर। पर्वको असली अर्थ खर्च धेरै गर्नु होइन, कसैले एक्लै नबसोस् भनेर सबैलाई एउटै घेरामा ल्याउनु हो।’
डुम्जी, थामेलगायत खुम्बुका केही गाउँमा मनाइने परम्परागत पर्व भएको अभिलेख छ।
गुम्बाको प्राचीन ढोकामा हात राख्दै म भन्छु - ‘मामा दाजु, यहाँ त कस्तो अनौठो शान्ति रहेछ ! यो गुम्बाको बनावटले त इतिहास आफैँ बोलिरहेको जस्तो लाग्छ।’
मामा दाजु भन्छन् - ‘भित्र जानुस् त भान्जा। त्यहाँका मूर्ति र थांका चित्रहरू हेर्दा लाग्छ - हाम्रा पुर्खाको गौरव तिनमा झल्किएको पाइन्छ। हाम्रा आरोहीहरू पनि यहाँ आएर आशीर्वाद लिन्छन्।’
यार्बु भाइ भन्छन्-‘दाजु, माथि हेर्नुस् त ! घामको अन्तिम झुल्को थाम्सेर्कुको शिरमा ठ्याक्कै परेको छ। जस्तै हिमालले सुनको मुकुट लगाएजस्तो।’
आफूलाई पनि यो दृश्य अति मनपर्ने बताउँदै मामा भन्छन्– ‘हामी अलि छिटो पुगेकाले गुम्बाको छानोमा ठोक्किएर फर्किएको साँझको घामको झुल्को पनि देख्न पाइयो। म पनि धन्य भएँ भान्जा।’
टोपी फुकालेर त्यो भव्यतालाई एकसरो नियाल्छु। त्यसपछि टाउको झुकाएर श्रद्धापूर्वक ढोग्छु। मेरो नियात्राको डायरीमा यो क्षण सुनौलो अक्षरले लेखिनेछ भन्ने अनुभूति मनभित्र गहिरिँदै जान्छ।
थामेमा पुगेपछि यहाँको आतिथ्यले पनि मन जित्न थाल्छ। यार्बु भाइ मलाई सम्झाउँछन्– ‘यहाँका होटलहरू आफ्नै संसार हुन्। डाइनिङ हलमा ठूलो चिम्नीमा आगो दन्दनी बलिरहेको हुन्छ। आगो ताप्दै देश–विदेशका यात्रुहरू आआफ्ना कथा साटिरहेका हुन्छन्। यही नै थामेको अर्को न्यानोपन हो।’
थामेको आलुको परिकार, भीरमौरीको मह र स्थानीयको निष्कलुष मुस्कान– यी सबैले दिनभरिको थकाइलाई चुपचाप बिसाइदिन्छन्। सानो बस्ती, तर कति ठूलो शान्ति !
फर्किने बेला खुन्देका स्थानीयले भनेको कुरा फेरि सम्झिन्छु– ‘थ्याङ्बो जस्ता साना बस्तीहरू नछुटाउनु है।’
साँच्चै, ढुंगाले घेरिएका साना बारी, सन्नाटामा टोलाइरहेका घरहरू र त्यो अद्भुत शान्ति– यी सबै त सहरले कहिल्यै दिन नसक्ने यहाँका वरदानहरू रहेछन्।
थामेको आलुको स्वाद चाख्दै गर्दा मलाई लाग्छ– यो साधारण आलु मात्र होइन रहेछ। स्थानीयको भनाइअनुसार सय वर्ष अघि नै खुम्बुमा आलु खेती फैलिँदै गएपछि उच्च हिमाली कृषि र भोजन संस्कृतिको महत्त्वपूर्ण आधार बनेको मानिन्छ। चिसो हावापानी र कठोर भूगोलमा आलुले जन्माएको यो संस्कृति र आत्मीयता थामेको जीवनको महत्त्वपूर्ण परिचय रहेछ।
अब थामेगाउँ मनभित्रै बोकेर हामी नाम्चेतिर फर्किने बाटो समात्छौं। क्षितिजपारि नाम्चेका बत्तीहरू टाढाबाट ताराजस्तै टिल्पिल टल्किन थालिसकेका छन्।
यार्बु भाइ मुस्कुराउँदै सोध्छन्– ‘दाजु, थामे कस्तो लाग्यो ?’
म केहीबेर चुप लागेर, भित्रैदेखि उठेको भावलाई शब्दमा उतार्ने प्रयास गर्दै भन्छु– ‘थामे पुगेको होइन भाइ, थामेलाई मनभित्रै बोकेर फर्किएको जस्तो लागिरहेको छ। म अहिले शब्दविहीन भएको छु।’
मामा दाजु गहिरो स्वरमा भन्छन्– ‘यही हो भान्जा, जो थामे पुग्छ, ऊ अलिकति साहस आफ्नै मनमा राखेर फर्किन्छ।’ नाम्चेतर्फ फर्किंदा यार्बु भाइ मलाई सोध्छन्– ‘दाजु, थामेमा तपाईंलाई सबैभन्दा बढी के मन पर्यो ?’
केहीबेर सोचेर भन्छु– ‘गुम्बा, हिमाल र बाटो त सुन्दर लागे नै। तर सबैभन्दा ठूलो कुरा, यहाँका मानिसले आफ्नो संस्कृति अझै दैनिक जीवनमै बाँचिरहेका रहेछन्। अब लाग्छ, गाउँले मलाई नै केही देखाएर फर्कायो।’
मामा दाजु मुस्कुराउँछन्– ‘संस्कृति देखाउन राखिएको वस्तु होइन, भान्जा। हामीले बोल्ने भाषा, बाँड्ने खाना, गर्ने पूजा, हिँड्ने बाटो र दुःखमा एकअर्कालाई दिने साथमै संस्कृति हुन्छ।’
उनको यो वाक्यले मलाई थामेको अर्थ गहिरोसँग बुझाइदिन्छ। संस्कृति गुम्बाभित्र बन्द सम्पदा होइन रहेछ; मानिसको हिँडाइ, आतिथ्य, स्मृति र भविष्यको चिन्तासँगै चलिरहेको जीवित नदी रहेछ।
म भर्खर आएको बाटोतिर फर्किएर हेर्छु र भन्छु– ‘पहिले मैले सोचेको थिएँ, एउटा गाउँ हेरेर फर्किन्छु। साहस भनेको शिखरमा पुग्नु मात्र होइन रहेछ। भाषा, गुम्बा, बाटो, स्मृति र गाउँ जोगाउनु पनि साहस रहेछ मामाजी।’
‘अब बुझ्नुभयो भान्जा’ उनी भन्छन्– ‘थामे पुग्नेहरू दुई किसिमका हुन्छन्– कोही फोटो लिएर फर्किन्छन्, कोही कथा लिएर।’
नाम्चेको बत्ती नजिकिँदै आइसकेको छ, तर मेरो मनमा थामेको आवाज अझै टाढासम्म फैलिइरहेको छ।
मामा र यार्बुको यो वाक्य साँझको चिसो हावामा घुलिरहन्छ। उता गुम्बातिरबाट आएको ढ्याङग्रोको मन्द ध्वनि वातावरणलाई कोलाहलमय बनाउँदैन, बरु झन् शान्त र गम्भीर बनाइदिन्छ। आकाशमा अँध्यारो बिस्तारै बाक्लिँदै जान्छ, तर मेरो मनभित्र भने थामेको उज्यालो अझै निभेको छैन।
थामेको साहस अब मेरो लागि केवल सगरमाथा चढ्ने साहस रहेन। त्यो त पुर्खाको बाटो जोगाउने, गुम्बाको प्रार्थना बचाइराख्ने, बदलिँदो पर्यटनसँग आफ्नो संस्कृति मिलाउने र बाढी–पहिरो तथा पग्लिँदो हिमतालबीच गाउँको भविष्य जोगाउने साहस पनि रहेछ।यसका साथै सगरमाथा चढ्नेहरू थामेका नायक हुन् तर थामेलाई जोगाइरहने प्रत्येक गाउँले पनि त्यत्तिकै ठुलो साहसी हो।
मामा दाजुको अनुभवले निथ्रिएको ज्ञान र यार्बु भाइको भविष्यप्रतिको प्रतिबद्धता देख्दा मलाई लाग्छ– हिमालको सुगन्ध तबसम्म जीवित रहिरहनेछ, जबसम्म यहाँका मानिसहरूले आफ्नै माटो, आफ्नै संस्कृति र आफ्नै प्रकृतिको महिमा गाउन छाड्ने छैनन्। थामेबाट फर्किंदा मैले आरोहीहरूको गाउँ मात्र हेरेर आएको छैन, स्थानीय साहस, श्रद्धा, श्रम, परिवर्तन र सरलताको एउटा उज्यालो अनुभव हृदयमा बोकेर फर्किएको छु। हामी तीन जनाका पाइला नाम्चेतिर बामे सर्दैछन्, तर थामे– हिमाल, साहस र शान्तिसहित मेरो मनको भित्री कुनामा स्थायी बास बसिसकेको छ।
झमक्क हुँदै गएको साँझमा गफकै सुरमा हामी कति छिट्टै नाम्चेको पश्चिम पाटोमा आइपुगेछौं, पत्तै हुँदैन। हिमालका टाकुरामा अब घामको सुनौलो स्पर्श होइन, टहटह जूनको शीतल हात मात्र बाँकी छ।
सामुन्ने नाम्चे बजारको झिलिमिली दृश्यले एक्कासी अर्कै संसारमा आइपुगेको जस्तो लाग्छ। म चिन्तित स्वरमा भन्छु– ‘जाऔं, अब अझै छिटो पाइला बढाऔं। नाम्चे त सुतिसकेको जस्तो छ। आज एक गाँस भात र एक झप्को निद्रा पाउन पनि हम्मे पर्ला कि !’
‘धन्दा मान्नु पर्दैन बाबु, हामी पाहुनाले नाम्चेमा भोकै पर्नु पर्दैन,’ मामा दाजुको आश्वस्त स्वर अँध्यारोमा पनि उज्यालो बनेर बाटो देखाउन उद्दत रहन्छ।
साँच्चै, हामी नाम्चे पुग्दासम्म होटलहरू सुनसान भइसकेका छन्। दिनभरिका नाचगान, खानपिन र भेटघाटका कार्यक्रम सकिएर मानिसहरू निद्रादेवीको काखमा लुटुक्क परेका छन्। चिसो रातमा नाम्चेको बासमा पुग्दा मेरो झोलामा जडीबुटीसम्बन्धी जानकारी मात्र छैन, मनभरि सिंगो हिमालको संस्कृति, थामेको साहस र शेर्पा दाजुको आत्मीय न्यानोपन पनि सञ्चित भइसकेको छ।
रात गहिरिँदै जाँदा थाकेका पाइला नाम्चेको ओछ्यानमा बिसाउँछु, तर मन भने अझै थामेकै उकालोमा अल्झिरहन्छ। शेर्पासँग गफिँदै हिँडेको बाटो सकिए पनि, उनका शब्दहरू, थामेको शान्ति र हिमालको सुगन्ध भने मेरो अन्तर्मनमा लामो समयसम्म गुन्जिरहनेछन्।
प्रकाशित: ७ कार्तिक २०८३ ११:१९ शनिबार





