२४ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

परिणाम

लघुकथा

‘विदुषी, तेरो कवितासङ्ग्रह मैले पढें नि। गजब लाग्यो। विद्रोहका स्वरहरू कसरी उछाल्न सके कि? विम्ब र शैली पनि उत्कृष्ट छ।’ मानुषीले छोटो टिप्पणी गरी।

‘मसँग विद्रोही चेत छ। असमानता र अन्यायविरुद्ध मेरो कलम विद्रोह गर्छ। पाठक प्रतिक्रिया सम्पतिको रूपमा ग्रहण गरेकी छु। कवितालाई अझै कलात्मक बनाउने मेरो ध्येय छ, मानुषी।’ विदुषीले उत्तेजित हुँदै जवाफ फर्काई।

विदुषी कविता लेख्छे। मानुषी राजनीति गर्छे। विदुषीका बुबा चर्चित लोकगायक हुन् भने मानुषीका बुबा कहलिएका समाजसेवी हुन्।

विदुषी र मनुषीको पारिवारिक पृष्ठभूमि फरक भए पनि उनीहरूको विचारले मिल्छ। आस्थाको दृष्टिकोणले उनीहरू प्रगतिशील कित्तामा छन्। मार्क्सवादी दर्शनबाट दीक्षित विदुषी र मानुषी वर्गीय मुक्तिको पक्षमा वकालत गर्छन्। जातीय उत्पीडनविरुद्ध खुलेरै बहस गर्छन्।

नारी अधिकारको प्राप्ति र आन्दोलनप्रति जमेरै तथ्यपरक तर्क प्रस्तुत गर्छन्। वाक्पटुतामा खप्पिस उनीहरू मान्छेको मनस्थितिको चिरफार गर्न सक्छन्। दासत्वबाट मुक्ति प्राप्ति नै उनीहरूको प्रमुख उद्देश्य हो।

उद्देश्य प्राप्तिका लागि चुनावमा जानै पर्ने हुन्छ। मानुषी संघीय सांसदको उमेद्वार हो। मानुषीको चुनाव प्रचारप्रसारमा विदुषी कम्मर कसेर लागेकी छन्। त्रिकोणात्मक भिडन्त हुने ठानिएको उक्त चुनाव जित्नै पर्ने दबाबमा छे मानुषी।

सर्वेक्षणले मानुषीको पल्ला भारी देखाए पनि परिणाम नआएसम्म ढुक्क हुने अवस्था छैन। निर्वाचन सम्पन्न भै मतगणना जारी छ। प्रारम्भिक गणनामा मानुषीले अग्रता लिएकी छन्। अग्रता कायमै रहन सके मानुषीको जित पक्का छ। नारी आन्दोलनलाई उचाइमा पुर्‍याउन मानुषीले महत्त्वपूर्ण भूमिका खेल्न सक्छिन्। दबेको नारी आवाज उजागर गर्न सक्छिन्।

सकारात्मक परिणामको आशा गरौँ। अन्तिम मत परिणाम पर्खनुको विकल्प छैन।

के मतदाताले उचित विकल्प रोजे होलान् त?

प्रकाशित: २४ श्रावण २०८३ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App