१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘रङ्गभेद’ लघुकथाको सन्दर्भ

पुस्तक

यशस्वी साधक रमेश विकल एवम् सुशीला चालिसेका सुपुत्र महेन्द्र चालिसेको जन्म २०१७ ज्येष्ठ २७ गते विहीवार गोकर्णेश्वर ८, आरुबारी काठमाडौँमा भएको हो। स्वतन्त्र पत्रकारको रूपमा स्थापित महेन्द्र चालिसे वर्तमान समयमा एक चर्चित साहित्यकारको रूपमा स्थापित भएका छन्।

अनेक संस्थासँग सम्बद्ध चालिसेका ‘नेपालमा खेलकुदको इतिहास’ का साथै बालसाहित्यमा सात कृति प्रकाशित छन्। ‘अर्थहीन बलिदान’ (कथासङ्ग्रह, २०७४), ‘रङ्गभेद’ (लघुकथासङ्ग्रह, २०८२) दुई कथाकृति प्रकाशित छन्।

यसैगरी पाँच महादेश छिचोल्दै (२०७६), मन्दिर मन्दिर डुल्दै (२०७९) र लेकबेँसीका सुगन्ध (२०८१) तीन नियात्रासङ्ग्रह प्रकाशित छन्। उनकाे भर्खरै ‘रङ्गभेद’ लघुकथा प्रकाशित भएकाे छ।

लघुकथा कृतिको शीर्षक ‘रङ्गभेद’ यसै सँगालोअन्तर्गत राखिएको कथा हो। प्रवेश पात्र विदेश गएको सन्दर्भमा नाइजेरियाको अब्राहम कमाराले एयरपोर्टमा स्वागत गरेको छ। रङ्गभेदनीतिसम्बन्धी पाँचदिने कार्यक्रममा नेपालबाट भाग लिन गएका व्यक्ति प्रवेशसँग त्यहाँ गोराकाला सबै भएकाले संसारमा गोराकाला सबै प्रकारका मानिस मात्र होइन अनेक विषय हुन्छन् वा समाजका हरेक सन्दर्भमा अर्थात् जे कुरामा पनि रङ्गभेद देखिने अभिव्यञ्जनात्मक शीर्षकबाट अभिव्यक्त भएजस्तै अरू विषयमा पनि देखिने सङ्केत गरिएको छ। अर्थात् व्यञ्जनामूलक शीर्षक सार्थक छ। यो कथा पनि केही लामा लघुकथामध्येको एक कथा देखिन्छ।

समीक्षक /साहित्यकार ठाकुर शर्मा भण्डारी

समाजका हरेक विषयमा रङ्गभेद, कर्मचारीतन्त्रमा रहेको भेद, राजनीतिककर्मीमा रहेको भेद, संस्कार–संस्कृतिमा देखिएको विभेद, आयातीत संस्कृतिले पारेको विभेद वा शिक्षा, धर्म जस्ता अनेक कुराको रङ्गभेद सङ्केतात्मक रूपमा हरेक कथाको विषयवस्तु समेटिएको छ।

(क) मौलाएको साहित्य, आयातीत संस्कृति, नियत, भाषा र अर्थ, बुढापाकाको हप्काइ, कार्यक्रम, पुस्तान्तरण, भिन्नता, समय पाँच मिनेट आस्था जस्ता शीर्षक कथाले साहित्य, संस्कृति, परम्परा र नारीगोष्ठीको विषयमा भए–गरेका सामाजिक विभिन्नतालाई सङ्केत गरेर मानवीय दृष्टिकोण प्रस्तुत गरिएको छ।

(ख) तनाव, मौन, ब्रिफकेस, वैदेशिक ऋण, धर्मसङ्कट, लुकामारी, योग्य–अयोग्य, श्रमिक, सानो चोर र ठूलो चोर, जङ्गिए दाह्रीवाल बुढा, चेक एन्ड ब्यालेन्स, एकमुस्ट बधाई, भ्रष्टाचार, दुर्बलता कि चरित्र, काँठेको अर्थशास्त्र, हस्ताक्षर जस्ता कथाले आर्थिक विकृति, प्रशासनिक विसङ्गति,  मानिसहरूको नकारात्मक प्रवृत्ति, जनसेवामा बसेका व्यक्तिहरूको अहङ्कारबाट गरिएको थिचामिचो र भ्रष्टाचारले गाँजेको समाजको यथार्थ स्थिति उठान गरिएको छ।

(ग) किर्ना र सरकार, पञ्चायती भूत, मिसन

विकास र सुरक्षा, मन्त्रीको गाडी, सच्चा सर्वहारा, पुर्पुरोमा हात, जेन-जी मन्त्री, नमस्कारको मर्म, भुवनको सोच, नेताजीको भाषण,समयको व्यवस्थापन, आत्मालोचना, हेलिकप्टरको उचाइ, सरकारको खोजी, काग कराउँदै छ पीना, कोठेबैठक, बन्दखाम, जनयुद्धको विभीषिका, रहस्य, नैतिकता, ढाकछोप समिति, मीठो नारा, बफादार, कालो सीसा आदि कथाहरूले नेतृत्वको कारण मानिसले दुःख पाएको सन्दर्भ, भनाइ र गराइमा विषमता, विकृति, राजनीति गर्ने व्यक्त्विमा सेवामुखी भावना हराएको स्थिति, न्याय–कानूनमा देखिएको असमञ्जसता चिरफार गरिएको छ।

(घ) स्वैरकल्पना, मौका, पुस्तान्तरण, अन्धकारको संसार, काका कसको?, रङ्गभेद, काग कराउँदै, पाशविक मुस्कान, नक्कली डिभोर्स आदि लघुकथाले मानवीय धारणा, सामाजिक दृष्टिकोण र आफ्नै कारणले अन्धताको स्थिति पुस्ता–पुस्तामा रहेको अन्तर सम्बन्ध उजागर गरेका छन्।

(ङ) पुकुलीको भाग्य र सुत्केरीको पीडा कथामा नारीगत समस्या औँल्याइएको छ । जीवनका सन्दर्भमा नारी समस्या वा पुरुष समस्या अन्य कथामा देखिएका छन् तर यी दुई कथाले मूलतः उनीहरूले व्यहोर्नुपरेका समस्या देखाइएको छ।

कतिपय कथाका शीर्षकमा उखानको प्रयोग पनि भएको छ – काग कराउँदै..., बाहुनलाई हात्तीदान। कतैकतै व्याकरणिक दोष पनि भेटिन्छ– पासविक –पाशविक) वा पदयोग वा पदवियोग।

रङ्गभेदअन्तर्गतका लघुकथाहरूमा कतै संस्मरणात्मकताले (काका कसको?) ठाउँ पाएको छ, कतै यात्रात्मकताले ठाउँ पाएको छ भने कतिपय कथाले वैश्विक परिवेश (रङ्गभेद) पनि उद्बोधन गराएका छन्। कथाहरू धेरै सरल, सङ्केतात्मक, विम्ब र प्रतीकले सुन्दर बनाइएका छन्, धेरै कथामा अभिव्यञ्जनात्मक कथनशैलीले लघुकथाको स्तरीयता समाएका छन्। नेपाली साहित्यमा सुन्दर कृति प्रदान गरेमा लघुकथाकार चालिसेप्रति अझ स्तरीय लेखनको अभिलाषा राख्दै हार्दिक बधाई छ।

- धुम्बाराही, काठमाडौँ।

प्रकाशित: १२ फाल्गुन २०८२ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App