निर्देशक अनिल बुढा मगरले फिल्म ‘मितज्यू’ को छायांकन सकेका छन्। उनले सुटिङ थालेको एक महिनामै फिल्मको सम्पूर्ण छायांकन सकेका हुन्।
वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको थियो। सुटिङ थालेको एक महिनामै फिल्मको सुटिङ सकिएको निर्माता जनक घर्ती मगरले बताए। उनका अनुसार कलाकार र प्राविधिक पक्षले सहज तरिकाले काम गरेपछि तोकिएकै समयमा फिल्मको सुटिङ भएको हो।
उनका अनुसार यो फिल्म सामाजिक कथावस्तुमा आधारित छ।
दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन भएको यो फिल्ममा फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।
निर्देशक अनिल बुढा मगरले फिल्मको छायांकन रमाइलो गरी नै सकिएको बताए। सबै पक्षको जोडबलका साथ भएकाले एक महिनामै फिल्म खिच्न सफल भएको उनको भनाइ छ। निर्देशक मगरको यो दोस्रो फिल्म हो। यसअघि उनले फिल्म ‘घरज्वाइँ’ निर्देशन गरेका थिए। जुन फिल्म सफल भयो।
फिल्मको पोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) ले गरेका हुन्। फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई छन्।
प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर, प्रतीक्षा भाट क्षेत्री, सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर विशंखे, कार्यशाला भोलाराज सापकोटाले गरेका छन्।
त्यसै गरी यो फिल्ममा द्वन्द्व निर्देशन प्रभात विष्टको छ भने साउन्ड डिजाइनर नवीन श्रेष्ठले गरेका छन्। संगीत श्रीकृष्ण बम मल्लको रहनेछ। फिल्मका गीतमा संगीतकार मल्ल, मेलिन राई र लक्ष्मी मल्लले गाएका छन्।
आरआर फिल्म्स वितरक रहेको यो फिल्म आउँदाे जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
प्रकाशित: १२ फाल्गुन २०८२ १२:०९ मंगलबार





