१) पुनः आगमन
रमेश र रञ्जन आँगनमा बसेर बिहानको घाम तापिरहेका थिए। एक वृद्ध महिला आएर भनिन्, “बाबुहरू! म तिम्री आमा हुँ।”
रमेशले भने, “हाम्री आमा त हामी सानै हुँदा हामीलाई छोडेर अर्कै घर बसाउन गएको कुरा सुनेका थियाैं। त्यो समयदेखि हाम्रो भेट हुन सकेको छैन।”
“म त्यही अपराधी आमा हुँ जसले आफ्ना साना नानीहरूलाई छोडेर अर्कै घर गएकी थिई।” महिला पुनः बोलिन्।
रञ्जन बोले, “तपाईं पक्कै हाम्रो आमा नै हो त?”
महिलाले पुरानो फोटो देखाउँदै भनिन्, “यी हेर यो फोटो। यो फोटोमा म, तिम्रा बा अनि तिमीहरू पनि छौ।”
उनीहरू दुवैले त्यो फोटो हेरे।
रमेशले चिनेजस्तो गरेर भने, “अँ बुवा अनि बहिनीलाई त चिनेँ।”
“यतिका वर्षपछि किन आउनुभयो? के तपाईंलाई हाम्रो माया लागेको थिएन?” रञ्जन भावुक बने।
“तिम्रो बुवाको मृत्युपछि कुनै सहारा थिएन। एउटासँग फसेँ। त्यो मानिसबाट उम्किन खोजें। बदनामीको डर देखायो। म त्यसै लाचार भएँ।” उनले आफ्नो कथाव्यथा भनिन्।
“अनि त्यसपछि?” रमेशले प्रश्न गरे।
“केही महिनापछि त्यो मानिस अलपत्र पारेर छोडेर गयो। मैले पुनः घर आउने प्रयास गरें तर सासूससुराले मलाई घर पस्न दिनुभएन।” उनकाे आँखाबाट आँसु बगिसकेको थियो।
“हामीलाई तपाईंको पूर्व जीवनसँग कुनै मतलब छैन। अब तपाईं जानुहोस्।” रञ्जन कठोर बने।
“नाइँ भाइ। यसो नभन्। हामीले वर्षाैंपछि आमा भेटाएका छौं। बुवा हुनु हुन्न, वर्षौंपछि भेटिएकी आमालाई नगुमाऊँ। आमा हामीसँगै बस्नुहुन्छ।” रमेशको आवाजमा दृढता थियो।
२) व्यस्तता
सधैं जस्तै आमा साँझपख घर आउनुभयो। उहाँको घर आउने समय यही हो। आज भने आमा थकित मुद्रामा हुनुहुन्थ्यो।
“अब भने सकिँदैन जस्तो छ।” आमाले निराश हुँदै भन्नुभयो।
“के सकिँदैन आमा?” बुनुले भनिन्।
“यसरी साहित्यिक कार्यक्रममा दौड्दा दौड्दा मेरो जवानी सकियो। अब बुढेसकालमा पनि सुख पाइएला जस्तो छैन।” आमा उदास देखिनुभयो।
“स्वास्थ्यले अनि समयले सकिँदैन भने न दौडिनुस् त आमा।” मैले भनें।
“के गराैं त न जाऊँ भने साथीभाइ सबले बोलाइहाल्छन्। साथ छोड्न नसक्दा यो हाल भइरहेछ।” यति भन्दा आमा विवश देखिनुभयो।
“जीवन भए सब थोक छ आमा। आफ्नो जीवन सकाएर के पाउनुहोला!” बुनु बोलिन्।
“साहित्यिक कार्यक्रममा गए दुईचारले चिन्नेछन् अनि मेरो साहित्य पनि अघि बढ्छ भन्ने लोभ हो।” आमामा लोकप्रियताको लोभ देखियो।
“भीडमा देखिएर राम्रो लेखक बनिने होइन। राम्रो अध्ययन, चिन्तन अनि अभ्यासले राम्रो बनिने हो।” कहिल्यै नबोल्ने बुवाले पनि मुख खोल्नुभयो।
“अनि मैले कार्यक्रममा जान नपाउने, साथीभाइ भेट्न नपाउने हो त?” आमा अलि रिसाउनुभयो।
“कार्यक्रममा नजान भनेका छैनाैं। सबै कार्यक्रममा जान समय, स्वास्थ्यले मिल्दैन भने छनोट गरेर मात्र जान भनेका हौं।” बुवाले भन्नुभयो।
“दिनभर घरमा के गर्ने त मैले?” आमा बेचैन देखिनुभयो।
“एकहोरो कुदाइ मात्र जीवन होइन शान्ति। हाम्रा जीवनका पल अब कति बाँकी छन् र? बाँकी जीवन एक अर्काको साथमा रमाएर बाँच्न सकिन्न र?” बुवा भावुक हुनुभयो।
“विवाह भएदेखि तपाईंकै साथमा त छु नि!” आमाले भन्नुभयो।
“म मात्र त छैन नि घरमा। घरमा ससाना नातिनातिना अनि बुहारी छिन्। जीवनमा धेरै दौडियौ अब अलिकति विश्राम, अलिकति प्रेम अनि अलिकति स्नेहको पलको आवश्यकता छ।” बुवा बोल्नुभयो।
३) निष्ठुरी
उनी भेट हुनेबित्तिकै गुनासोका पोका खोल्थिन्। “मलाई लोग्नेले वास्ता गरेन।”
“जहिले पनि काम छ, काम छ भनेको छ, श्रीमतीको वास्ता छैन।” उनका गुनासा कहिल्यै सकिँदैनथे।
“कामकाजी मानिस। फुर्सद हुँदैन होला। घरपरिवारका लागि कमाउनु त पर्ला नि!” एकदिन मैले उनलाई सम्झाउन खोज्दै भनें।
“अनि के? मैले जनमभर त्यसका सन्तान स्याहारेर बस्नु त।” उनी रिसाइरहन्थिन्।
अचानक भेट भयो। अनुहार पनि चहकिलो छ।
“तपाईं त पूरै बदलिनुभएछ नि?” मैले सोधेँ।
“अँ, त्यसै हो।” उनले बेवास्ताको शैलीमा भनिन्।
“घरमा त राम्रै होला नि।” म जिज्ञासु बनेँ।
“अब रोगबाट मुक्त भएँ म।” उनले भनिन्।
“मैले कुरै बुझिनँ?” म स्पष्ट हुन खोजें।
“के तपाईंले थाहा पाउनुभएन। मैले नयाँ घर रोजेँ। कङ्गालीका सन्तानबाट मुक्ति पाएँ।” उनले प्रफुल्ल हुँदै भनिन्।
“अनि तपाईंका छोराछोरी नि?” म ती बालबालिकाको भविष्य सम्झेर त्रसित भएँ।
“अब लोग्ने छोडेपछि त्यसका छोराछोरीको मलाई के खाँचो। कीरासँग सडिरहेकी थिएँ, अब हीरा जस्तो लोग्ने पाएँ। मलाई कसैको मतलब छैन।” उनको स्वरमा तीतोपना थियो।
“ए, यस्तो पो....” म बोल्ने आँटेकी थिएँ।
उनी यति बोलेर हिँडिन्, “यो संसारमा पैसा नै सबथोक हो। पैसा भए सबथोक पाइन्छ।”
आजकल म एक संवेदनाहिन मानव कङ्कालबाट टाढा भइसकेकी छु।
४) वाहियात
उसलाई लाग्थ्यो, उसको बाबु एकदम असफल मानिस हुन्। बाबुका असफलताका उदाहरण दिनुपर्दा ऊ भन्थ्यो, “बुवाले धेरै सम्पति जोड्नुभएन।”
“आदर्शको पाठ पढाउनुभयो र उनीहरूका आवश्यकतामाथि ध्यान दिनुभएन।”
साथीभाइका बाबु धनी थिए, छोराछोरीका हरआवश्यकता पूरा गर्थे र सधैं चिन्तित रहन्थे।
उसका बाबु अध्ययन गर्न, संघर्ष गर्न अनि अघि बढ्न भनिरहन्थे।
जब कुनै चिजबिचको माग हुँदा बाबुले भन्थे, “मेरा आवश्यकता सीमित छन्। मैले सकेको गर्ने हो।”
ऊ मनमनै क्रोधित हुन्थ्यो बाबुप्रति। एक शिक्षक बाबुका विवशता उसलाई थाहा भएन।
“छोराछोरीका आवश्यकता पूरा गर्न नसक्नेले किन सन्तान जन्माएको त?” उसको सदाबहार वाणी हुन्थ्यो।
बाबुप्रतिको क्रोध ईर्ष्यामा परिणत भयो। ऊ आफैं मेहनत गर्न थाल्यो। सफलताको एक विन्दुमा पुग्यो। उसलाई लाग्यो, बाबुसँग उसले बदला लिएको छ।
अब बाबु छैनन्। आजभोलि ऊ आफ्ना छोराछोरीका मागबाट आजित छ। हिजोको दिनमा उसका माग सीमित थिए, समयअनुकूलका माग थिए।
आजका दिनमा उसका छोराछोरीका माग असीमित छन्। उसले पूरा गर्न सकेको छैन।
उसका छोराछोरीले उसलाई भन्न थालेका छन्, “वाहियात बाबु।”
कहिलेकाहीँ ऊ एउटा द्वन्द्वमा बाँच्छ, “आफ्ना छोराछोरीका आवश्यकता पूरा गर्न नसक्ने हरेक युगका बाबु वाहियात हुन् त?”
५) प्रतिद्वन्द्वी
- कथाकार जहिले पनि आफ्नै सिर्जनाको बयान गर्थे। घरमा, कार्यालयमा, सभासमारोहमा।
- अहिले कथाकार कुन विधामा, विषयमा काम गरिरहेका छन्, उनका नजिकका मानिसले सहजै थाहा पाउँथे। घरमा श्रीमती, छोराछोरी उनको यस बानीबाट आजित भइसकेका थिए।
- घरका आवश्यकता के हुन् र घरका लागि आफूले के गर्नुपर्छ भन्ने कुरामा कथाकार कमै सचेत थिए।
एकदिन छोराको विद्रोही आवाज बोल्यो, “बुवा! हजुर जहिले पनि आफ्नै लेखनको कुरा गर्नुहुन्छ। घरपरिवारका आवश्यकता, घरका सदस्यहरूको भावना कहिल्यै बुझ्नु हुन्न। के भएको हो हजुरलाई?”
लेखकले यस किसिमले कहिल्यै सोचेका थिएनन् तर आज छोराको वाणीबाट लाग्यो, उनी परिवारमा एक्लै रहेछन्। उनको भावना बुझ्ने परिवारको सदस्य कोही रहेनछ।
उनले भने, “घर चलिरहेकै छ। छोराछोरी पनि ठूला भइसके। अब मैले आफ्नो काममा निरन्तरता दिए हुन्छ भनेर हो बाबु। मैले आफ्नो भावना आफ्ना घरपरिवारसँग नपोखेर कोसँग व्यक्त गर्ने? परिवारप्रति म सचेत छु। कुनै कमी भए म त्यो पूरा गर्न तत्पर रहनेछु।”
“तपाईं सधैं यस्तै भन्नुहुन्छ बुवा। कहिल्यै हाम्रो पेसा, हामीले गरेको प्रगतिबारे पनि चर्चा गर्नुभएको छ कि?” छोराले आफनो असन्तोषको वास्तविक कारण खोल्यो।
“ओहो! कुरा यस्तो पो रहेछ। कुनै पनि बाबु आफ्ना सन्तानको प्रगतिमा दुःखी हुँदैन। म पनि तिम्रो प्रगतिमा दुखी छैन। मैले त्यसको चर्चा कम गरेको हुँला तर म तिम्रो प्रतिद्वन्द्वी होइन, तिम्रो बाबु हुँ।” उनी यति भनेर चुप लागे।
( भट्टका लघुकथासंग्रह ‘आमा धरती बाबु आकाश ’मा सङ्गृहीत।)
प्रकाशित: २४ श्रावण २०८२ १३:२० शनिबार





