“तपाई अभय सर हो?” अपरिचित युवतीको प्रश्न थियो। “हो,अनि तपाई?” मैले प्रतिप्रश्न गरें।
“म आशा। पार्टीले तपाईसँग भेट्न भनेको छ। तपाई पार्टीको सम्पर्क व्यक्ति हैन त?” आशाको जिज्ञासा थियो।
“हो त। तपाई कहाँबाट आउनुभयो?” मैले जिज्ञासा मेटाउदै प्रश्न गरेँ।
“स्याङजाबाट।” आशाले छोटो जवाफ फर्काई।
आशा भूमिगत भएको एक वर्ष भएछ। स्नातक तह अध्ययन गर्दै गरेकी केटी क्रान्तिमा समाहित भएकी रहिछ। क्रान्ति सफल पार्न स्याङजाबाट भोजपुर आइपुगेकी आशा पार्टी केन्द्रीय सदस्य रहिछ। प्रचार विभागको उपसंयोजक समेत सम्हालेकी आशा क्रान्तिको आशाको पात्र थिई।
मृदुभाषी र शालीन देखिने आशाको परिवार निम्न मध्यम वर्गीय परिवार रहेछ। बुवा हुलाकको हल्कारा हुनु हुँदो रहेछ। आमा साधारण घरगृहस्थी चलाउने भए पनि नारीवादी आन्दोलनको कुरा गर्नु रुचाउनु हुँदो रहेछ। आशाको दाइ अग्रज पार्टी काममा भूमिगत नै रहेछ। भाउजू आर्या शिक्षिका रहिछिन्। आशाकुमारीको विवाह भएको छैन। विचार मिल्ने केटासँग अन्तरजातीय विवाह गर्ने सोचमा छे आशा।
भोजपुरमा पार्टी संगठन सुदृढीकरणका लागि आशालाई पार्टी केन्द्रले सम्पर्क दिई पठाएको रहेछ। हुन त भोजपुर पार्टीको साँगठानिक काममा त्यति कमजोर नभए पनि जनवर्गीय सङ्गठन निर्माणमा अलि पछाडि थियो। मैले आशालाई जनवर्गीय संगठन निर्माणमा परिचालित हुन सुझाव दिएँ। आशाको बसाइँ भोजपुरमा तिन महिनाको मात्रै थियो। तीन महिनामा आशाले जनवर्गीय संगठन निर्माण गरी पार्टी काममा परिचालित गर्ने चुनौतिपूर्ण जिम्मेवारी सम्हालेकी थिई। भूगोलको समस्या पहिल्याउँदै अशिक्षित समाजलाई चेतना प्रदान गरी कान्तिप्रति आकर्षित गर्ने कुरा कुनै ख्याल ठट्टा थिएन। जोखिम मोलेर आशा सफलता हात पार्ने गरी विवेकपूर्ण ढङ्गले काममा खटिएकी थिई।
के आशाको उपस्थिति पार्टीलाई रामवाण होला त?
प्रकाशित: २७ असार २०८३ १०:२० शनिबार





