उदयपुरको सदरमुकाम गाईघाटमा हरेक महिनाको अन्तिम शनिबार आयोजना हुने ‘गाईघाट रन’को दोस्रो संस्करण राष्ट्रिय ट्रेल रेसर सुनमाया बुढाप्रति समर्पित गर्दै सम्पन्न गरिएको छ।
स्थानीय युवाको पहलमा सञ्चालन हुँदै आएको दौड कार्यक्रम यस वर्ष नेपाली ट्रेल रेसकी विजेता सुनमाया बुढाको दौडप्रतिको समर्पण, साहस र सफलताको सम्मानस्वरूप समर्पित गरिएको अभियन्ता भूपाल राउतले बताए।
‘दिगो पर्यटन, स्वस्थ जीवन र प्रकृति संरक्षण’ भन्ने नारासहित सञ्चालन गरिएको करिब ७ किलोमिटरको दौडमा नगरप्रमुख, उपप्रमुख, जनप्रतिनिधि, खेलाडी, पत्रकार, व्यवसायी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
आयोजकले आगामी दिनमा दौडको दूरी विस्तार गर्दै यसलाई थप व्यापक बनाउने र समुदायमा स्वास्थ्य, दौड संस्कार तथा खेलप्रतिको चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।
प्रकाशित: २७ असार २०८३ २१:०५ शनिबार





