आउँदाे माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’ टिमले पोस्टर सार्वजनिक गरेको छ। तिहारको लक्ष्मीपूजाको विशेष अवसर पारेर फिल्म ‘आ बाट आमा’ को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो।
सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुशी मुन्द्रामा देखिएका छन्। यसमा सन्तानको खुशीमा बुबाआमा पनि खुसी भएको अनुमान गर्न सकिन्छ।
ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानको भावनात्मक सम्बन्ध केन्द्रमा राखेको पोस्टरले संकेत गरेको छ।
पोस्टरमा लेखिएको संवाद, ‘बाआमाले परिश्रमले घर बनाउनुभयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं’ ले कथा आम नेपाली परिवारको यथार्थसँग गहिरो सम्बन्ध राख्ने देखिन्छ।
फिल्मकाे निर्माण पक्षका अनुसार फिल्मले ‘घर र आमाको माया’ भन्ने भावना दर्शकसमक्ष नजिकबाट प्रस्तुत गर्नेछ।
चन्द्र पन्तको लेखन, पटकथा र निर्देशनमा र आर्या पन्तको प्रस्तुति मा निर्माण भएको यो फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित विष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा लगायत छन्।
फिल्म ‘आ बाट आमा’मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाइली रहेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम छन्।
यो फिल्मको विदेश प्रदर्शन अधिकार उच्च मागको साथ बिक्री भइरहको छ। हिमारु इन्टरटेन्मेन्ट प्रालिले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ।
नेपालमा फिल्मको प्रदर्शन अधिकार भने आरआर फिल्मस्ले गर्दैछ। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
प्रकाशित: ४ कार्तिक २०८२ २०:०७ मंगलबार





