१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

भरिया

कविता

भरिया-१

आखिर

सबैसबै त भरिया हुन् यो संसारका

कोही नून बोक्छन्

कोही ऊन बोक्छन् 

कोही सुन बोक्छन्

कोही सिमाना बोक्छन् 

कोही सँसार बोक्छन् 

अन्त्यमा जीवनको सबै भारी बिसाएपछि

सकिन्छन्  र  मिल्छन् माटोमा।

भरिया-२

भरियाहरू

भारी बोक्दैनन्

भारीभन्दा गह्रुँगो बाटो बोक्छन्

बाटोभन्दा लामो दु:ख बोक्छन्

भरियाहरूलाई

घामले पोल्न पनि सक्तैन

जूनले छोप्न पनि सक्तैन

नदीको बहाब त सकिन्छ कतै गएर

भरियाको वेगलाई, कसैले रोकेर रोक्न सक्तैन।

भरिया-३

उसले मलाई

भारी बोक भन्यो, बोकिदिएँ

अलिपर गएपछि हेरेँ

उसले पनि बोकेको रहेछ अर्कै भारी

भारीको

रूप मात्र फरक रहेछ

रंग मात्र फरक रहेछ

तौल र आयतन मात्र फरक रहेछ

बोक्न त सबैले

केही न केही बोक्नै पर्ने रहेछ

कसैले सामान बोक्छन्

कसैले साहस बोक्छन्।

भरिया-४

हिँडन त जो पनि हिँडछ  

जो जीवनलाई बोकेर रमाउन सक्छ

जो संसार बोकेर हँसाउन सक्छ

उ पो हो साहसी, उ पो महान।

भरिया-५

मैले ट्रेल पार गरिरहेको बेला

मेरो पिठ्यौमा थियो  

मेरो वजनभन्दा धेरै गुना बढीको भारी

त्यहीँ भेटेँ कमिला  

उसले पनि बोकिरहेथ्यो  

उसको पिठ्यौमा नअटाउने भारी

अलि पर भेटियो माहुरी

उ त ओसारिरहेथ्यो भारी

र चखाइरह्यो हामीलाई सुस्वादु मह

भारी बोक्न अल्छी मान्ने  

कयौँ हुल भोकै मान्छेहरू

भारीको खोजीमा भौँतारिरहेछन्

भारी सबैका लागि

मीठो प्रार्थना भएको छ।

भरिया-६

सम्झ

भारी सकियो, कि जीवन सकियो

आमाको गर्भको भारीमा झुण्डिएर जन्मेका थियौ तिमी

बाआमाको पोल्टो र टाउकोको भारी सकेर

हुर्केका हौ कुनै बेला

जीवनभर

मुठी, पिठ्यौ, खोकिला, काख, काँध र मुटुमा  

बोकिरह्यौ कुनै न कुनै भारी

जब सकियौ कुनै दिन  

बोकायौ कसैलाई आफ्नै भारी

र बन्यौ जमिनमाथिको एक मुठी खरानी।

प्रकाशित: ६ वैशाख २०८३ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App