२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘पोख्तक’ र ‘चौशूल’ मुक्तकका मानक कृति हुन्

नेपाल मुक्तक प्रतिष्ठानले डा. रुपक श्रेष्ठका मुक्तकसंग्रह ‘पोख्तक’ र ‘चौशूल’ काे परिचर्चा गरेकाे छ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी काेनेकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजीकरण नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराईले गरेका थिए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष तथा नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष राधेश्याम लेकालीले शब्दमार्फत कार्यक्रममा सहभागीहरूलाई स्वागत गरेका थिए। कार्यक्रमको उद्देश्य र महत्त्वमाथि पनि उनले प्रकाश पारेका थिए।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार तथा समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले संरचनाका तहले हेर्दा रूपकका मुक्तक मानक मुक्तक रहेको बताए।

मुक्तकमा विम्ब सिर्जना गर्न गाह्रो हुँदाहुँदै पनि सुन्दर विम्बको प्रयोग, पूर्वीय तथा पश्चिमी दर्शनका गहन बिम्बालंकार प्रयोग गर्दै मुक्तक लेख्न सफल भएको उनले बताए। प्राडा गौतमले विश्वविद्यालयमा आफूले पूर्वीय दर्शनका बिम्बको सफल प्रयोगको नमूनाको रूपमा रूपकका ‘चौशूल’ मा सङ्गृहीत मुक्तकका उदाहरण दिई अध्यापन गराएको व्यक्त गरे।

कार्यक्रममा डा. भरतकुमार भट्टराईले गहन अभिव्यक्ति, प्रतीक र बिम्बकाे सुन्दर संयाेजन, अर्थ गाम्भीर्य, व्यञ्जनात्मक प्रस्तुतिले कृति वजनदार भएकाे बताए। उनले भने, ‘कुनै समय मुक्तक वाचन गर्दा तर्किने चलन पनि थियाे। मैले याे देखेर मुक्तक क्षेत्र अँगालिरहें। डा. रूपक श्रेष्ठ जस्ताकाे अध्येताले मुक्तक फस्टाएकाे छ।’

कार्यक्रममा समालोचक डा. कमल देवकोटाले पोखराको बहुक्षेत्र समेटेर पोख्तकमा मुक्तककार श्रेष्ठले उत्कृष्ट मुक्तक लेखेको बताए।

अंग्रेजी अनुवादमा प्रकाशित कृति ‘पोख्तक’ ले नेपाली साहित्यलाई विश्वसाहित्यसँग जोड्ने बलियो सेतु निर्माण गरेको बताए। उनले पनि आफ्ना अंग्रेजी एमफिलका विद्यार्थीलाई साहित्यका सिध्दान्तहरू अध्यापन गराउॅंदा ‘पोख्तक’ का मुक्तकहरू उदाहरणको रूपमा प्रयोग गर्न थालेको बताउॅंदै यस्ता कृतिहरू विश्वविद्यालयका पाठ्यक्रममा सामेल गरिनुपर्ने जिकिर गरे। यस मुक्तकसंग्रह पोखरा विशेष रहेकाले पोखराको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउन पुस्तक उपयोगी भएको उनले बताए।

मुक्तक साम्रज्ञी उषा शेरचनले मुक्तकलाई विशिष्ट उचाइ, गरिमा र पहिचान दिलाउने स्रष्टामध्ये साहित्यकार श्रेष्ठ अग्रपङ्क्तिमा रहेकाे बताइन्।

पोखराको साहित्यिक परिवेशमा हुर्केर निर्माण भएको उनको चेतना आज प्रवासमा रहेर पनि नेपालप्रतिको प्रेम, स्मृति र आत्मीयले पोषित छ। परदेशमा बसेर पनि मातृभूमिप्रतिको भावनात्मक स्पन्दन उनका सिर्जनामा निरन्तर धड्किरहेको अनुभूति हुन्छ।

श्रेष्ठ मुक्तकहरू सामाजिक विवेक, वैचारिक स्पष्टता र कलात्मक सौन्दर्यको परिष्कृत छन्। छोटो संरचनाभित्र गहिरो अर्थ, चोटिलो व्यञ्जना र गम्भीर सन्देश समेट्ने उनको क्षमता प्रशंसनीय छ। भाषा सरल, शैली शालीन र भाव संप्रेषण अत्यन्त कोमल छ। यही कोमलता नै उनको काव्य सौन्दर्यको विशिष्ट शक्ति हो।

मुक्तक साम्रज्ञी शेरचनले ‘पोख्तक’ मा शिल्पगत निखार, संरचनागत अनुशासन र वैचारिक गहिराइ सन्तुलित रूपमा प्रकट हुन्छ भने ‘चौशूल’ ले सामाजिक चेतना र वैचारिक तीक्ष्णता अझ स्पष्ट र प्रखर स्वरमा उजागर गरेको बताइन्।

त्यस्तै ‘पोख्तक’ को अंग्रेजी अनुवाद प्रकाशित हुनु उनका सिर्जनाहरू अन्तर्राष्ट्रिय पाठकसँग संवाद गर्न थालेको सकारात्मक संकेत हो।

नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ राेदनले मुक्तककार श्रेष्ठ लेखन र व्यवहारमा तादाम्य भएकाे बताए। लेख्नु मात्र ठूलाे कुरा हैन, लेखकले अरूकाे भावनासित सहकार्य गर्नुपर्छ। नयाँ शब्द र शब्दकाेशमा भएकाे शब्द थुपार्दैमा काेही लेखक भइँदैन। रूपक लेखनमा दम पाइन्छ। त्यसैकाे दसी हाे उनकाे मुक्तकसंग्रह पनि।

त्यस्तै ‘मुक्तक साैन्दर्य’ का संस्थापक श्रीराम राईले डा. श्रेष्ठका मुक्तकहरू गीत र लघुकथा जत्तिकै चोटिलो, भाषिक शुद्धताका लागि दिशानिर्देशन गर्ने, पर्याक्षेत्र समेटेको जस्ता पाठकीय प्रतिक्रिया दिए।

काठमाडौं अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएकाे कार्यक्रममा प्रमिला गजुरेल, निशा केसी, दुर्गाकिरण तिवारी लगायतले पाठकीय अभिमत प्रस्तुत गरेका थिए। 

चार दशकदेखि मुक्तक, कविता र गजलमा समर्पित स्रष्टा उनी नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाका संस्थापक हुन्। नेपाली मुक्तकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएका उनी २०८२ को ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ पुरस्कृत स्रष्टा हुन्।

२०२२ माघ ६ गते जन्मिएका डा. रूपक श्रेष्ठका ‘पोख्तक’, ‘चौशूल’ र पोख्तकको अङग्रेजी अनुवाद मुक्तक कृति लगायत विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन्।

लामो समयदेखि बेलायतमा बस्दै आएका श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मुक्तकको विकास र विस्तारका निम्ति महत्त्वपूर्ण योगदान गर्दै आएका छन्।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेको प्राडा लक्ष्मणप्रसाद गौतमको ‘नेपाली मुक्तकको रचनाविधान’, नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले प्रकाशन गरेकाे ‘ईलिंग’ स्मारिका र डा. रूपक श्रेष्ठका ‘चौशुल’ र ‘पाेख्तक’ (अंग्रेजी संस्करण) को लोकार्पण गरिएकाे थियाे।

यसैगरी अध्यक्ष रामकाजी कोनेले मुक्तककाे विधागत उन्नयनमा श्रेष्ठकाे महत्वपूर्ण भूमिका रहेकाे बताए।

कृतिकार डा. श्रेष्ठले मुक्तकलाई आत्मअनुशासन र चेतनाको अभ्यासका रूपमा वर्णन गर्दै मुक्तक लेखन शब्दको खेल मात्र होइन, चेतनाको अनुशासन भएको बताए।

‘पोख्तक’ ले नेपाली संस्कार, जनजीवन र विशेषत पोखराको प्राकृतिक सौन्दर्यका साथै धेरै आयाम समेटेकाले २०७० मा प्रकाशित नेपाली साहित्यलाई विश्वसाहित्यसॅंग जोड्न यस कृतिको अंग्रेजी अनुवाद गरेको बताए। उनले मुक्तक विश्वसाहित्यमा पनि मुक्तककै नामले चिनियोस् भनेर यस संग्रहलाई मुक्तक नै भनेर प्रकाशन गरेको बताए।

कार्यक्रममा समालोचक केशव सिग्देल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्रतिष्ठानका पूर्व महासचिव रमेश पौडेल, पवन आलाेक, वियाेगी बुढाथाेकी लगायतले मन्तव्य राखेका थिए। वक्ताहरूले नेपाली मुक्तकको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानबारे विचार व्यक्त गरेका थिए।

प्रकाशित: २७ माघ २०८२ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App