विराटनगरमा साहित्य र सामाजिक रूपान्तरणको क्षेत्रमा क्रियाशील रहने उद्देश्यका साथ ‘काव्य उद्यान नेपाल’ संस्थाको विधिवत् सुरुवात भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङबाट २०८३ असार २३ गते संस्था संचालनको अनुमति प्राप्त गरेलगत्तै यस संस्थाको कार्य औपचारिक रूपमा अघि बढेको हो।
संस्थाको विधानअनुरूप नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण समारोह तथा बैठक मिति २०८३ असार २७ गते शनिवार विराटनगरस्थित सिटी बोर्डिङ स्कूलमा भव्यताका साथ भएको छ।
शपथ ग्रहण तथा प्रतिबद्धता
समारोहमा संस्थाका सल्लाहकार एवं अग्रज व्यक्तित्व सुरेशकुमार अग्रवालबाट नवनिर्वाचित अध्यक्ष भूपाल अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका थिए।
शपथ ग्रहणपछि अध्यक्ष अधिकारीले संस्थाको हितविपरीत कहिल्यै नजाने र साहित्य एवं समाजको उत्थानमा दृढ रहने वचनबद्धता व्यक्त गरेका छन्।
त्यसपश्चात, अध्यक्ष अधिकारीले कार्यसमितिका अन्य सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पदको शपथ गराएको जानकारी संस्थाका उपाध्यक्ष ऋषि तिवारीले दिए।
बैठकमा संस्थाका सचिव केशव रिजालले ‘काव्य उद्यान नेपाल’ साहित्यिक गतिविधिमा मात्र सीमित नरही समग्र समाजको हित र रूपान्तरणका लागि सदैव अग्रसर रहने प्रतिवद्धता व्यक्त गरे। शपथ लिने क्रममा सम्पूर्ण पदाधिकारीले संस्थाप्रतिको आफ्नो उत्तरदायित्व पूर्ण रूपमा वहन गर्ने सामूहिक सहमति जनाएका छन्।
कार्यसमिति पदाधिकारीहरू अध्यक्ष भूपाल अधिकारी, उपाध्यक्ष: ऋषि तिवारी, सचिव: केशव रिजाल, सहसचिव: सुशिला प्रसाई दंगाल र कोषाध्यक्ष: अन्शु गुप्ता रहेका छन्।
कार्यसमिति सदस्यहरूमा शरद प्रधानाङ्ग, पुण्यप्रसाद चौलागाई,
रेणुका राई, किरण रिजाल 'अञ्जन', तारा श्रेष्ठ, यमुना भट्टराई रहेका छन्।
त्यस्तै सल्लाहकारहरूमा विराटनगरका सुरेश अग्रवाल, कुमार श्रेष्ठ र भवानी प्रसाद पोखरेल रहेका छन् भने इनरूवाका लिलानाथ सिलवाल र रमेन्द्र कोइराला रहेका छन्।
उक्त विशेष कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष भूपाल अधिकारीले गरेका थिए भने कार्यक्रमको व्यवस्थित सञ्चालन सचिव केशव रिजालले गरेका थिए।
नयाँ कार्यसमितिको ऊर्जाले नेपाली साहित्य र समाजसेवाको क्षेत्रमा 'काव्य उद्यान नेपाल'ले एउटा छुट्टै पहिचान बनाउने विश्वास लिइएको छ।
प्रकाशित: २८ असार २०८३ ०७:०९ आइतबार





