पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले काव्य महोत्सव, विद्यार्थी तथा स्रष्टा सम्मान गरेकाे छ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमल, काठमाडौंमा पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले काव्य महोत्सव, विद्यार्थी तथा स्रष्टा सम्मान समारोहको आयोजना गरेकाे हाे।
प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार डा. महेश्वर शर्माको अध्यक्षता, वरिष्ठ साहित्यकार तथा पूर्व मन्त्री नरहरि आचार्यको प्रमुख आतिथ्य र प्रतिष्ठानका संस्थापक संरक्षक साहित्यकार तथा पूर्वमन्त्री त्रिलोचन ढकाल, लघुकथा समाजका अध्यक्ष तथा मधुपर्क मासिकका प्रधानसम्पादक तुलासीहरि कोइराला, प्रतिष्ठानका संस्थापक संरक्षक डिल्लीराज ढकाल, महाकाव्यकार मुकुन्द शर्मा चालिसे, प्राडा भागवत ढकाल, प्राडा शेषकान्त आचार्य लगायतको आतिथ्यमा कार्यक्रम भएकाे हाे।
कार्यक्रममा ध्रुवराज थापा 'पुरुष' र सुनिता निरौला पौडेलले लघुकथा, एन्जेल निलु, चेतन बस्नेत 'ठूलाघरे', कृष्णप्रसाद पौडेल 'जस्ताघरे', राधा कार्की, सागर काफ्ले, प्राडा शेषकान्त अर्याल र भरत बस्नेतले कविता वाचन गरेका थिए।
स्रष्टा सम्मान तथा पुरस्कार समर्पणको छैटाैं संस्करणमा साहित्यकार तथा शिक्षाविद् पिताम्बर शर्मालाई ३० हजार राशिको पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति सम्मान तथा पुरस्कार र ताम्रपत्र अर्पिएकाे छ।
यसै संस्करणदेखि पण्डित आनन्दमणिकि नातिनी डा. सुस्मिता ढकाल र नातिनीज्वाइँ चन्द्रप्रसाद रिजालले २० महिना मात्रै बाँचेकाे पहिलो छोरा सूचनको स्मृतिमा बालस्वास्थ्यको क्षेत्रमा सेवा, अध्ययनअनुसन्धान या साहित्य रचना गरी अद्वितीय योगदान गर्ने स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता या कृतिकारलाई प्रदान गर्ने गरी स्थापना गरेकाे १५ हजार रूपैयाँ राशिको ‘सूचन बालस्वास्थ्य सम्मान तथा पुरस्कार’ बैतडीकी अनमी जानकीकुमारी पुजारा साउदलाई कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा २०८१ श्रावणमा २० बर्से किशोरी आमाबाट जन्मिदै निस्सासिएको अवस्थामा जन्मिएका नवजात शिशु चिकित्सकीय उपकरणको अभावमा मुखबाटै ६ घण्टासम्म कृत्रिम श्वास दिएर जीवनदान गरेकी जानकीकुमारी पुजारा साउदलाई अर्पिएकाे छ।

संस्थाका सदस्य तथा साहित्यकार डा. रमेश शुभेच्छुले सम्मानित व्यक्तित्व पिताम्बर शर्मा नेपाली र स्वास्थ्यकर्मी जानकीकुमारी पुजारा साउदको परिचयात्मक टिप्पणी प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले प्रदान गर्दै आएको स्याङ्गजा जिल्लाका एकएक जना उत्कृष्ट छात्रछात्रालाई प्रदान गरिने पुरस्कार आँधिखोला – ६, फापरथुमका आनन्द आश्रम ज्ञान केन्द्रमा स्याङ्गजाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई उपस्थित गराएर एक घन्टाको समय सीमाभित्र ‘आँधिखोला’ शीर्षकमा कविता लेख्न दिई वाचन गराएर छानिएका सम्पन्न पोख्रेल, प्रधुम्न पनेरु मावि, रंगेठाँटी र स्मारिका अर्याल, पूर्णामृत भवानी मावि वालिंगलाई ६ हजार राशिका पुरस्कार र सम्मानपत्र पनि अर्पिएकाे छ।

कार्यक्रममा २०८० मा आँधिखोला - ६, फापरथुम, स्याङ्गजामा देशभरिबाट २५० साहित्यकारलाई उपस्थित गराएर दुईदिने आवासीय बृहत् साहित्यिक गोष्ठीको अनुभवबारे लेखिएका संस्मरण, यात्राविवरण, कथा, कविता लगायत पं. आनन्दमणिका गुरुकुलमा पढेका जीवित विद्यार्थीको आफ्ना गुरुप्रतिको आदर र सम्झनाबारे अन्तर्वार्ताद्वारा संकलन गरेका सामग्री लगायत संलग्न गरी तयार गरिएको ‘आनन्द’ नामक पुस्तक पनि लाेकार्पण गरिएकाे छ।
उक्त कार्यक्रममा प्राडा भागवत ढकाल र तुलसीहरि कोइरालाले पण्डित आनन्दमणिले राणाकालीन कालरात्रिमा स्याङ्गजाको दुर्गम गाउँको आफ्नो जन्मभूमिबाटै आफ्नै घरपाखामा गुरुकुल संचालन गरी शिक्षाको क्षेत्रमा खेलेको योगदान जीवित राख्न उनका छोरा डिल्लीराज र त्रिलोचनले थालनी गरेको यो प्रतिष्ठानले साहित्यकार तथा पूर्वमन्त्री त्रिलोचन ढकालको क्रियाशीलताका कारण देशकै साहित्य क्षेत्रमा प्राप्त गर्दै गरेको आकार र खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै सम्मानित व्यक्तिहरूलाई बधाई व्यक्त गरेका थिए।
प्रमुख अतिथि नरहरि आचार्यले आफ्नो स्वास्थ्यले साथ नदिँदा पनि आफू आनन्द आश्रम ज्ञान केन्द्र समेत पुगेर आएको उल्लेख गर्दै त्रिलोचन ढकालले यो प्रतिष्ठान र आनन्द आश्रम ज्ञान केन्द्र स्थापित गर्न खेलेको भूमिकाका लागि धन्यवाद दिएका थिए।
९६ बर्से साहित्यकार डा. महेश्वर शर्माले सभालाई वैदिक हिसाबले कसरी सम्बोधन गरिन्छ। यो प्रतिष्ठानले कसरी उचाइ लिँदै छ, पं. आनन्दमणिका योगदान किन अविष्मरणीय छन् लगायतका कुरा बोलेर उपस्थित सबैलाई धन्यवाद दिँदै समारोहको समापन गरेका थिए।
प्रकाशित: २६ माघ २०८२ ०८:२५ सोमबार





