३ आश्विन २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

कवि मधु पाठकको ‘अग्नि-आलाप’ लोकार्पण

नेपाल स्रष्टा समाजले कवि मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पण गरेको छ।

नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ ‘रोदन’, डा .नवराज लम्साल, पवन आलोक, डा. ज्ञानु अधिकारी र कवि पाठक लगायतले उक्त कृति लोकार्पण गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राडा लक्ष्मणप्रसाद गौतमले विचार,भावना र अनुभूतिले मात्र सुन्दर कविता जन्मिने बताए। राम्रा कविता वेदका मन्त्र जस्ता हुने भन्दै उनले पाठकको मस्तिष्क र ह्रृदयले काम पाएमात्र कविता राम्रा हुने कुरामा जोड दिए। ‘समकालीन कवितामा कवि पाठकको उपस्थिति संवेदना, प्रेम, करुणा, मातृत्व, करुवा, अनुभूति लगायतका पक्षहरूमा रहेको छ। धेरैजसो कविताहरू अनुभुतिपरक र संवेदनात्मक रहेका छन्।’  उनले भने।

कृतिमाथि चर्चा गर्दै चर्चित कवि डा. नवराज लम्सालले कविता लेख्नु गम्भीर विषय भएको बताए। उनले विचारको अभिव्यक्ति कविता भएको भन्दै अनुभूतिलाई बिम्बमार्फत बाहिर पठाउने क्षमता कविमा हुने बताए। डा. लम्सालको ठोकुवा थियो, ‘ आजका कविता कमजोर छैनन्।’ 

मधुका कविताहरू बलशाली बनेर आएको भन्दै उनले अगाडि भने, ‘मधुका कविताको हरेक हरफमा अलग कविता छ। संरचना, विषय, संगठन, अनुभूतिका हिसावले उनका कविता सुन्दर छन्। ‘डा. लम्सालले नेपाली साहित्यमा देखिएका विकृतिहरूबारे समेत चर्चा गरे।

अर्का चर्चाकार डा. ज्ञानु अधिकारीले कवि पाठकका कविताले पाठकलाई सोचनीय बनाउँछ, संवेदित बनाएर सहभाव र समभावमा पुर्याउँछ मधुका कविताले समाजको आत्माको आवाज बोलेको बताइन।

उनले अगाडि भनिन्, ‘मधुले प्राकृतिक बिम्बद्धारा अमूर्त भावमा कविता सिर्जना गरेका छन्। उनका कविता शीर्षक नयाँ नभए पनि दृष्टिकोण नयाँ छ, अनुभूतिपरक छन्। कविले कवितामा आत्म प्रकाशन गरेका छन्।’  मधुका कविताभित्र प्रेम,संवेदना प्रचुर रहेको पनि उनले बताइन्।

कार्यक्रममा पवन आलोक, ऋषभदेव घिमिरेले शुभकामना मन्तव्य राखे। कवि पाठकले आफ्ना अनुभुतिहरू साझा गरे।

कार्यक्रमको अध्यक्ष समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले आज मधु पाठकको कविता कृतिको लोकार्पणको अवसरमा नेपाली कविता र साहित्यमाथि सुन्दर बहस भएको छ। कालान्तरमा यो नेपाली साहित्यका लागि महत्त्वपूर्ण कुरा हुने बताए। उनले आज नेपाली साहित्यमा विषद् परिचर्चा भएको कुरामा जोड दिए। ‘ सबै इतिहासलाई वर्तमान बनाएर वर्तमानमाथि अन्याय गर्न मिल्दैन। इतिहास इतिहासकै रूपमा सम्मानित भएर रहनुपर्छ।’ उनले अगाडि भने। श्रेष्ठले मधु पाठकका कविताहरूसमकालीन कवितामा सुन्दर रहेको पनि बताए।

कार्यक्रममा कवि सुष्मा आचार्य अंशु,मणि लोहनी र ठाकुर वेलबासेले अग्नि- आलापभित्रका कविता वाचन गरे।

नेपाल स्रष्टा समाजका सचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा सदस्य शान्तिमाया गिरीले स्वागत मन्तव्य राखिन्। कृतिलाई नेपाल स्रष्टा समाजले प्रकाशन गरेको हो।

प्रकाशित: ३ आश्विन २०८३ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App