कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कवितासंग्रह ‘सौन्दर्यको भग्नावशेष’ लाेकार्पण भएको छ। वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले काठमाडौंमा आयोजित कार्यक्रममा ‘सौन्दर्यको भग्नावशेष’ को लाेकार्पण गरेका थिए।
कार्यक्रममा प्रमुख अथिति अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताए। "जीवन र जगतका सत्यहरूलाई एलिसाले सहज रूपमा कवितामा उतारेकी छन्।" वरिष्ठ कवि दिनेश अधिकारीले भने।
कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले एलिसाको कवितामा मानिसका सपना र रहरहरू मात्रै होइन अवसाद र असन्तुष्टिकाे बीच कसरी अघि बढ्ने भन्ने सजगता पढ्न सकिने बताए।
यसैगरी अर्का वक्ता कवि तथा प्राडा देवी नेपालले एलिसाका कविता सरल तर निकै गम्भीर रहेको बताए। उनकाे प्रत्येक कवितामा आजका मानिसका आशा र बाध्यता पढ्न सकिने नेपालले बताए।
यसैगरी कवि तथा पत्रकार मणि लोहनीले एलिसाको कविताप्रतिको प्यासेनले आफू संवेदित बनेको बताए।
त्यस अवसरमा कवि एलिसा ढुंगानाले कविताप्रतिको आफ्नो चाह बालककालदेखि नै रहेको र अझै कवितामा नयाँनयाँ काम गर्न मन लागेको बताइन्।
साहित्यकार जीतेन्द्र रसिकले एलिसाका कवितामा पाठकले नयाँपन भेट्ने दावी गरे। कार्यक्रममा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी शुष्मा महरा लगायतले सौन्दर्यको भग्नावशेषका कविता वाचन गरेका थिए।
एईएम ग्रुपका प्रबन्ध निर्देशक अजयकुमार रेग्मीले उपस्थित सबैलाई स्वागत गर्दै स्वास्थ्य र सञ्चारको क्षेत्रमा काम गर्दै आएको एईएम ग्रुपले प्रकाशनको क्षेत्रमा पनि हात हालेको र सबैको सहयाेग चाहेको बताए।
एईएम ग्रुपले प्रकाशनमा ल्याएको सौन्दर्यको भग्नावशेषमा तीन खण्डमा ३८ कविता समेटिएका छन्। वरिष्ठ कवि तथा कलाकार रमेश श्रेष्ठले आवरण बनाएको यस कृतिमा वरिष्ठ वैरागी काइँलाकाे भूमिका समावेश छ।
प्रकाशित: २९ श्रावण २०८२ १२:४९ बिहीबार


-600x400.jpg)


