दक्षिण भारतीय निर्देशक बुची बाबू सनाद्वारा निर्देशित दक्षिण भारतीय फिल्म ‘पेद्दी’ गत ४ जुन २०२६ मा हलमा प्रदर्शन भएको थियो।
राम चरण र जान्हवी कपूर अभिनीत यो स्पोर्ट्स–ड्रामा फिल्मले बक्स अफिसमा ठूलो सफलता हासिल गर्दै करिब ४०० करोड रुपैयाँ कमाएको बताइएको छ। यससँगै यो २०२६ को सबैभन्दा धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्ममध्ये एक बनेको छ।
फिल्म ९ जुलाई २०२६ देखि नेटफिक्स मा स्ट्रिमिङ हुने भएको छ। सुरुआतमा यो तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा उपलब्ध हुनेछ भने हिन्दी संस्करण केही समयपछि रिलिज हुने चर्चा छ।
सिनेमामा ओलम्पिकमा भारतको निराशाजनक प्रदर्शनपछि युवा तथा खेल मन्त्रालयले देशभरि खेल प्रतिभा खोज अभियान सञ्चालन गरेको देखाइन्छ। यस क्रममा खेल अधिकारी मिस्टर पैसवाल (बोमन ईरानी) विजयनगरम पुग्छन्, जहाँ उनी पेद्दी (राम चरण) सँग भेट्छन्।
पेद्दी एउटा सानो गाउँमा गुड (चाकुरभेली) बनाउने मजदुर हो, तर उसमा विभिन्न खेलमा असाधारण प्रतिभा हुन्छ। पैसवालले उसको पृष्ठभूमि अनुसन्धान गर्दै जाँदा पेद्दीको संघर्ष, उपलब्धि र आफ्नो गाउँसँगको गहिरो सम्बन्धको प्रेरणादायी यात्रा उजागर हुन्छ।
राम चरण र जान्हवी कपूरका साथै फिल्ममा शिवा राजकुमार, जगपति बाबू, दिव्येन्दु, बोमन ईरानी, रवि किशन, विजी चन्द्रशेखर, रजातव दत्ता, सत्य, जोन विजय र अजय घोष लगायतका कलाकारहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ।
प्रकाशित: २० असार २०८३ १६:०१ शनिबार





