१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘परान’ ले गर्‍याे १ लाख पुरस्कार दिने घोषणा

आउँदाे साता (कार्तिक १४) गतेबाट रिलिज हुने पारिवारिक कथानक फिल्म ‘परान’ ले दर्शकहरूलाई फिल्मप्रति थप आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ।

फिल्मले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै शो पुरस्कार राशि घोषणा गरेको हो। यस प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले अहिले आफ्नो जीवनमा रहेको आफ्नो ‘परान’ को हो? ऊसँगको तस्विर पोस्ट गर्दै क्याप्सनमा 'मेरो परान' लेखेर आफ्ना कुराहरू लेख्न पाउनेछन्। साथै उक्त पोस्ट फिल्मको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ।

निर्माण पक्षले सो तस्बिरमा आफ्नो परानका रूपमा बुबा, आमा वा बुबाआमा दुवै वा श्रीमान्, श्रीमती या प्रेमीप्रेमिका, साथी, दाजुभाइ एवं दिदीबहिनीमध्ये जोकोहीसँगको फोटो पोस्ट गर्न सक्नेछन्। त्यसरी पोस्ट गर्नेमध्ये १ जनाले लक्की ड्र मार्फत १ लाख रुपैयाँ जित्ने अवसर पाउने छन्। त्यस्तै सय जनाले फिल्मको विशेष शोको टिकट पाउँदै छन्।

यसैगरी ‘परान’ फिल्मको प्रचारमा केही स्वयंसेवक फिल्मको क्यूआरसहित शहरका विभिन्न भागमा घुम्ने र शो क्रममा क्यूआर स्कान गरी ‘परान’ फिल्मको ट्रेलर वा गीत सेयर गर्नेलाई फिल्मका कलाकारसँगै फिल्म हेर्ने अवसर प्रदान गर्ने घोषणा समेत गरेको छ।

५० दर्शकलाई यो अवसर दिइनेछ। यस दुवै प्रतियोगितामा रिलिजको एकसाता पछिसम्म अर्थात कार्तिक २० गतेसम्म सहभागिता जनाउन पाइनेछ।

गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा समेतको सहभागितामा निर्माण भएकाले पनि ‘परान’ लाई नेपाली रजतपटले विशेष रूपमा हेरेको छ।

यस्तै फिल्ममा शेखर गोल्छासँगै तीन दशकको इतिहास बोकेको प्रिज्मा एडभर्टान्जिङ एजेन्सीका प्रमुख रन्जित आचार्यको लगानी छ। नेपाली बिजनेशको मार्केटमा छुट्टै पहिचान बनाएका यी दुई व्यक्तिको आगमनका कारण पनि एउटा सशक्त फिल्म बनेको अपेक्षा समेत दर्शकहरूमा छ।

फिल्मले एक बुबा र छोराको कथा प्रस्तुत गरेको छ। फिल्मको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर साहले अभिनय गरेका छन्। सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो फिल्म हो।

केही समयअघि सार्वजनिक फिल्मको ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ। फिल्ममा निर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बालकलाकार आर्यदीप आचार्य, आरभजंग अधिकारीको अभिनय छ।

प्रकाशित: ९ कार्तिक २०८२ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App