२० पुस २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘परान’ ले ल्यायो ‘ओइ भन्दानी बोलेन’

नेपाली फिल्म ‘परान’ मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रमकाबीच फिल्मको रमाइलो खालको नृत्यप्रधान गीत सार्वजनिक गरिएको हो।

दसैंको अवसर पारेर सार्वजनिक यो गीत विवाहको परिवेशमा आधारित छ। भिडियोमा फिल्मका शीर्ष अधिकांशजसो कलाकारहरूलाई एउटै फ्रेममा देखिन्छ। मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईली लगायत कलाकारहरूले यो भिडिओमा नृत्य तथा अभिनय गरेका छन्।

दर्शकलाई नचाउने खालको यो गीतमा तीन गायक र दुई गायिकाले स्वर दिएका छन्। प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बि.कको स्वर यो गीतमा सुन्न सकिन्छ।

उक्त गीत दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन्। यसकाे संगीत संयोजन रिदम कंडेलले गरेका हुन्। गीतको भिडियोका कोरियोग्राफर सुनिल क्षेत्री हुन्। आयोजित गीत रिलिज कार्यक्रममा बोल्दै यसका निर्माता, निर्देशक तथा कलाकारहरूले गीतलाई दर्शकहरूले रूचाउने विश्वास व्यक्त गरे।

दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको ‘परान’ कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ। पूर्ण पारिवारिक कथामा बनेको फिल्मको ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ रहेको छ, जसले फिल्मको मूल सन्देश अर्थात् एक अर्काको साथको महत्त्वलाई जोड दिएको अनुमान गर्न सकिन्छ।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले ‘परान’ को निर्माण गरेको हो। बाइस्कोप सिनेमाको एकल ब्यानरमा यो पहिलो प्रोजेक्टका रूपमा निर्माण गरिएको फिल्म हो। फिल्मका निर्माताहरूमा रञ्जित आचार्य र शेखर गोल्छा रहेका छन्।

दीपक आचार्यको कथा रहेको यस फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्। शिवराम श्रेष्ठको डीओपी रहेको फिल्मको सम्पादन मित्र डी. गुरूङले गर्दैछन्। दसैं र तिहारलगत्तै यो फिल्म देशभरका सिनेमा हलमा प्रदर्शनमा आउन लागेको छ।

प्रकाशित: १३ आश्विन २०८२ १२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App