६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘परालको आगो’ को ताेकियाे रिलिज डेट

सुटिङ थालेको ४० दिनमा फिल्म ‘परालको आगो’ को छायांकन सकिएको छ। निर्माण टिमले दसैंअघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन सकाएको हो।

चलचित्रको सुटिङ सकेसँगै निर्माण टिमले तीन फरकफरक लुक्सका तस्विर र रिलिज डेट समेत सार्वजनिक गरेको छ। यो फिल्म आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलले बताए।

उनले भने, ‘मैले अरू फिल्म प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु। अरू चलचित्र पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो फिल्म रिलिज गर्ने तयारीमा छु।’

उनले साथीभाइको चलचित्रलाई सम्मान गर्दै आफ्नो डेटमा अरूले चलचित्र नजुधाई दिन समेत आग्रह गरे।

उनले थपे, ‘एकैचोटि धेरै फिल्म हलमा निर्माता तथा हल व्यावसायीहरूको पनि धेरै नोक्सानी हुन्छ। ग्यापमा आउँदा निर्माता र हल दुवै पक्षलाई फाइदा होस भन्ने सोचले सबै मेजर डेट छोडेर बैशाख ११ गते शुक्रवारको साधारण डेटलाई डेटलक गरेको छु।’

उनले चलचित्रको चार गीतसहित सम्पुर्ण छायांकन पूरा भएको र रिलिज डेट समेत तोकेको बताए। उनले जेनजी आन्दोलन चलिरहेको बेलामा यो फिल्मको छायांकनमा अवरोध भए पनि टेक्निसियन तथा निर्देशकको खटाइले काम चाँडो सकिएको बताए।

 उनका अनुसार यो चलचित्रको छायांकन सेड्युल ३० दिनको थियो तर चलचित्रका कलाकार, टेक्निसियन लगायतको अहोरात्र खट्दा पनि जेनजी आन्दोलन, वर्षा र पहिरोको कारण सेड्युलभन्दा १० दिन ढिला छायांकन सकिएको निर्माता पोखरेलले बताए।

‘परालको आगो’ हिमाली नयनाभिराम लोकेसनमा ४० दिन लगाएर नेपाली माटोको सुगन्ध आउने चलचित्रलाई ठुलो क्यानभासमा छायांकन गरेका छौँ। निर्माता पोखरेलले भने,‘काम पनि एकदमै उम्दा भएको छ। सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापादेखि बालकलाकार एन्जिला बानियाँसम्म एकदमै राम्रो काम गर्नुभएको छ।’

साथै करिब ६०० जना जुनियर आर्टिष्टमा खर्च गरेर कठिन परिस्थितिमा पनि चलचित्रको राम्रो लोकेसन र कथाको मर्म अनुसार नै चलचित्रको काम गरेको बताए।

उनले थपे, ‘अहिलेको समयमा कन्टेन नै बलियो हुनुपर्छ। हाम्रो कन्टेन नै बलियो छ र धेरै राम्रो सिनेमा बनाउने कोसिस गरेका छौँ। चलचित्रका लागि सबै कुरामा कम्प्रमाइज गरेका छैनौँ।’

गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको यो फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपानेका साथै बालकलाकार एन्जिला बाँनिया रहेकी छन्।

यो चलचित्रलाई कलाकारहरूले आफ्नो भूमिका सशत्त बनाउन काठमाडौंमा वर्कसप समेत गरेको थिए। त्यसैले पनि निर्माता पोखरेल यो चलचित्र राम्रो बनेकोमा ढुक्क देखिएका छन्।

सुशील देवकोटाको लेखन रहेको यो चलचित्रको निर्देशन लक्ष्मण सुनारले गरेका छन्। यस चलचित्रमा गीत सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले लेखेका छन्। त्यसैगरी संगीतकारकमा शान्ति ठटाल, सत्य स्वरूप र अभिनेता प्रकाश सपुतकै रहने निर्माण पक्षले जानकारी दिएको छ।

गत भदौ २६ गतेदेखि म्याग्दीबाट छायांकन सुरु भएको यो चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् भने फिल्मको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। नगेन्द्र घिमिरेले प्रोडक्सन म्यानेजरको जिम्मा लिएको यो चलचित्रको वितरण आरआर फिल्मस र ओटीटी राईट ओएसआरले रिलिज पूर्व नै महँगो रकममा लिइसकेको छ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश कथा ‘परालको आगो’ बनाइएको हो भने यो नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए। जुन चलचित्र अत्याधिक सफल पनि भएको थियो।

प्रकाशित: १० मंसिर २०८२ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App