तिमी थियौ
ऊ थियो
म थिएँ
घटना एउटै थियो
विषयवस्तु उही थियो
परिस्थिति बदलिएको थिएन
सबथोक उस्तै थियो
तर तिमीले
एउटै घटनालाई
कहिले मेरो नजरबाट
नजर लगायौ र श्वेत देख्यौ
कहिले उसको दृष्टिबाट
दृष्टि लगायौ र अश्वेत जान्यौ
भन
तिमीले आफ्नो आँखाबाट
कहिले हेर्छौ?
आफ्नो मनलाई
कहिले टेर्छौ?
म तिमीलाई
तिमी भएर हेर्न चाहन्छु
आत्मीयको न्यानो अँगालोमा
बेस्करी बेर्न चाहन्छु
हिमाल कालो भएपछि
मनमा चिसो हिउँ पर्छ
अनि
त्यसको सौन्दर्यले मृत्युवरण गर्छ
हिमाल गीता हो
तिमी आफ्नै रङमा खुल्नुपर्छ
तिमी आफ्नै पनमा फुल्नुपर्छ।
मान्छेको जीवन रङ हो
सेतोले आत्महत्या गर्न
कालो रङसँग मिसिनुपर्छ
रातो आफ्नो अस्तित्व गुमाउन
पहेँलोमा विलय हुनुपर्छ
जब मान्छे आत्माको आवाज
मनको चिहानमा दफन गरेर
अर्काको बोली बन्छ
स्वत्व अलप हुन्छ
अनि आफू आफू रहँदैन।
मलाई थाहा छ
तिमी बाघ हौ
तर
बिरालाको सङ्गतले
कहिलेकाहीं म्याउ गरी कराउँदा
झुक्किन्छन् मान्छे
मलाई पटक्कै मन पर्दैन
तिमी बिरालो बनेको
म त
तिम्रो गर्जन सुन्न मन पराउने मान्छे
गर्जनुपर्छ तिमी बादल गर्जेजस्तै
सत्य ओकल्नुपर्छ तिमीले
साउन वर्षेजस्तै
र त तिमीले
पहिचानको धरहरा ठड्याउन सक्छौ
जसलाई टाढैबाट देख्नेछन् सबैले
जहाँबाट टाढाका दृश्य
सजीव भएर उभिने छन्
ज्ञानचक्षुअगाडि।
प्रकाशित: ९ फाल्गुन २०८२ १३:५२ शनिबार





