सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजमा हरेक महिना आयोजना हुँदै आएको ‘ओपन माइक’ कार्यक्रम साधनाघर थियटरमा भएको छ।
विद्यार्थीहरू स्वयं आयोजक रहेको यस कार्यक्रमको प्रमुख उद्देश्य विद्यार्थीहरूलाई आफ्नो भित्री प्रतिभा प्रदर्शन गर्ने अवसर दिनु र उनीहरूलाई निडर रूपमा अभिव्यक्ति व्यक्त गर्न उत्प्रेरित गर्नु रहेको थियो। यद्यपि कलेजले कार्यक्रमको आयोजना गरेको भए पनि यो सबैका लागि खुला मञ्चको रूपमा सञ्चालन हुँदै आएको छ।
कार्यक्रममा कलेज बाहिरका धेरै कवि तथा कलाकारको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा कवि विश्व सिग्देलले प्रेम, वातावरण र समसामयिक राजनीति विषयमा आधारित कविता वाचन गरेका थिए - जसमा चक्रपथ घुम्ती सेवा, उदेक, जोकर तथा देश अनि जंगल गहिरहेको मान्छेलाई समावेश थिए।
त्यस्तै, कवि सञ्जय सुमनले आफ्नै सङ्गीत र स्वरमा साइकलैमा बोलगीत प्रस्तुत गरे र स्वतन्त्रता शीर्षकको तीखो कविता वाचन गरे। कवि रमी प्रियाले क्षमायाचना, पिरलो र ऐना समय शीर्षकका समसामयिक कविताहरू वाचन गरेकी थिइन् भने प्रकृति कार्कीले बाको विषयमा लेखिएको सुन्दर कविता प्रस्तुत गरेकी थिइन्। कौस्तुभ ओली र गणेशकुमार पौडेलले पनि आफ्ना भावपूर्ण कविता सुनाएका थिए।
कार्यक्रममा गीत गायन, कविता वाचन, स्ट्यान्डअप कमेडी तथा मोनोलग जस्ता विविध सिर्जनात्मक प्रस्तुति पनि समावेश गरिएको थियो। झलनाथ खत्री, आशिष घिमिरे, घनश्याम विश्वकर्मा, दिवसराज भट्टराई, सुदिप रसाइली, सौगात नेपाल र उमेशकुमार पौडेलले आकर्षक गीत प्रस्तुत गरे। साथै मिराक लिम्बु र विकाशले आफैले लेखेर सङ्गीतबद्ध गरेको गीत प्रस्तुत गर्दै दर्शकबाट प्रशंसा पाए।
कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो कला, क्षमता र आत्मविश्वास प्रदर्शित गर्न अवसर प्रदान गरेको थियो। कलेजका प्राचार्य रामराजा दाहालका अनुसार यसले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास तथा नेतृत्व गुणहरूको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। सहभागी विद्यार्थीहरूले पनि यस्ता कार्यक्रमले आफ्नो प्रतिभा उजागर गर्न राम्रो मौका मिलेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रम रमेश महतो र योगेश सिंहले संचालन गरेका थिए। कलेजले आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक तथा प्रेरणादायी कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रकाशित: ८ माघ २०८२ ११:५८ बिहीबार





