सिएस इन्टरटेनमेन्ट नेपालले इस्टपोल सेकेण्डरी स्कुलसँग सहकार्य गर्दै राजधानीमा आयोजना गरेको पहिलो संस्करणको ‘मिष्टर एण्ड मिस इस्टपोल-२०८२’ को उपाधि मिष्टरतर्फ नुर दाहाल र मिसतर्फ विदुशी शाहले जितेका छन्। विजेता दुवैले एक वर्षको छात्रवृत्तिसँगै विभिन्न पुरस्कार जितेका छन्।
प्रतियोगितामा मिस्टरतर्फ डेरियस महतो र मिसतर्फ छोंगी लामा फस्ट रनरअप, मिस्टरतर्फ ह्यान्सन लामा र मिसतर्फ बियांका रोशन पौडेल सेकेण्ड रनरअप घोषित भए। फस्टरनरअपले ६ महिनाको छात्रवृत्ति र सेकेण्ड रनरअपले ३ महिनाको छात्रवृत्ति पाएका छन्।
त्यस्तै मिस्टरतर्फ नमन्य लोप्चन र मिसतर्फ कृशा राउत ‘पब्लिक च्वाइस विनर’ र मिस्टरतर्फ डेसमण्ड घिसिङ र मिसतर्फ लछेन घिसिङ ‘भ्युअर्स च्वाइस विनर’ घोषित भए। पब्लिक च्वाइस विनर विजेताले १० हजार रुपैंयाँ र भ्युअर्स च्वाइस विनरले ५ हजार रुपैंयाँ जितेका छन्।
नेपालकी प्रथम नायिका भुवन चन्द प्रमुख निर्णायक रहेको प्रतियोगितामा मोटिभेसनल स्पिकर र साइकोलोजिकल काउन्सिलर अशोककुमार दाहाल, ‘मिस नेपाल- २०२०’ नम्रता श्रेष्ठ, गायक लाक्पा शेर्पा, नेसनल चाइल्ड राइट्स काउन्सिलका अध्यक्ष बमबहादुर बानियाँ, साहित्यकार भीष्मराज फुलारा र पत्रकार तथा कराँतेको राष्ट्रिय रेफ्री करन तामाङ निर्णायक थिए।
कार्यक्रममा नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, टेलिफिल्म लेखक तथा निर्देशक दिवाकर भण्डारी ‘बिचारी काका’ र न्यू लाइफ नेपालका संस्थापक अध्यक्ष राजेन्द्रकुमार खनाललाई सम्मान गरिएको थियो।
प्रतियोगिता संयोजक कलाकार छिरिङ शेर्पाले विद्यार्थीहरूको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने अवसर सिर्जना गर्न प्रतियोगिता आयोजना गरिएको बताइन्।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य विष्णु पुडासैनीले यस्ता कार्यक्रमले नयाँ पुस्तामा सकारात्मक सोच जगाउने मात्र नभई उनीहरूलाई सफल भविष्यतर्फ अघि बढ्न मार्गदर्शन गर्ने शक्ति दिने बताइन्।
प्रकाशित: ९ भाद्र २०८२ १२:१० सोमबार





