युवा लेखक क्षितिज समर्पणले आफ्नो पहिलो उपन्यास ‘तोरकीन’ मार्फत उपल्लो मुस्ताङको मौलिक कथालाई नेपाली साहित्यमा ल्याएका छन्।
बुकहिल पब्लिकेसनले बजारमा ल्याएको यो उपन्यासले हिमाली भेगको विशिष्ट जीवनशैली, परम्परा र रित्तिँदै गएका बस्तीहरूको मर्मस्पर्शी कथालाई मिथकीय शैलीमा प्रस्तुत गरेको छ।
उपन्यासले माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु-संस्कारदेखि गुम्बा र दरबारको सामाजिक-सांस्कृतिक इतिहासलाई गहिरोसँग केलाएको छ।
लेखक समर्पणले लामो खोज र अनुसन्धानपछि तयार पारिएको यो कृतिले मानव सभ्यता र प्रकृतिको अन्तरसम्बन्धलाई उजागर गर्ने प्रयास गरेको सुनाए।
‘मैले रित्तिँदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल र हराउँदै गएका संस्कृतिको कथा लेखेको हुँ,’ लेखक समर्पणले भने, ‘यो कृति मार्फत पाठकलाई मानव सभ्यताको जरामै फर्काउने कोसिस गरेको छु।’
उपन्यासका मुख्य पात्र छेवाङ र कुन्साङमार्फत तीन पुस्ताको कथा भनिएको छ। उपन्यासमा मानव जीवनका आरोह-अवरोह, सपना र सम्बन्धहरूको यथार्थपरक चित्रण पाइन्छ।
स्थानीय ल्होवा भाषामा ‘तोरकीन’ को अर्थ ‘हराउँदै जानु’ वा ‘लोप हुनु’ हो। सरल र काव्यात्मक भाषाशैली तथा स्थानीय लवजको प्रयोगले उपन्यासलाई थप पठनीय बनाएको छ।
जाजरकोटमा जन्मिएका क्षितिज समर्पण गीत, गजल र आख्यान लेखनमा सक्रिय छन्।
प्रकाशित: ७ आश्विन २०८२ १६:३२ मंगलबार





