वरिष्ठ अभिनेता सुनिल थापाले चलचित्र ‘चिनो’मा गरेको चर्चित संवाद छ, ‘रातेलाई यो मन परेन।’ नेपाली सिनेमाका पर्दामा लामो समयदेखि गर्जंदै आएका तिनै ‘राते काइँला’ शनिबार बिहान अचानक मौन भए। उनको अप्रत्यासित मौनलाई धेरैले मन पराएनन्। उनको अन्तिम यात्रामा सहभागी सर्वसाधारणका भरिएका आँखाले सायद यही भाव बोले, ‘राते काइँला, हामीलाई तिम्रो अन्तिम यात्रा मन परेन।’
उनको मृत्युले नेपालमा मात्र होइन, भारतसम्मका दर्शक र कलाकारलाई स्तब्ध बनायो। ‘कार्डियाक अरेस्ट’ का कारण ६८ वर्षको उमेरमा मृत्यु भएका थापा शुक्रबार रातिसम्म पनि चलचित्र ‘राम नाम सत्य’ को छायांकनमा व्यस्त थिए।
चार दशक लामो सिने जीवनमा उनले जीवन्त अभिनय गरे। अभिनय, ऊर्जा र अनुशासनले भरिएको यो जीवन अचानक रोकिँदा नाटकको दृश्यजस्तै लागेको छ सबैलाई। उनको अन्तिम यात्रा अविश्वसनीय, अस्वाभाविक र पत्याउनै गाह्रो बन्यो। १९ मे १९५७ मा जन्मिएका सुनिल थापा सिनेमाका ती कलाकार थिए, जसले खलनायक भूमिकामा आफूलाई हिरोको पिटाइ खाने नकारात्मक पात्रमा मात्र सीमित राखेनन्; सिनेमाको कथासमेत हल्लाइदिए। १५ जनवरी १९८९ मा प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित चलचित्र ‘चिनो’ बाट ‘राते काइँला’ बनेर उनी नेपाली दर्शकमाझ अमर भए।
उनले निर्वाह गरेका पात्रहरू काल्पनिक हुँदाहुँदै पनि अत्यन्त जीवन्त लाग्थे। पर्दामा जति क्रूर देखिन्थे, वास्तविक जीवनमा उनी त्यति नै सरल, अनुशासित र सहयोगी थिए। त्यसैले होला उनीसँग काम गरेकी भारतीय अभिनेत्री प्रियंका चोपराले थापाको निधनमा भावुक सन्देश पोस्ट गरेकी छन्। ‘तपाईं सधैं मेरा कोच सर नै रहनुहुने छ। जब मैले मेरा पितालाई गुमाएँ, त्यस कठिन समयमा तपाईंले मलाई सम्हाल्नुभयो’, प्रियंकाले लेखेकी छन्, ‘तपाईंले मलाई माया गर्नुभयो र थाहा नदिई धेरै कठिन दिनमा सहयोग गर्नुभयो। तपाईंको आत्मीय अँगालो र हाँसो सधैं मेरा सम्झनाको हिस्सा रहने छ। तपाईं धेरै चाँडै जानुभयो, तर कहिल्यै बिर्सन सकिँदैन।’
थापाले प्रियंकासँग सन् २०१४ मा प्रदर्शन भएको चलचित्र ‘मेरी कम’ मा अभिनय गरेका थिए। उनको अभिनयलाई अन्तर्राष्ट्रिय दर्शकले समेत प्रशंसा गरेका थिए।
थापाको निधनले नेपाली कला क्षेत्र शोकमा डुबेको छ। कलाकारदेखि सर्वसाधारणसम्म, राजनीतिक नेतृत्वदेखि बलिउडका सुपरस्टारसम्मले उनको योगदानलाई सम्झँदै श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनको निधनमा प्रधानमन्त्री सुशीला कार्कीले शोक व्यक्त गर्दै लेखेकी छन्, ‘चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहने छ।’
थापाको निधनमा नेपाली सिनेमाका महानायक राजेश हमाल भावुक बने। ‘नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्त्वपूर्ण मोड हुनुहुन्छ’, हमालले लेखेका छन्, ‘मेरो सिनेमा यात्रा म तपाईंप्रति समर्पित गर्छु।’ उनको यो अभिव्यक्तिले दुई पुस्ताबिचको सम्मान र मित्रतालाई झल्काएको छ।
त्यसैगरी अभिनेता नाजिर हुसेन, प्रदीप खड्का, अभिनेत्री प्रियंका कार्की, गायिका एलिना चौहानलगायत थुप्रै कलाकारले सामाजिक सञ्जालमार्फत थापालाई भावपूर्ण श्रद्धाञ्जली दिएका छन्। उनीहरू सबैको सन्देशमा एउटै भाव झल्कन्थ्यो - थापा केवल अभिनेता मात्र थिएनन्; नेपाली सिनेमाका महत्त्वपूर्ण अंग थिए।
‘मसाल’ बाट नेपाली सिनेमामा डेब्यु गरेका थापाले छायांकन भइरहेका चलचित्रसमेत गरी एक सय ३८ भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरे। हालै प्रदर्शनको तयारीमा रहेको तुलसी घिमिरेको चलचित्र ‘पहाड’ मा पनि उनी देखिँदै थिए। पछिल्लोपटक उनी चलचित्र ‘एक्लो’ मा देखिएका थिए।
उनको अन्तिम यात्राको दृश्य शनिबार अत्यन्तै भावुक थियो। राते काइँला पर्दामा खलनायक भए पनि जीवनमा नायक थिए।
उनको अभिनय जीवन्त रहन्थ्यो। हरके पात्रमा उनी खरो उत्रन्थे। उनको हरेक दिन, हरेक भूमिका जीवन्त लाग्थ्यो। सायद यही कारण हो, उनको निधन नाटकीय र असहज लागिरहेको छ। मानौं, निर्देशकले ‘कट’ भन्नुअघि नै पर्दा खसालिदियो तर कलाकार मर्छन् भन्ने कुरा गलत साबित गरिदिएका छन् थापाले। उनका संवाद, आँखाका भाव, उनको भारी गर्जन नेपाली सिनेमाको स्मृतिमा सधैं जीवित रहने छन्।
उनको अन्तिम संस्कार सकिएको छ। आम नेपाली दर्शकले सदैव गर्वका साथ भन्नेछन्– राते काइँला! तपाईंको जीवन, तपाईंको अभिनय र तपाईंको योगदान हामीलाई सधैं मन पर्ने छ।’
प्रकाशित: २६ माघ २०८२ ०६:५३ सोमबार





