समयसँग अंश बुझेर
युगौंदेखि
चार प्रहरको भारी बोकेर
लम्किरहेको छ अन्त्यहीन यात्रामा।
जब घाम निदाउँछ
उसको निद्रा खुल्छ
ऊ जागेपछि
थाकेका आत्माहरूलाई
शान्तिको अँगालोमा बाँध्छ
छल र कपटका भीडबीच
सपनाको सिँढी बनाउँछ
आशाविहीन पातहरूबाट
पुनः हरियाली फुलाउँछ
दिनभरिको प्रचण्ड घामले
सुकेका जीवनहरूलाई
चन्द्रमाको कोमल स्पर्शले ढाक्दै
आनन्दले सास फेर्ने अवसर दिन्छ।
अँध्यारोले आफैलाई पूर्ण रूपमा ढाके पनि
ऊ ताराहरूसँग मितेरी गाँसेर
धर्तीभरि ज्योति छर्छ
पालना गर्दै पालोको अनुशासन
निर्धारित अवधि पुगेपछि
बिहानीलाई सहजै आसन सुम्पन्छ।
तर विडम्बना,
उसलाई खराब बिम्बमा चित्रण गरेर
अक्षरको खेती गर्छन्
एक हुल मान्छे।
उज्यालो छेक्ने अभियुक्त घोषणा गरेर
ब्रह्माण्डको कारागारमा
आजीवन कैद गर्न खोज्छन् अर्का हुल मान्छे।
तथापि,
उसले आजसम्म
कहिल्यै विद्रोह बोलेको छैन
सृष्टि सञ्चालनको यात्रामा
अनुपस्थितिको कुनै संकेत गरेको छैन।
अनि मान्छे!
दिन देख्नेबित्तिकै
किन रातको महत्त्व भुल्छ?
आलोचना पस्कन थालेपछि
किन ब्रह्माण्ड नै बेकामे देख्छ?
किन दुई किनारा देख्दैन समयका?
किन उज्याला र अँध्यारा दुवै पाटा देख्दैन सृष्टिका?
उज्यालो नचाहनेहरूले
कुकार्यका पोकाहरू लुकाउन
नियन्त्रणका हातहरू लम्काएर
उसको इतिहास च्याते पनि
या उसको अस्तित्व मेटाउन खोजे पनि
उसले आफ्नो यात्रा रोक्दैन।
हिँडिरहन्छ सृष्टिको मार्गमा
उज्यालो जन्माउँदै
उज्यालोकै साक्षी भएर।
प्रकाशित: २२ कार्तिक २०८२ ११:३२ शनिबार





