२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अर्थ

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनमा निजी क्षेत्रले रु १३ खर्ब १० अर्ब लगानी गरिसकेका जनाएका छन्।

इप्पानले बिहीबार यहाँ आयोजना गरेको बजेटपछिको समिक्षा र विगत तीन वर्षमा भएका कामबारे समीक्षा कार्यक्रममा उनले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान ८० प्रतिशत पुगेको बताए। 'हाल नेपालमा उत्पादित कुल चार हजार २०० मेगावाट विद्युत् जडित क्षमतामध्ये तीन हजार ५०० मेगावाट निजी क्षेत्रले उत्पादन गरेको छ,' उनले भने

अध्यक्ष कार्कीले निजी क्षेत्रले हालसम्म गरेको रु १३ खर्ब १० अर्ब लगानीमध्ये बैंक तथा वित्तिय संस्थाको रु आठ खर्ब ७० अर्ब र निजी क्षेत्रको रु चार खर्ब ४० अर्ब रहेको जानकारी दिए। उनले जलविद्युत् क्षेत्रले हाल तीन लाखभन्दा बढीलाई रोजगारी दिनुका साथै वार्षिक २५ अर्बभन्दा बढी राजस्वमा योगदान पुर्‍याएको उल्लेख गरे।

अध्यक्ष कार्कीले सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि बजेटमा ठूला आयोजनाको विद्युत खरिद सम्झौता (पिपीए) बारे स्पष्टता नहुँदा लगानीकर्ता निराश भएका बताए। इप्पानले मुख्य गरी ५० वर्षको अनुमतिपत्र अवधि, निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण लाइनमा सहभागिता, वन तथा वातावरणीय झन्झटको अन्त्य र ‘एकद्वार प्रणाली’ लागू गर्न माग गरेको छ।

'विगत तीन वर्षमा हामीले पावर समिट र हाइड्रोएक्स्पो जस्ता सफल कार्यक्रम गर्यौँ, तर नीतिगत तहमा अझै धेरै काम बाँकी छन्। आठ मन्त्रालय र २३ विभाग धाउनुपर्ने बाध्यता अन्त्य नभएसम्म ऊर्जा क्षेत्रको द्रुत विकास सम्भव छैन,' अध्यक्ष कार्कीले भने। इप्पानले बाढी प्रभावित आयोजनालाई राहत, जलविद्युत् आयोजनामा सुरक्षाको ग्यारेन्टी र कर छुटका विषयमा सरकारले सहजीकरण गर्नुपर्ने बताएको छ।

प्रकाशित: २२ जेष्ठ २०८३ ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App