कसैको न्यानो स्पर्शले म बिहान सबेरै बिउँझिएँ। कोठाभित्र एक अनुपम सुन्दरी मौन उभिरहेकी थिइन्। उनको शान्त उपस्थितिले मेरो मनमा अनौठो कौतूहल जाग्नुको साथै म हर्षविभोर भएँ।
म हतारिँदै उठेँ। नुहाएर नयाँ वस्त्रमा सजिएँ र फर्केर उनको छेउमा बस्दै नम्र स्वरमा सोधेँ, “हे नव अतिथि! यस पटक तिमीले मलाई थुप्रो धनसम्पत्ति, राम्रो जागिर, सुखसमृध्दि केके ल्याएका छौ? कृपया मेरो सबै मनोकाङ्क्षा पूरा गरिदेऊ न!
मेरो कुरा सुनेर उनका ओठमा हल्का व्यङ्ग्य मुस्कान झल्कियो। गम्भीर स्वरमा उनले भनिन्, “तिमी कस्तो लाछी मानिस जस्तो कुरा गर्छौ! म त उसैलाई साथ दिन्छु, जसमा केही गर्ने आँट हुन्छ। जसले लक्ष्य देख्छ, संकल्प गर्छ र त्यस संकल्प अनुसार निरन्तर परिश्रममा जुटिरहन्छ। भन त, तिमीमा यस्ता गुण छन्?”
उनका ती शब्दहरू मेरो अन्तरमनमा बज्रिए। क्षणभरमै म आफूभित्र हराएँ। स्वार्थ र आलस्यको बीच कतै दबिएको मेरो आत्मविश्वास बिस्तारै जाग्न थाल्यो।
‘यदि आफ्नै परिवर्तनले सबै सम्भव हुन्छ भने किन नबदलिने?’ आफैसँग प्रश्न गरेँ।
त्यसै क्षण मैले दृढ अठोटका साथ टाउको उठाउँदै भने, “म तिमीले भनेका सबै पालन गर्न तयार छु।”
एकछिन रोकिन्दै फेरि जिज्ञासु हुँदै मैले सोधेँ, “तर तिमी प्रभा, कान्ति, आभा, दीप्ति को हौ?”
उनले मन्द मुस्कान छर्दै उत्तर दिइन्, “म ती सबैको संगम नव वर्ष २०८३ हुँ।”
प्रकाशित: २ वैशाख २०८३ ०९:०९ बुधबार





