आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा जारी ओमानविरुद्धको खेलमा नेपालले निकै खराब सुरुवात गरेको छ।
ओमानले प्रस्तुत गरेको ३०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले २०.१ ओभरमा ७१ रन जोड्दा ५ महत्वपूर्ण विकेट गुमाएर संकटमा परेको हो।
नेपालका माथिल्लो क्रमका ब्याटरहरू ओमानका बलरसामु निरीह देखिए। ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमै आउट भए भने अर्का ओपनर आसिफ शेख १९ रन जोडेर पभिलियन फर्किए।
मध्यक्रम सम्हाल्ने अपेक्षा गरिएका कप्तान रोहित पौडेल १० रन र बसिर अहमद मात्र १ रनमा आउट भएपछि नेपाल दबाबमा परेको हो। केही बेर क्रिजमा टिकेर २८ रन जोडेका भीम सार्की पनि २०.१ ओभरमा पाँचौँ विकेटका रूपमा आउट भए।
अहिले क्रिजमा दीपेन्द्र सिंह ऐरी र आरिफ शेख ब्याटिङ गरिरहेका छन्। नेपाललाई ओमानका लागि शकील अहमद र नदीम खानले समान २–२ विकेट लिएका छन्।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको बलियो योगफल खडा गरेको थियो।
प्रकाशित: १६ वैशाख २०८३ १४:५९ बुधबार





